विराटनगरमा वायु प्रदूषणको लेवल मध्यमस्तर मात्रै

विराटनगरमा वायु प्रदूषणको लेवल मध्यमस्तर मात्रै

विराटनगर । काठमाण्डौंसहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढेसँगै सरकारले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि भन्दै चारदिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार सरकारले गरेको यो निर्णय विराटनगर महानगरपालिकाले भने अस्वीकार गर्दै विद्यालय यथाअवस्थामा सूचारु हुने सूचना जारी गरेको थियो । संघीय सरकारको निर्णय विपरित स्थानीय सरकार निर्णयमा पुग्दा धेरैलाई दुविधा समेत सिर्जना भएको थियो । तर, विराटनगर महानगरपालिका क्षेत्रको वायु प्रदुषणको मात्रा आत्तिहाल्नुपर्ने अवस्थाको भने देखिएको छैन ।
यद्यपी प्ल्युम ल्याब जस्ता हावाको गुणस्तर मापन गर्ने वेबसाइटहरुले विराटनगरको हावा अत्यन्त दुषित भएको उल्लेख गरेको छ । महानगरपालिकाले विराटनगरको एक्युआई ८४ मात्र भएको दाबी गरेता पनि प्ल्युम ल्याबले १ सय २९ एक्युआई पुगेको देखाएको छ ।  विराटनगरको हावा अत्याधिक दुषित भएकोले बाहिर खेलकुद गर्न , केटाकेटी लिएर बाहिर निस्कन, तथा बाहिर बसेर खाना खाने लगायतका कार्य नगर्न प्ल्युम ल्याबले उल्लेख गरेको छ ।  

 

पछिल्लो २४ घण्टामा विराटनगरको वायु प्रदुषणको मात्रा गत पौष महिनामा मापन भए जस्तो जोखिमको स्थितिसम्म पुगेको देखिदैन । सरकारले काठमाण्डौंलाई हेरेर लिएको निर्णय विराटनगरका लागि अनुपयुक्त ठहर गरिनुको कारण मापन भएकोे वायुप्रदुषणको मात्रालाई आधार मानिएको विराटनगर महानगरपालिका वातावरण शाखा प्रमुख अनिता न्यौपानेले बताउनुभयो । तर, महानगरपालिका–३ स्थित जिल्ला वन कार्यालयमा राखिएको वायुप्रदुषण मापन केन्द्रको सूचना प्रणालीमा भने समस्या देखिएको छ ।

त्यहाँबाट आधिकारिक सूचना अहिले देखाईरहेको छैन । डिस्प्ले बिग्रिएका कारण यकिन सूचना नदेखाएको जानकारहरुको बुझाई छ । महानगर वातावरण शाखाकी प्रमुख न्यौपानले सोमबार दिउँसो ८४ एक्यूआई मापन गरिएको जानकारी दिनुभयो । तर, विराटनगरमा सोमबार दिउँसो १७७ एक्यूआईसम्म मापन भएको वातावरणका जानकार रामचन्द्र अधिकारीको भनाई छ ।
जिल्ला वन कर्याालय मोरङका सूचना अधिकारी राम लखन ठाकुरका अनुसार मंगलबार बिहान ९१ एक्यूआई मात्रै मापन भएको छ । यो लेवल जोखिम भन्दा कम भएकोले विराटनगरमा अहिले आत्तिहाल्नुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । विराटनगरमा गत पौष महिनामा २०० एक्यूआई भन्दा माथि मापन भएको वायुप्रदुषणको मात्रा आजभोलि न्यून नै देखिएको दावी गरिएको छ ।
वायु गुणस्तरको सूचकाङ्क (एक्यूआई) सामान्य भन्दा केहि माथि मात्रै रहेका कारण आत्तिहाल्नुपर्ने अवस्था नरहेको महानगर वातावरण शाखाकी प्रमुख न्यौपानेको बुझाई छ । तर, सचेत र सावधानी रहँदै सूचना प्रणालीलाई चुस्त राख्नुपर्ने वातावरणका जानकार अधिकारी बताउनुहुन्छ ।

विराटनगरको सूचना प्रणालीमा केहि समस्या छ, अधिकारीले भन्नुभयो–झुम्का लागि बेश बनाएर यहाँको वायुप्रदुषण यकिन गर्न कठिनाई हुन्छ । सोमबार दिउँसो धनकुटामा १७३ एक्यूआई मापन भएको थियो । हिउँदे वर्षा नहुनु र पश्चिमा वायुको वहाव नभएका कारण अहिलेको वायुप्रदुषणको जोखिम बढेको जानकार अधिकारीको भनाई छ । त्यस बाहेक देशभर धुले सडकको संख्या बढ्नु, भारतको पञ्जाब र हरियाणाबाट सुख्खा हावाको प्रवेश हुनु र वन डढेलोका कारण समेत प्रदुषण बढेको अधिकारीले बताउनुभयो ।

सोमवारदेखि काठमाण्डूमा वायु प्रदूषणको स्तर बढेको भन्दै सरकारले विशेषगरी बालबालिका र जेष्ठ नागरिकहरूलाई सजग रहन आग्रह गरेको छ । विद्यालयका पठनपाठनलाई चारदिनसम्म बन्द गर्ने निर्णय समेत गरेको छ । प्रदूषणबाट दम र खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका रोगीहरू बढि प्रभावित हुनेछन् । विराटनगरमा भने मध्यमस्तरको मात्रै प्रदुषण देखिएका कारण अहिलेसम्म खतराउन्मुख नदेखिएको हो । जानकार अधिकारीका अनुसार २०५९÷२०६० मा स्वास्थ्य मापदण्डले तोकेको भन्दा सात गुणा बढी खराब वायुप्रदुषणको मात्रा देखिन्थ्यो । विस्तारै नेपालीहरु खराब मौसमसँगै अन्तरघुलन भएका कारण ह्वात्तै जोखिमको अवस्थामा नपुग्ने अधिकारीको बुझाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्