विराटनगर । मोरङको सुन्दरहरैंचा–३ लोचनीका ४० वर्षीय विष्णु ऋषिदेवको हत्या आरोपमा स्थानीय पुजन राईलाई प्रहरीले पक्राउ गरेको छ । ऋषिदेवको आफ्नै घरमा सुतिरहेको अवस्थामा हत्या भएको अवस्थामा आज बिहान शव फेला परेपछि अनुसन्धानका क्रममा प्रहरीले राईलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता मानबहादुर राईका अनुसार पुजनले बामफोक प्रहार गरि ऋषिदेवको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । प्रहरीले उनलाई घरबाटै नियन्त्रणमा लिएको छ । उनले बामफोकले घाँटीमा प्रहार गरि ऋषिदेवको हत्या गरेको आरोप छ ।
प्रहरीले घटना घटाउँदा प्रयोग गरिएको बामफोक –दाउ) समेत राईको घरबाट बरामद गरेको छ । प्रहरीले राई विरुद्ध मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसूरमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान कार्य अगाडी बढाएको छ ।