निषेधाज्ञाको अवज्ञा गर्दै विराटनगरको गुद्री बजार खोल्न थालियो

निषेधाज्ञाको अवज्ञा गर्दै विराटनगरको गुद्री बजार खोल्न थालियो

विराटनगर । ‘गुद्री बजार, सब्जिमण्ढी, होटल, रेष्टुराँ, सैलुन सञ्चालन नगर्ने ।’ मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाद्वारा जारी निषेधाज्ञा आदेशको तीन नम्बर बुँदामा यस्तो विवरण उल्लेख छ । कोरोना संक्रमण नियन्त्रण र नागरिकको जीवन रक्षाका लागि स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञाको आदेश भने बीचैमा उल्लंघन हुन थालेको छ ।

के गर्ने, के नगर्ने भनेर जारी आदेश अन्तर्गत विराटनगरको गुद्री बजार बन्द गर्नुपर्ने भएपनि समयावधी नसकिदैं साटाकसुटुक्क खोल्न थालिएको छ । व्यापारीको ईच्छा अनुसार विराटनगर महानगरपालिका र प्रहरी प्रशासनसँगको छलफलपछि बुधबारबाट बिहान १० बजेसम्म गुद्री बजार खुल्न थालेको हो ।

मोरङमा स्थानीय प्रशासनले जेठ १ गते रातीसम्म निषेधाज्ञा जारी गरेको छ । त्यसको समयावधी नसकिदैं आदेश विपरितको काम हुँदा सर्वसाधारण समेत चकित पर्ने गरेका छन् । जिल्लाभर बैशाख २४ गतेदेखि र त्यस अगाडी सातदिन विराटनगर महानगरपालिका र आपपासका तीन स्थानीय तहमा निषेधाज्ञा आदेश जारी गरिएको थियो ।

पछिल्लो सातदिने निषेधाज्ञाको समयावधी नसकिदैं अति भीड हुने गुद्री बजार भने साटाकसुटुक्क खोल्ने निर्णय गरिएको छ । मंगलबार अनौपचारिक रुपमा भएको छलफलबाट बुधबार बिहानदेखि १० बजेसम्मलाई गुद्री बजार खोल्न थालिएको गुद्री बजार तथा सब्जिमण्ढी व्यवस्थापन समितिका सचिव अहमद गुड्डुले जानकारी दिनुभयो ।
तर, प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशलाई बीचमै पुनरावलोकन गर्नुपर्ने विषयमा औपचारिक छलफल भने भएको छैन । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले गुद्र तथा अन्य हाटबजार खोल्ने कुनैपनि निर्णय नभएको बताउनुभयो । उहाँले आदेश जारी भएको क्षेत्र खोलिएको विषयमा जानकारी नभएको समेत बताउनुभयो । ‘हिजैदेखि खुलेको, एसपी साब्लाई भनौला’ प्रवक्ता समेत रहनु भएका सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले भन्नुभयो–निषेधाज्ञा जारी गरिएको क्षेत्र खोल्न पादैन ।

विराटनगरमा निषेधाज्ञा कार्यन्वयन फितलो देखिएको भन्दै नगरवासीले गुनासो समेत गरेका छन् । महानगर भित्रका बैंकमा हुने गरेको भीड नियन्त्रण नगरिएको भन्दै सामाजिक सञ्जालबाट धेरैले आफ्ना गुनासो समेत पोखेका छन् । त्यति मात्रै नभई निषेधाज्ञाको समयमा सवारी लिएर हिड्नेलाई ट्राफिकले रोक्ने र एकसय रुपैँया जरिवाना गरेर छोड्ने गरेको भन्दै सर्वत्र चर्चा र आलोचना हुने गरेको छ ।
मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले खुद्रा किनबेच रोकिएको भएपनि थोक बिक्रेताले लोड गरेर पठाउने तरकारीका लागि खुल्ने गरेको बताउनुभयो । खुद्रालाई निषेध नै गरिएको छ तर थोकमा आउने तरकारी र सप्लाई हुने तरकारीका लागि गाडी अनलोड र लोड गर्न दिइएको छ, एसपी खड्काको दावी छ ।

तर, गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतले भने अहिलेसम्म गुद्री बजार बन्द नै नरहेको जिकीर गर्नुभयो । उहाँले भन्नुभयो– न त खुद्रा बन्द छ न त थोक, अहिलेसम्म त गुद्री बजार त्यस्तो प्रभावित नै छैन तर सावधानी अपनाएका छौं । तर, निषेधाज्ञा जारी भएको पहिलो हप्ता गुद्री बजार प्रवेश गर्ने चारैतर्फ ढाट कसिएको थियो । अहिले त्यो हटाएर आउजाउ गर्न सहज बनाइएको छ । प्रहरीले बिहानपख गुद्री बजार खोल्नका लागि सहजीकरण गर्दै आएको छ ।
स्थानीय प्रशासनले आगामी जेठ १ गतेदेखि सबै क्षेत्रको कारोबारलाई दशदिनसम्म ठप्प पार्ने तयारी गरिरहेको सुरक्षा स्रोतले बताएको छ । सबै कुरालाई भुलेर दशदिनसम्म पूर्ण रुपमा बन्द गर्ने तयारी भईरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्