बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना

बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना

बेनी

म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ । अस्पताल परिसरमा सञ्चालित अक्सिजन प्रशोधन केन्द्रलाई बैंकका रूपमा परिणत गरिएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले तीव्ररूपमा फैलिएको कोरोना भाइरसका सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन सिलिण्डर सङ्कलन गर्न थालिएको बताउनुभयो ।

“विभिन्न सङ्घसंस्था, कम्पनी र उद्योगसँग भएका अक्सिजन सिलिण्डर सङ्कलन गरेर एकद्वार प्रणालीबाट कोरोना सङ्क्रमितको उपचारका लागि उपलब्ध गराउन बैंक स्थापना गरिएको हो”, उहाँले भन्नुभयो, “अक्सिजन बैंकमा विभिन्न क्षेत्रबाट खाली र भरिएका सिलिण्डर सङ्कलन भइरहेको छ ।” जिल्ला प्रहरी कार्यालयले बेनी बजारका विभिन्न ठाउँबाट २२ वटा अक्सिजन सिलिण्डर सङ्कलन गरेर बेनी अस्पताललाई उपलब्ध गराएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताउनुभयो । आठवटा पसल, ग्यारेज तथा उद्योगमा रहेका १२ वटा भरिएको र १० वटा खाली सिलिण्डर सङ्कलन गरेर हस्तान्तरण गरिएको प्रनाउ राईले बताउनुभयो ।

कोरोना महामारीको अवस्था सहज भएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने गरी सबै प्रक्रिया पूरा गरेर अक्सिजन सिलिण्डर सङ्कलन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडद्वारा सञ्चालित राहुघाट जलविद्युत् आयोजनाले बेनी अस्पताललाई २० थान सिलिण्डर उपलब्ध गराएको छ । व्यक्तिका घर तथा पसलमा प्रयोगविहीन अवस्थामा रहेका सिलिण्डरसमेत उपलब्ध गराउन अपिल गरिएको छ । कोरोनाका सङ्क्रमितको सङ्ख्या बढेसँगै देशभर अक्सिजनको अभावमा उपचार प्रभावित बनेको छ ।

म्याग्दीमा पनि अक्सिजन अभावको अवस्था आउन नदिन अक्सिजन सिलिण्डर सङ्कलन र भरेर राख्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो । म्याग्दीमा करिब ३०० थान अक्सिजन सिलिण्डर भएको अनुमान छ । बेनी अस्पतालसँग ५४ थान सिलिण्डर थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालका अनुसार २५ वटा सिलिण्डर रिफिल गर्न (भर्न) पठाइएको छ । अस्पतालको ३० वटा शय्यामा अक्सिजन उत्पादन केन्द्रबाट पाइपमार्फत सिधै अक्सिजन पठाउने व्यवस्था मिलाइएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा उपलब्ध गराएको रु १० लाख बजेटले प्लान्टबाट अस्पतालको शय्यामै अक्सिजन पुर्याउन पाइपलाइन जडान गरिएको छ । प्लान्टले एक दिनमा १५ वटासम्म सिलिण्डरमा अक्सिजन भर्न सक्ने क्षमता रहेको अस्पतालका प्रमुख जितेन्द्र कँडेलले बताउनुभयो । अस्पतालमा सामान्य अवस्थामा दैनिक २० देखि २५ श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी आउँछन् । हावालाई प्रशोधन गरेर अक्सिजनलाई सिलिण्डरमा भर्न मिल्ने उपकरण जडान गरिएको छ ।

एकपटकमा तीनवटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ । अक्सिजन उत्पादन केन्द्रको पूर्वाधार निर्माण र औजार खरिद तथा जडान गर्न रु ६३ लाख खर्च भएको छ । सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा रु ७५ लाख बजेट पठाएकामा प्रतिस्पर्धामार्फत रु ४३ लाखमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको थियो । सङ्घीय सांसद भूपेन्द्र थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत रघुगङ्गा गाउँपालिकाले दिएको रु १४ लाख र अस्पतालको रु एक लाख ४० हजारमा सिलिण्डरमा अक्सिजन भर्ने बुस्टर मेसिन किनेर प्लान्ट सञ्चालनमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्