होटलमा तय भएका विवाहका बुकिङ ‘क्यासिन्ल’ हुँदै

होटलमा तय भएका विवाहका बुकिङ ‘क्यासिन्ल’ हुँदै

विराटनगर । विराटनगर रोडशेषस्थित होटल स्वागतममा बुकिङ भईसकेका बाह्रवटा वैवाहिक कार्यक्रम तथा विवाहभोज ‘क्यान्सिल’ भएका छन् । विराटनगरकै होटल एशियाटीकमा बैशाख १७ गतेदेखि जेठ ८ गतेसम्मका १७ वटा विवाहभोजका ‘बुकिङ’ समेत स्थगन गरिएका हुन् । कोरोना संक्रमणको सन्त्राससँगै होटलमा आयोजना हुने यो सिजनका वैवाहिक कार्यक्रमहरु धमाधम स्थगन भएपछि होटल व्यवसायीले भने नराम्रो धक्का लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । गत मंसिरयता नै विवाहमुहुर्तका लागि साइत जुरेका थिएनन् । बैशाख १७ गतेपछि विवाहका लागि भएका बुकिङ क्यासिन्ल हुँदा होटल तथा पााटी प्यालेस सञ्चालकहरु चिन्तित बनेका हुन् ।

लामो समयसम्म प्रभावित बनेको होटल व्यवसायको क्षेत्र राम्रोसँग पम्किन नपाउँदै पुनः कोरोना संक्रमणको मारमा परेको व्यवसायीहरु बताउँछन् । विराटनगरका पर्यटकीयस्तरका होटल मात्रै नभई पार्टी प्यालेसमा समेत विवाहका लागि गरिएको कतिपय लगानी यो सिजनमा त्यसै खेर गएको हो ।

यो वर्षको पहिलो विवाहको सिजनमा होटलमा गरिने वैवाहिक कार्यक्रमका प्रायः बुकिङ सबै रद्द गरिएका छन् । होटल एशोसिएसन नेपाल प्रदेश १ का संयोजक एवं स्वागतम् होटलका सञ्चालक राजन श्रेष्ठले गतवर्षको बन्दाबन्दीपछि पहिलो पटक होटलहरुले पाएको राम्रो अवसर गुमाउने अवस्था आएको बताउनुभयो । उहाँले विराटनगरमा रहेका २६ वटा पर्यटकीयस्तरका होटलसहित पाटी प्यालेसमा तय भएका सबै विवाहका कार्यक्रमहरु प्रायः रद्द गरिएको दावी गर्नुभयो । विराटनगरमा २२ दिनका लागि होटल तथा पाटी प्यालेसहरु बुक भईसकेका थिए, संयोजक श्रेष्ठले भन्नुभयो–कसैकसैले होटलमै गर्ने तयारी गरेपनि उनीहरुले उपस्थिति घटाएका छन्, त्यो पनि परिस्थिति जटिल बन्दै जाँदा संभावना छैन ।

विराटनगरस्थित होटल एशियाटीकका सञ्चालक पुण्य भट्टराईले मास्क लगाएर बेहुला र बेहुली सजिनु पर्ने दिन आएकोले होटलबाट विवाहका कार्यक्रम घरमै सरेको बताउनुभयो । होटलमा विवाह गर्न चाहनेहरुले समेत स्वास्थ्य मापदण्ड अपनाएर मात्रै सहभागी हुनुपर्ने अनिवार्य शर्त पालना गर्नुपर्ने छ ।

गतवर्षको संक्रमणका कारण सरकारी तथा गैरसरकारी तवरबाट हुने गोष्ठि तथा सेमिनार र तालिम जस्ता कार्यक्रमको अवसर समेत गुमाएका होटलहरुले यो सिजनमा समेत सामाजिक, साँस्कृतिक कार्यक्रम आयोजना गराउने अवसर नपाउने भएका हुन् । मुख्यकुरा स्वास्थ्य नै हो, संयोजक श्रेष्ठले भन्नुभयो–अब सरकारले मात्रै गर्छ भन्ने दिन बाँकी रहेन, सचेतनाका लागि सबै क्षेत्रबाट क्रियाशिलता जरुरी देखियो ।
होटल व्यवसायीहरुले खुल्ला सीमाबाट भईरहेको आवातजावत नियन्त्रण र बिना मास्क बजारमा भेटिने नागरिकलाई नियन्त्रण गर्न कडाईपूर्वक बल प्रयोग गरिनुपर्ने माग समेत राखेका छन् । उनीहरुले एउटै कुरा बारम्बार भनिरहे पनि सावधानीप्रति गम्भीर नदेखिएकोले कानुनको पालनामा कडाई गरिनुपर्ने माग गरेका हुन् ।
होटल मात्रै नभई यातायातका साधनमा भएका बुकिङ समेत क्यान्सिल गरिएका छन् । विवाहका लागि साना, मझौला तथा ठूला यात्रु वहाक सवारीको बुकिङ समेत रद्द गरिएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्