विराटनगर जुट मिल परिसरमा हजार जना क्षमताको होल्डिङ एरिया बन्दै

विराटनगर जुट मिल परिसरमा हजार जना क्षमताको होल्डिङ एरिया बन्दै

विराटनगर, बैशाख २० गते । भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई निश्चित समयसम्म सीमा क्षेत्रमै ‘होल्ड’ गर्न विराटनगर जुटमिल परिसरमा होल्डिङ एरिया बनाउने तयारी थालिएको छ । जिल्लास्थित कोभिड क्राईसिस मेनेजमेन्ट समितिले जुट मिलको जग्गामा एक हजार क्षमताको होल्डिङ एरिया निर्माण गर्ने निणर्य गरेर प्रक्रिया अगाडी बढाएको हो ।

जग्गा छनौट गर्ने काम गरेर निर्माणका लागि आवश्यक आर्थिक सहयोगका लागि प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग आग्रह गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता शरदकुमार पोखरेलले जानकारी दिनुभयो । डिसिसिएमसीले एक हजार जना क्षमताको होल्डिङ एरिया बन्नु अगाडी जुट मिलदेखि नजिकै रहेको व्यक्तिको घरमा ५० बेड क्षमताको अल्पकालिन होल्डिङ सेन्टर सञ्चालनमा ल्याउने भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले स्थानीय रमेशकुमार यादवको घरमा अस्थायी होल्डिङ केन्द्र चाँडै स्थापना गरिने दावी गर्नुभयो । नयाँ निर्माण गर्न समय लाग्ने भएकोले तत्कालको आवश्यकता पूरा गर्नका व्यक्तिको घरलाई नै होल्डिङ केन्द्र बनाउने तयारी गरिएको छ ।

होल्डिङ एरियाको रेखदेख र सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिनेछ । भारतबाट नेपाल प्रवेश गर्ने नागरिकको स्थायी ठेगाना भएको स्थानीय तहले जिम्मा नबुझ्दासम्म त्यहाँ राखिने छ । होल्डिङ एरियामा रहँदा उनीहरुको एन्टिजेन तथा पीसीआर परीक्षण समेत गरिने छ ।

होल्डिङ एरियामा राखिएका नागरिकको वासस्थान र खानपीनको व्यवस्था स्थानीय तह, प्रदेश सरकारसँगको समन्वयमा गरिने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार भारत फर्कनेहरुका लागि आईसीपीको बाटो हुँदै वैधानिक तरिकाले पठाउने र नेपाल प्रवेश गर्नेहरुलाई साविक रानी भन्सार हुँदै प्रवेश गराईने छ । त्यस बाहेक मोरङमा खुल्ला सीमाना रहेको ६३ किलोमिटरको सुरक्षा व्यवस्थालाई थप कडाई पारिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल मोरङका प्रहरी उपरीक्षक तीर्थ पौडेलका अनुसार सीमामा कडाई गर्न दश वटा एफओपी (फरवार्ड अब्जरर्भेसन पोष्ट) थप गरिएको छ । जिल्लामा नियमित रहेका ११ वटा बीओपीसहित थप गरिएका दश वटा एफओपीबाट सशस्त्रले सीमा क्षेत्रको निगरानी गरिरहेको हो ।
यसैगरी नेपाल प्रहरीले समेत प्रदेश प्रहरीसँग केहि थप जनशक्ति माग गरेर सीमा क्षेत्रमा परिचालन गरेको छ । मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार जिल्लाभर सीमा क्षेत्रमा रहेका १६ यूनिटबाट नेपाल प्रहरीको टोलि खटिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्