महानगरको निर्णयलाई मान्दैनन् विराटनगरका विद्यालय, महाशाखा प्रमुख खतिवडा भन्छन्-सिडिओले कारवाही गर्नुपर्छ

महानगरको निर्णयलाई मान्दैनन् विराटनगरका विद्यालय, महाशाखा प्रमुख खतिवडा भन्छन्-सिडिओले कारवाही गर्नुपर्छ

विराटनगर । कोरोना भाइरस (कोभिड–१९) बाट अतिप्रभावित जिल्लामा पर्ने मोरङको विराटनगर क्षेत्रका विद्यालय बन्द गराउन महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले गरेको आग्रहलाई विद्यालय सञ्चालकले अवज्ञा गर्ने प्रयास गरेका छन् । आइतबार नै महानगरपालिका शिक्षा महाशाखाले नगर भित्रका विद्यालय बन्द राख्ने निर्णय गरेको थियो । तर, सोमबार विराटनगरका धेरै विद्यालयहरु सञ्चालन भएका छन् ।

संघीय सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट अति प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय सोमबार गरेपछि महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा भने ढुक्क देखिएको छ । सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले आइतबारदेखि नै बन्द राख्न आग्रह गरिएको जानकारी दिनुभयो । महानगरपालिका नियामक निकाय मात्रै हो, महाशाखा प्रमुख खतिवडाले भन्नुभयो–गरिएको आग्रह मान्ने नमान्ने उनीहरुको कुरा थियो, बन्द गर भन्न हामी सक्दैनौं । उहाँले संघीय सरकारले निर्णय गरेसँगै प्रमुख जिल्ला अधिकारीको मातहतमा निर्णय कार्यन्वयन गराउने अधिकार गएको बताउनुभयो । सिडिओ कार्यालयले विद्यालय बन्द गर्न निर्देशन जारी गरिसकेपछि सञ्चालकहरुले गर्नेछन्, महाशाखा प्रमुख खतिवडाले भन्नुभयो–संघीय सरकारको निर्णय आएपछि हाम्रो निर्णय मान्य हुँदैन ।

तर, यस अगाडी वायु प्रदुषणको कारण देखाउँदै चैत १६ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गराउन शिक्षा मन्त्रालयले गरेको परिपत्रलाई भने महानगरपालिकाले अस्वीकार गरेको थियो । विराटनगरमा वायु प्रदुषण नभएको भन्दै विद्यालयहरु सञ्चालनमा आएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही पहिले नै शहरी क्षेत्रका विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । तर मन्त्रिपरिषदले निर्णय नगरेपछि मोरङसहित १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राख्दै बालबालिकालाई विद्यालय नपठाउन अपील गरेको थियो ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले विद्यालयका साथै सिनेमा हल, पार्टी प्यालेस, रंगशाला लगायतका भीडभाड हुने क्षेत्र पनि बन्द गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्