एकसाथ सबै विद्यालय बन्द नगर्न प्याब्सनको आग्रह

एकसाथ सबै विद्यालय बन्द नगर्न प्याब्सनको आग्रह

विराटनगर । कोभिड–१९ को दोस्रो लहरको संक्रमण फैलदै गएका बेला पुनः विद्यालय बन्द हुने समाचार आउन थालेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनले आवश्यकताका आधारमा निश्चित विद्यालय मात्र बन्द गर्न आग्रह गरेको छ ।प्याब्सनले गतवर्ष चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीले स्वास्थ्य, शिक्षा, आर्थिक र रोजगारीलगायतका क्षेत्रमा पारेको प्रभाव आम जनताले अनुभूत गरिसकेको उल्लेख गर्दै बन्दाबन्दी मात्र रोकथामको उपाय नभएको सुझाव दिएको हो ।

लामो समयको बन्दाबन्दीपछि भर्खरै बामे सर्न थालेको जनजीवन पुनः बन्दाबन्दी हुने हल्लाले त्रसित बनेको छ । यहि बिचमा सरकारकै केहि निकायहरुले विद्यालयहरु भौतिक रुपमा बन्द गराई अनलाईनबाट पठ्नपाठन जारी राख्न सिफारिस गरिएको भन्ने समाचार प्रति प्याब्सनले ध्यानाकर्षण भएको जनाएको हो ।
प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेद्धारा हस्ताक्षरित विज्ञप्तिमा अत्यन्त आवश्यक भएमात्र सम्बन्धित विद्यालय वा सम्बन्धित पालिकामा मात्र केहि निश्चित समयका लागि बन्द गर्न आग्रह गरेको छ ।

अनलाईन शिक्षा ५० प्रतिशत क्षेत्र मात्र समेट्न सक्ने यसअघिको बन्दाबन्दीको समयमा गरिएको प्रयोगले प्रमाणित भएको भन्दै प्याब्सनले सरकारले तयार गरेको स्वास्थ्य सावधानीका मापदण्ड कडिकडाउका साथ पालना गर्दै विद्यालय सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ । स्वास्थ्य सावधानी कडाईका साथ पालना गराउन तीनै तहका सरकारका सम्बन्धित निकायहरुलाई जिम्मेवारी सहित सक्रिय बनाउनु अहिलेको प्राथमिकता रहेको प्याब्सनको जोड छ ।
यस्तै प्याब्सनले आफ्ना सदस्य विद्यालयहरुलाई स्वास्थ्य सावधानीका पूर्ववत उपायहरु अनिवार्य र कडि कडाउका साथ अपनाउन निर्देशन गरेको छ ।

यस्तै बालबालिकाहरुलाई संक्रमणबाट जोगाउन मास्क र सेनिटाइजरको प्रयोग, सामाजिक दुरीको पालना र स्वास्थ्यवर्धक खानपिनमा ध्यान दिन अभिभावकहरुलाई अनुरोध गरेको छ ।
भारतमा द्रुततर फैलिरहेको संक्रमण र खुल्ला सीमा रहेको नेपालमा स्वास्थ्य सावधानीमा चरम लापरवाही हुनु चिन्ताको बिषय बनेको प्याब्सनले उल्लेख गरेको छ । कोरोनाको दोस्रो लहरले १८ वर्ष मुनिका बालबालिकाहरु समेत प्रभावित हुन सक्ने पुष्टि भइरहेको भन्दै प्याब्सनले शिक्षालयहरुमा कार्यरत शिक्षक–कर्मचारीहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रवन्ध तुरुन्तै गर्न सरकारसँग आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्