विराटनगर कन्चनबारीमा माछा बिक्री केन्द्र : पोखरीदेखि भान्सासम्म सुद्ध माछाको उपभोग बढाउने लक्ष्य

विराटनगर कन्चनबारीमा माछा बिक्री केन्द्र :  पोखरीदेखि भान्सासम्म सुद्ध माछाको उपभोग बढाउने लक्ष्य

विराटनगर । उत्पादनदेखि बजारीकरणसम्मलाई एउटै प्रणालीमा जोड्ने लक्ष्यसहित विराट एकिकृत कृषि फर्मा प्रा.लि.ले ज्यूँदो माछाको बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । मोरङ र सुनसरीका विभिन्न स्थानमा एकसय बिघा क्षेत्रफलमा माछा उत्पादन गरिरहेको विराट माछा फर्म प्रा.लि.ले विराटनगरमा विराट एकिकृत कृषि फर्म प्रा.लि.मार्फत बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो ।

पाँचजनाको समूहले ३२ करोड रुपिँयाको संयुक्त लगानीमा माछाका लागि आवश्यक पर्ने दाना उद्योगदेखि, उत्पादनका लागि पोखरी र खुद्रा तथा थोक बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो । गुणस्तरीय खसीको मासुको हव भनेर चिनिदैं आएको विराटनगर–३ कन्चनबारीमा नै ठूलो माछा बिक्री केन्द्र स्थापना गरिएको छ । पोखरीदेखि भान्सासम्म सुद्ध माछाको प्रयोग बढाउन बिक्री केन्द्रमै माछाको ‘आउटलेट’ निर्माण गरिएको छ ।
कम्पनिका कार्यकारी निर्देशक बिष्णुप्रसाद आचार्यका अनुसार विराट माछा फर्म प्रा.लि.ले मोरङको कटहरी–७ तकिया, ग्रामथान–२ झोराहाट र सुनसरीको इनरुवास्थित गणेशपुर तथा बलाहमा १५० पोखरीमा माछा उत्पादन गर्दै आएको छ । त्यहाँ उत्पादन भएका माछा विराटनगरमा ‘आउटलेट’ गर्नेछौं, निर्देशक आचार्यले भन्नुभयो–पच्चिस बिघा जमिन कम्पनिकै छ, बाँकी लिजमा लिइएको हो ।

पंगास, रहु, नैनि, भ्याकुर, कमनकार्प, ग्रासकार्प, सिल्भरकार्प र उन्नत जातको टिलाफिया प्रजातिको माछा आफैं उत्पादन गरिदैं आएको छ । माछा उत्पादनमा बृहत योजना अगाडी सारिएसँगै सुनसरीको खनारमा दाना उद्योग समेत स्थापनाको प्रक्रिया अगाडी बढाइएको निर्देशक आचार्यले दावी गर्नुभयो । भारतबाट आयात गर्ने दाना प्रतिकेजी ९० रुपिँया पर्न थालेको छ, आचार्यले भन्नुभयो–आफैं उत्पादन गर्दा ७० रुपिँया प्रतिकेजी पर्ने रहेछ ।
भुरा उत्पादनदेखि माछालाई खानयोग्य आकारको बनाउँदासम्म एककेजीमा २०० रुपिँया लागत पर्ने आचार्यको भनाई छ । जाल हालेर पोखरीबाट झिक्नेले प्रतिकेजी ५० रुपिँया लिने गरेका छन् । ज्यूँदो माछाको ‘आउटलेट’ आपूर्ति प्रणालीको एकिकृत चेन पनि मानिन्छ, निर्देशक आचार्यले भन्नुभयो–भुरालाई पोखरीमा, पोखरीबाट आउटलेटमा राखेर बिक्री गर्दा बजार खोज्न समस्या नहुने रहेछ ।

विराट कृषि फर्मा प्रा.लि.ले माछा उत्पादन, बिक्रीसँगै माछा कृषकका लागि परामर्श समेत दिने योजना सारेको छ । माछा पालक किसानले पालेका माछाको उत्पादन बृद्धिमा देखिदैं आएको समस्याको विषयमा परामर्श दिने योजना समेत राखिएको छ । माछापालक किसानले बेहोर्दै आएको क्षतिलाई २० प्रतिशतमा झार्न सके मात्रै मुनाफा हुने विश्वास आचार्यको छ । अहिले अधिकांश माछापालक किसानले पोखरीमा हालेका भुराको आधा मात्रै उत्पादन हुने गरेको उहाँले बताउनुभयो ।

बृहत योजनासहित माछा आपूर्ति प्रणालीलाई एउटा चेनमा जोड्ने लक्ष्य राखेको कम्पनिका निर्देशक आचार्यले सरकारले दिदैं आएको अनुदान तत्काल रोकेर ब्याज अनुदानमा सिमित गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार नयाँ प्रविधि भित्र्याउने योजना सरकारले लिनुपर्ने तर अनुदानको नाममा देखाउने पोखरी खन्न रकम दिन नहुने आचार्यको तर्कछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्