विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाका बासिन्दाले कटहरीस्थित जीवन विकास सामुदायिक अस्पतालमा उपचारका लागि १० देखि ५० प्रतिशतसम्म छुट पाउने भएका छन्। नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दुवै पक्षबीच औपचारिक समझदारीपत्रमा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार सुन्दरहरैँचा नगरपालिकाका स्थायी बासिन्दा, जनप्रतिनिधि, स्थानीय तहका शिक्षक, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूले अस्पतालबाट प्रदान गरिने बहिरंग सेवा (ओपीडी), आकस्मिक सेवा, बेड शुल्क, प्रयोगशाला, रेडियोलोजी, फिजियोथेरापी, शल्यक्रिया, दन्त सेवा, डेन्टल ल्याब, सीटी स्क्यान तथा एमआरआई लगायतका सेवाहरूमा छुट प्राप्त गर्नेछन्।
कार्तिक १७ गते आयोजित एक कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका तर्फबाट नगर प्रमुख केदारप्रसाद गुरागाईं र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनका तर्फबाट सञ्चालक तथा प्रशासन प्रमुख अनिताकुमारी गच्छदारले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। स्थानीय तहसँगको यो सम्झौता प्रारम्भिक रूपमा एक वर्षका लागि लागू हुनेछ भने आपसी सहमतिमा यसको अवधि नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ। यसअघि अस्पतालले अन्य स्थानीय तहसँग पनि यस्तै प्रकारका सहकार्य सम्झौता गरिसकेको छ।