औद्योगिक–व्यापारिक प्रतिष्ठानमा अक्सिजनका सिलिन्डर खोज्दै प्रहरी, नौ जिल्लाबाट ७९५ सिलिन्डर संकलन

औद्योगिक–व्यापारिक प्रतिष्ठानमा अक्सिजनका सिलिन्डर खोज्दै प्रहरी, नौ जिल्लाबाट ७९५ सिलिन्डर संकलन

विराटनगर । औद्योगिक तथा व्यवसायीक प्रयोजनका लागि खपत भईरहेका अक्सिजनका सिलिन्डर खोज्न प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले उद्योग अनुसार कति सिलिन्डर खपत भईरहेका छन् भन्ने यकिन अभिलेखसहित संकलनको काम थालेको हो ।

प्रदेशभरका विभिन्न जिल्लाबाट प्रहरीले ७९५ अक्सिजन सिलिन्डर संकलन गरिसकेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवं प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार झापा–३४६, पाँचथर–६७, मोरङ–४१, सुनसरी–८८, धनकुटा–१८, तेह्रथुम–९,संखुवासभा–१८६, उदयपुर–३३ र खोटाङ–७ थान सिलिन्डर संकलन गरेर उद्योगमा बुझाइएको छ ।
प्रहरीले अक्सिजन उद्योग भएका जिल्लामा औद्योगिक प्रयोजनका लागि खपत भईरहेको सिलिन्डरको अभिलेख राखेको छ । साना, मझौला, ठूला उद्योग तथा अन्य मोटरग्यारेजहरुमा रहेका सिलिन्डरको अभिलेख यकिन गरिएको हो । निरन्तर रुपमा सिलिन्डरको अवस्था बारे हामीले अध्ययन गरिरहेका छौं, प्रहरी उपरीक्षक एवं प्रवक्ता श्रेष्ठले भन्नुभयो–स्थान हेरेर संकलनको काम गरिरहेका छौं ।

अक्सिजन उद्योग भएका पायक पर्ने जिल्लामा औद्योगिक प्रयोजनका लागि खपत भईरहेका सिलिन्डर आवश्यक पर्ने अवस्थामा उठाउने गरि प्रतिष्ठानसँग अभिलेख लिइएको छ । त्यस बाहेक रिफिल गर्न समस्या हुने जिल्ला केन्द्रीत गरेर सिलिन्डर संकलनको काम भईरहेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले मोरङका ठूला र मझौला उद्योगमा रहेका सिलिन्डरको अभिलेख राख्ने काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले ठूला उद्योगले ४० वटासम्म सिलिन्डर राख्ने गरेको र मझौला उद्योगहरुमा १० देखि २० सिलिन्डर समेत रहेको पाइएको छ । प्रहरीले सञ्चालनमा रहेका उद्योगमा खपत भईरहेका २०० सय सिलिन्डरको अभिलेख जनाएर प्रयोग गर्न दिईरहेको एसपी खड्काले जानकारी दिनुभयो ।

उद्योग पनि बन्द गरिहाल्न नमिल्ने अवस्थामा रहेकोले जुनसुकै समयमा फिर्ता पठाउने शर्तसहित प्रयोग गर्न दिइएका २०० सिलिन्डर छन्, एसपी खड्काले भन्नुभयो–मेडिकल क्षेत्रमा अक्सिजनको अभाव खट्किने देखिए औद्योगिक प्रयोजनमा खपत भईरहेका सबै सिलिन्डर औद्योगिक प्रतिष्ठान आफैंले जम्मा गर्ने शर्तछ ।
प्रहरीले अहिले सबै क्षेत्रमा रहेका सिलिन्डरको यकिन विवरण तयार गर्ने र प्रयोग नभई त्यसै बसिरहेका सिलिन्डर संकलन गर्ने योजना प्रदेश १ का १४ वटै जिल्लामा एकसाथ अगाडी बढाएको हो । प्रदेश प्रहरीका डिआईजी इश्वरबाबु कार्कीले सिलिन्डर खोज्नदेखि अक्सिजन उद्योगको सुरक्षासम्ममा प्रहरीले ध्यान दिईरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्