कोरोना कहरबीच बिकेन काफल

कोरोना कहरबीच  बिकेन काफल

सल्यान

कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि भन्दै सरकारले निषेधाज्ञा जारी गरेपछि काफल बिक्रीबाट जीविकोपार्जन गर्नेहरू समस्यामा परेका छन् । अघिल्ला वर्षसम्म न्यून आयस्रोत भएका ग्रामीण बासिन्दा काफल बेचेर वर्ष दिनको खर्चको जोहो गर्थे तर यस वर्ष निषेधाज्ञा जारी हुँदा रुखमै सडेर गएको छ । बिक्री नहुँदा काफल रुखमै सुकेर झरेर खेर गएको त्रिवेणी गाउँपालिका–३ पिमखोलाकी टिका पुनले बताउनुभयो ।

विगतमा वर्षहरूमा श्रीनगर बजारसम्म बिक्री गर्न आउने गरेको भए पनि यो वर्ष भने काफल पाक्ने सिजनमै बन्द हुँदा समस्या भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘काफल बिक्री गरेर घर खर्च चलाउन निकै सजिलो हुन्थ्यो तर यसपालि एक रुपैयाँको पनि बिक्री गर्न सकिएन ।’

अघिल्ला वर्षसम्म यो बेला एउटै परिवारले काफल बिक्री गरेर डेढ दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको भए पनि यो वर्ष भने पाकेको काफल जङ्गल र बारीमै खेर गएको स्थानीय मेककुमारी वलीले बताउनुभयो ।
“गत वर्ष नजिकैको बजारमा बिक्री गरेर ३० देखि ४० हजारसम्म आम्दानी भएको थियो जसले घर खर्च चलाउने निकै सजिलो भएको थियो तर यसपालि तर सबै काफल बोटमै छन् । चरालाई ठिक्क भयो” वलीले बताउनुभयो ।

कोरोनाले विपन्न वर्गका परिवारले काफल बिक्रीबाट गर्दै आएको आम्दानीको स्रोत नै बन्द गरिदिएको स्थानीय तुलसी बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लकडाउनले सबै बजार पसल बन्द छन् मानिस नै घरबाट बाहिर निक्लन डराइरहेका छन् । काफल को आएर खाइदियोस् !’
-रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्