विराटनगरका उद्योगीलाई प्रधानमन्त्रीको सुझाव : देशभित्रैको उत्पादनलाई उपयोग र निर्यातमा भर परौं

विराटनगरका उद्योगीलाई प्रधानमन्त्रीको सुझाव : देशभित्रैको उत्पादनलाई उपयोग र निर्यातमा भर परौं

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो देश मेरै उत्पादन’ अभियान नारा र सामान्य लोगोमा मात्रै सिमित राख्न नहुने बताउनु भएको छ । उद्योग संगठन मोरङको नवनिर्वाचित कार्यसमितिको पदास्थापन तथा मेरो देश मेरै उत्पादन अभियानको भर्चुअल माध्यमबाट शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री ओलीले देश भित्रको उत्पादन र निर्यातलाई जोड दिनुपर्ने बताउँदै यस्तो बताउनु भएको हो ।

देशैभरी यो नारालाई अभियानको रुपमा चलाउन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री ओलीले प्रत्येक नेपालीको भावनालाई जागरुक गराएर मात्रै देश समृद्ध बन्नेमा जोड दिनुभयो । सामाजिक जीवनको सबै क्षेत्रलाई गम्भीर रुपमा परिचालन गर्न र अगाडी बढाउन सरकार गम्भीर छ, प्रधानमन्त्री ओलीले भन्नुभयो–उद्योग र उत्पादनको क्षेत्रलाई नयाँ उत्साह थप्न सरकार उतिकै प्रतिवद्ध छ ।
तीन दशकसम्म देशमा रहेको हिंसाको राजनीति अन्त्य भएको बताउँदै प्रधानमन्त्री ओलीले औद्योगिक वातावरणको लागि सहज समय आएको भनाई राख्नुभयो । हिंसाको विचार र मार्ग अवलम्बन गर्ने प्रवृत्तिको अन्त्य भईसकेकोले आगामी दिन औद्योगिक क्षेत्रका लागि सुखद् अवसर सिर्जना हुने उहाँको बुझाई थियो ।

सरकार र उद्योगी, उद्योगी र श्रमिकबीचको सम्बन्ध सुमधुर बन्दै गएको बताउँदै उहाँले यसले थप लगानी क्षेत्र पहिचान गर्न र रोजगारीको अवसर सिर्जना गर्न सहयोग गर्ने बताउनुभयो । कोरोना संक्रमणले विश्वलाई त्रसित बनाईरहेको समयमा समेत सहज आपूर्ति प्रणालीको व्यवस्थापनमा सरकारको उचित पहल र उत्पादनका क्षेत्रमा गरिएको समन्वयले सकारात्मक स्थितिको निर्माण गरेको प्रधानमन्त्रीले ओलीले विश्वास व्यक्त गर्नुभयो । कोरोनाले झट्का दिएको पर्यटन क्षेत्र बाहेक अन्य क्षेत्र विस्तारै सुध्रदै गएकोले आगामी दिनमा पर्यटन क्षेत्रलाई उकास्ने योजना ल्याउन सरकार गम्भीर रहेको बताउनुभयो ।
कोरोनाको संक्रमणबाट नागरिकको जीवन बचाउनु पहिलो दायित्वप्रति सरकार सफल भएको बताउँदै उहाँले दोस्रो लहरको रुपमा फैलनसक्ने संक्रमण रोक्न सबै क्षेत्र सचेत रहनुपर्नेमा जोड दिनुभयो । उहाँले यसका लागि एकले अर्कोलाई सहयोग गरेर मात्रै संभव हुनेमा जोड दिनुभयो ।

कारात्मक अवस्था मात्रै छैन, प्रधानमन्त्री ओलीले भन्नुभयो–उद्योगी–व्यवसायीका समस्यालाई सम्बोधन गर्न सरकारले विशेष कार्यक्रमहरु ल्याईसकेको छ । लगानी, रोजगारी, उत्पादन र उपभोगको ‘चेन इफेक्ट’ राष्ट्रिय अर्थतन्त्र र समृद्धिसँग रहेको बताउँदै उहाँले आगामी दिन आयात प्रतिस्थापन गरेर निर्यात बृद्धिको क्षेत्रलाई प्रवद्र्धन गरिनेमा जोड दिनुभयो । व्यापार घाटा क्रमशः सन्तुलनको दिशामा बढेको बताउँदै उहाँले प्रत्येक नागरिक उद्यमी बन्न आकर्षित हुनुपर्ने बताउनुभयो ।
घरेलु, साना, मझौला उद्योगहरुप्रतिको आकर्षण बढाउँदै लैजाने र ठूलो उद्योगमा लगानी बृद्धि गर्ने योजनालाई सरकारले प्राथमिकतामा राखेको बताउँदै उहाँले प्रत्येक क्षेत्रलाई अवसरको रुपमा विकास गरिने बताउनुभयो । कृषि उत्पादन प्रणालीमा सुधार आउँदै गएका कारण देशको अर्थतन्त्रमा यसको महत्व विस्तारै देखिने जाने प्रधानमन्त्री ओलीको विश्वास थियो ।

सरकारले उद्योगमैत्री वातावरणको सिर्जना गर्नका लागि भन्सार र करका क्षेत्रमा गर्नुपर्ने कानु्नी सुधार गर्दै लैजाने बताउँदै उहाँले त्यसका लागि उद्योगी–व्यवसायीलाई समस्या औंल्याईदिन सुझाव दिनुभयो । उहाँले उद्योगी–व्यवसायीले देशलाई आवश्यक नै नरहेको वस्तु आयात गर्ने भन्दा देशभित्रै उत्पादन गरेर निर्यात गर्ने वस्तु उत्पादनको क्षेत्र पहिल्याउन आवश्यक रहेको उहाँको जोड थियो ।
देशको परिचय र पहिचान झल्कने उत्पादनबाट नेपाली कच्चा पदार्थ, श्रम र सीपलाई अन्तराष्ट्रिय बजारमा वस्तुको रुपमा निर्यात गरिनुपर्नेमा उहाँको जोड थियो । देशभित्रैको उत्पादनप्रति गर्भ गर्दै त्यसको उपयोग बढाउन र निर्यातजन्य वस्तु तयार गर्नसक्दा मात्रै राष्ट्रिय अर्थतन्त्रले फड्को मार्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्थिरताको पक्षमा उभिएर मात्रै समृद्धि संभव रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई आवश्यक पर्ने संरचना निर्माणदेखि सहयोगमा प्रदेश सरकार सधैं प्रतिवद्ध रहेको बताउनुभयो ।
उद्योग संगठन मोरङमा नवनिर्वाचित अध्यक्ष सुयस प्याकुरेल नेतृत्वको कार्यसमितिले शुक्रबार नै पदभार ग्रहण गरेको छ । कार्यक्रममा अध्यक्ष प्याकुरेलले सरकारको राष्ट्रिय आकांक्षाको विकल्पमा निजी क्षेत्र बढ्न नसक्ने बताउँदै विकासका हरेक क्षेत्रमा सहयोगी बन्ने प्रतिवद्धता जाहेर गर्नुभयो । अध्यक्ष प्याकुरेल ‘मेरो देश मेरै उत्पादन’को प्रवद्र्धक समेत हुनुहुन्छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर खोल्छाको भर्चुअल उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्