कोरोना सन्त्रासमा सिटामोल अभाव, मूल्य बढाउन उत्पादकले छोपे संकटमा दाउ

कोरोना सन्त्रासमा सिटामोल अभाव, मूल्य बढाउन उत्पादकले छोपे संकटमा दाउ

विराटनगर । संकटलाई दाउ मानेर उत्पादक र डिलरले नै ज्वरोको औषधी सिटामोलको कृत्रिम अभाव सिर्जना गरेका छन् । कच्चाको मूल्य बृद्धि भएको भन्दै तयारी वस्तु उत्पादनमा कटौती गरिएको उत्पादकले जनाउ दिएपछि थोक बिक्रेताले प्रदेश १ मा सिटामोल अभाव सिर्जना गरेका हुन् ।

एकसातादेखि विराटनगरमा सिटामोल अभावको हल्ला चलाईएसँगै अहिले कालोबजारीयाले धन्दा चलाउन थालेका छन् । उत्पादकले चारदिन अगाडी आफूसँग मौज्दातमा तीन करोड ७५ लाख ट्याब्लेट रहेको जानकारी गराएका थिए ।
तर, उत्पादकबाट थोकमा पठाएको पारासिटामोल खुद्रा बिक्रेतासम्म पुगेको छैन । उत्पादकले यथेष्ट मौज्दात छ भनिसकेका छन्, नेपाल औषधी व्यवसायी संघ प्रदेश नम्बर १ का अध्यक्ष कुमार खतिवडाले भन्नुभयो–हामीले कुन थोक बिक्रेतासम्म पारासिटामोल आएको छ भन्ने कुरा यकिन गरिरहेका छौं । औषधी व्यवसायी संघले उत्पादकमार्फत थोक बिक्रेतासम्म आएको पारासिटामोलको विवरण सार्वजानिक गर्ने योजना समेत राखेको अध्यक्ष खतिवडाले बताउनुभयो ।

अभाव नै हुने अवस्थामा आउनुमा घरायसी भण्डारण मूल कारण रहेको खुद्रा बिक्रेताहरुको बुझाई छ । ज्वरोका बिरामीले प्रयोग गर्ने पारासिटामोल कोरोना संक्रमणको उच्च जोखिमको समयमा अभाव देखाउन खोजिनुलाई कतिपयले कालो बजारी गर्ने मनसाय राखिएको ढंगबाट बुझेका छन् ।
औषधी व्यवस्था कार्यालय विराटनगरका प्रमुख संजीव शर्मा कट्टेलले कच्चा आयात अनुमतिदेखि उत्पादन अनुमतिसम्मको प्रक्रिया विभागले गर्ने भएकोले अभाव आउनसक्ने अवस्थाको गहिरो अध्ययन भईरहेको बताउनुभयो । प्रदेश १ को समस्याका बारेमा यहाँबाट लेखिपठाएको छौं, कट्टेलले भन्नुभयो–विभागले यस विषयमा अध्ययन गरिरहेको छ ।

संघका प्रदेश अध्यक्ष खतिवडाले उत्पादकले कुनकुन थोक बिक्रेतामा सिटामोल सप्लाई गरे भन्ने कुरा खुद्रा बिक्रेताले जानकारी पाईनसकेको बताउनुभयो । उहाँले उत्पादक कम्पनिसँग त्यस विषयमा बुझ्ने काम भईरहेको बताउनुभयो । उहाँले उत्पादकले पठाएको औषधी थोक बिक्रेताको रहेको जानकारीपछि माग गरिने बताउनुभयो । यदि औषधी आईसक्दा समेत नदिने स्थिति आए नियामक निकायको ध्यानाकर्षण गराउने तयारी समेत गरिएको छ ।
नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष तथा ओम विराट औषधि पसलका सञ्चालक लक्ष्मी तिम्सिनाले खुद्रा बिक्रेतासँग अहिले सिटामोल अभाव भएको बताउनुभयो । यस अगाडी माग उच्च रहेका कारण अहिले अभाव देखिएको बताउनु भएको हो ।
निषेधाज्ञा लागेपछि एकै दिनमा ५० देखि सय पत्तासम्म सिटामोल एउटै खुद्रा बिक्रेताबाट ग्राहकले खरिद गरेका थिए । त्यस बाहेक घाँटीको समस्या भएर खोकी लाग्दा खाने ‘एजिथ्रो माइसिन’, दमको रोगीलाई आवश्यक हुने आस्थालिन औषधिलगायतका दीर्घ रोगको औषधि पनि अभाव भएको बताइन्छ ।

बजारमा सिटामोल अभाव भएको जनगुनासो बढेपछि औषधि व्यवस्था विभागको कार्यालय विराटनगरले दुई वटा समूह बनाएर सुनसरी, मोरङ, झापा र इलामका खुद्रा तथा थोक औषधि विक्रेता पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा थोक विक्रेताहरूमा नै सिटामोल अभाव रहेकाले बजारमा अभाव हुनु स्वाभाविक भएको निष्कर्ष निकालेर विभागलाई पत्राचार गरेको थियो । बजारमा सिटामोलको चरम अभाव, डक्सिसाइक्लिन, एजिथ्रोमाइसिन, भिटामिन सी, स्टेरोइड, जिंक चक्की, मिथाइल टेडमिसोलन र डिग्जामिथासोन पनि अभाव रहेको पाइएको छ ।
सरकारले तोकेको रेटमा लागत मूल्य पनि नउठ्ने भएकाले उद्योगहरूले उत्पादन घटाएको र उपभोक्ताले पनि अनावश्यक भण्डारण गरेकाले बजारमा अभाव भएको भनाइ छ । २०६४ सालमा तोकेको मूल्यमा नै अहिलेसम्म खरिद–बिक्री भइरहेकाले सरकारले तत्काल सिटामोलको मूल्य समायोजन गर्नुपर्ने माग उत्पादकले राखेका छन् ।
कच्चा पदार्थको मूल्य चार गुणाले बढिसकेको अवस्थामा १४ वर्ष अगाडिको मूल्यमा सिटामोल उत्पादन गरेर बिक्री गर्न सकिने अवस्था नभएको उत्पादक कम्पनिको भनाई रहेको संघका अध्यक्ष खतिवडाले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्