विराटनगर । विराटनगरका दुईवटा पसलबाट नेपालमा बिक्री स्वीकृति नलिएका भारतमा उत्पादित खाद्यवस्तु नष्ट गरिएको छ । संयुक्त बजार अनुगमन समितिले विराटनगर–६ केशलिया रोडका दुईवटा किराना पसलबाट सामान बरामद गरि नष्ट गरेको हो ।
उपभोक्ताको गुनासोका आधारमा लक्ष्मीनारायण जनरल स्टोर्स र विवेक किराना पसलमा गरिएको अनुगमनमा म्याद गुज्रेका सामान फेला पारिएको थियो । वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त बजार अनुगमन समितिले बिहीबार दुईवटा पसलमा अनुगमन गरेको थियो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण कार्यालय विराटनगरका निमित्त प्रमुख सन्तोष पोखरेलका अनुसार वनस्पति घ्यू, तेल, पापड, चकलेट, झालमुडी (फुरनदाना) टिफिन भुजिया, हुलासको चिउरा जस्ता खाद्य वस्तु म्याद गुज्रेको भेटिएको थियो । बिक्री स्वीकृति प्राप्त नगरेका भारतीय खाद्य वस्तु लुकाईछिपाई भित्र्याएर उपभोक्तालाई ठगि गर्ने दिनेश किरानाबाट पाँच हजार मूल्य बराबरको सामान बरामद गरि नष्ट गरिएको पोखरेलले जानकारी दिनुभयो । दिनेश किरानालाई २० हजार रुपैँया जरिवाना समेत भराइएको छ ।
यसैगरी भारतमा उत्पादन भई म्याद गुज्रिसकेको दावत तेलको र वनस्पति घ्यू बिक्री गर्दै आएको पाइएपछि लक्ष्मी जनरल स्टोर्सलाई दश हजार रुपैँया जरिवाना भराइएको छ । एक हजार मूल्य बराबरको म्याद गुज्रेको वनस्पति घ्यू बरामद र तेल बरामद गरि नष्ट समेत गरिएको पोखरेलले जानकारी दिनुभयो । उनीहरु उपभोक्ता संरक्षण ऐन २०७५ तथा भन्सार चोरी पैठारी गरेर म्याद गुज्रेको सामान बिक्री गरेको आरोपमा जरिवाना भराइएको हो ।