निषेधाज्ञामा पनि स्वास्थ्य संस्था धाउँदै गर्भवती

निषेधाज्ञामा पनि स्वास्थ्य संस्था धाउँदै गर्भवती

कोभिड­१९ को दोश्रो लहर फैलिएसँगै भएको निषेधाज्ञाले जिल्लाको जनजीवन ठप्प छ । यातायातका साधनहरु नचल्दा अत्यावश्यकीय काम समेत प्रभावित भएका छन् । यस्तो अवस्थामा समेत रोल्पाका स्वास्थ्य संस्थामा प्रसुती सेवाले भने निरन्तरता पाइरहेको छ । आमा बन्न स्वास्थ्य संस्था धाउने गर्भवतीको सङ्ख्यामा गिरावट आएको छैन ।
स्वास्थ्यकर्मीले कोरोनाको रोकथाम तथा उपचारका साथै स्वास्थ्य संस्थाका नियमित कामलाई समेत निरन्तरता दिइरहेका छन । राज्यको पहिलो प्राथमिकतामा रहेको आधारभूत स्वास्थ्य सेवा अन्तरगत प्रसुती सेवाले यस्तो समयमा पनि निरन्तरता पाइरहेको छ । घरमा हुने सुत्केरीले आमा तथा शिशुमा स्वास्थ्य सङ्क्रमण देखिदा मातृ र बालमृत्यु दर बढेको भन्दै सरकारले संस्थागत प्रसुतीलाई महत्वपूर्ण कार्यक्रमका रुपमा अघि सारेको छ ।
कोरोनाको दोस्रो लहरपछि भएको निशेषज्ञा अवधिमा रोल्पा अस्पतालमा ६२ जनाले गर्भवती सेवा लिएका छन् । यसै अवधिमा अस्पतालमा १९ जनालाई प्रसुती सेवा दिएको रोल्पा अस्पतालका सिनियर स्टाप नर्स मीना कवरले जानकारी दिनुभयो । यस अवधिमा अस्पतालले सात जनालाई जिल्ला वाहिर पठाएको थियो ।
सुनिल स्मृति गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा १८ जनांले गर्भवती सेवा लिएका थिए । यस अवधिमा प्रसूति सेवा लिनेको सङ्ख्या आठ जना रहेको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरका स्टाप नर्स खिमा गिरीले जानकारी दिनु भयो । माडी गाँउपालिकाको घर्तीगाउँ स्वास्थ्य चौकीले यस अवधिमा २२ जनालाई गर्भवती सेवा दिएको थियो । घर्तीगाउँ स्वास्थ्य चौकीका अनुसार यस अवधिमा स्वास्थ्य संस्थामा आएर प्रसुती सेवा लिनेको सङ्ख्या चार जना रह्यो ।
जिल्लाका यी तीन घना वसोवास भएका शहरोन्मुख स्वास्थ्य संस्थाको आँकडा अनुसार विपदको घडीमा पनि आधारभूत स्वास्थ्य सेवाले निरन्तरता पाएको देखाउँछ । सुरक्षित मातृत्व सेवाअन्तर्गत गर्भवती महिलाले सामान्य गर्भावस्थामा कम्तीमा चारपटक स्वास्थ्य चेकजाँच गर्नुपर्दछ । यसका साथै स्वास्थ्य स्याहारसम्बन्धी समुचित परामर्श सेवा लिने तथा गर्भावस्थामा अलवम्बन गर्नुपर्ने सुधारका उपाय तथा न्यूनतम सेवा गर्भवती सेवाअन्तर्गत पर्दछन् ।
सुरक्षित प्रसुतीका लागि भन्दै सरकारले जिल्लामा ६३ वटा वर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ । नागरिकको सुविधालाई मध्यनजर गर्दै सकेसम्म कम दूरी रहने गरी स्थापना भएका भनिएका ती वर्थिङ सेन्टरमा प्रसुती गराउने आमाहरुको सङ्ख्या भने आधाभन्दा कम छ । अघिल्लो वर्ष गर्भवती भएकामध्ये झण्डै ६३ प्रतिशत आमाले वर्थिङ सेन्टरमा पुगेर प्रसुती गराएका थिए । प्रसुतीका लागी वर्थिङ सेन्टर जाने गर्भवतीको सङ्ख्यामा क्रमिक सुधार हुँदै आए पनि अवस्था सन्तोषजनक भैनसकेको सरोकारवालाहरु बताउँछन् ।
आर्थिक वर्ष २०६९-७० मा संस्थागत सुत्केरी ३८ प्रतिशत मात्रै रहेको रोल्पामा आर्थिक वर्ष २०७४÷७५ मा यो सङ्ख्या वढेर ५३।७ प्रतिशत पुगेको थियो । यसैगरी आर्थिक वर्ष २०७५-७६ मा यो संख्या ६०।८ प्रतिशत रहेकामा अघिल्लो आर्थिक वर्ष यो सङ्ख्या ६२।९ प्रतिशत रहेको स्वास्थ्य कार्यालय रोल्पाको प्रतिवेदनमा उल्लेख छ ।

घरमा हुने सुत्केरी शून्य अभियानमा
जिल्लाका स्थानीय तह घरमा हुने प्रसुतीलाई शून्यमा झार्ने अभियानमा जुटेका छन् । घरमा हुने सुत्केरीले आमा र नवजात शिशु दुवैलाई खतरा हुने पाइएकाले शत प्रतिशत संस्थागत सुत्केरी अभियान सञ्चालन गरेको उनीहरुको भनाइ छ ।
जिल्लाको लुङ्ग्री गाउँपालिका­१ पाङलाई घरमा हुने सुत्केरी शून्य वडा घोषणा गरिसकेको छ भने गाउँपालिकाले चालु आर्थिक वर्ष वडा नं। ४ र ५ लाई पनि घरमा हुने सुत्केरी शून्य वडा घोषणाको तयारीमा लागेको छ । सात वटा वडा रहेको गाउँपालिकाले आगामी वर्षभित्र सबै वडालाई घरमा हुने शून्य प्रसुती वडा घोषणा गर्दै गाउँपालिका नै घरमा हुने शून्य प्रसुती वडा घोषणाको तयारीमा लागेको हो ।
“स्वास्थ्यकर्मी, आमा समूह र महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरेर यसै वर्ष दुई वडा पनि सुत्केरी शून्य वडा बनाउँदै छौँ”, गाउँपालिकाका स्वास्थ्य संयोजक लेपेन्द्र वुढाथोकीले भन्नुभयो । समग्र गाउपालिकामा संस्थागत सुत्केरीको अवस्था कस्तो छ भनेर घरधुरी सर्वेक्षण गरी केही वर्षभित्रै गाउँपालिकालाई नै घरमा हुने सुत्केरी शून्य घोषणा गर्ने तयारी रहेको संयोजक वुढाथोकीले बताउनुभयो ।
संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न सो गाउँपालिकाको ४ नं वडाले सुत्केरी र गर्भ जाँच गर्न स्वास्थ्य संस्था आउने गर्भवतीहरुलाई नुन तेल प्रदान गर्ने गरेको छ । अघिल्लो वर्षदेखि नै यो अभियान सुरु भएपनि यस वर्ष घरमा हुने सुत्केरी शून्य वडा घोषणा गर्ने गरी काम थालनी भएको वडा कार्यालयले जनाएको छ ।
­­­

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्