काठमान्डौ । चार राष्ट्र सम्मिलित इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीचको प्रतिस्पर्धा २ –२ को बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमै चार गोल भए पनि दोस्रो हाफमा दुवै टोलीले आक्रमक प्रदर्शन गरे तापनि गोल गर्न सकेनन् । खेलको ६ औं मिनेटमै म्यानमारकी म्याट नोए खिनले फ्रिकिक मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् ।
तर नेपालले ११ औं मिनेटमा बराबरी गोल फर्कायो। सावित्रा भण्डारीको बायाँ विंगबाट आएको पासलाई सविता राना मगरले गोलमा परिणत गर्दै नेपाललाई खेलमा फर्काइन्। ।
१६औं मिनेटमा म्यानमारले पुनः अग्रता लियो मे लुले चेस्लेले दुई नेपाली डिफेन्डरलाई छक्याउँदै गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाइन्। । नेपालले पहिलो हाफको ४० औं मिनेटमा पुनः बराबरी गोल फर्कायो। सावित्रा भण्डारीले व्यक्तिगत कौशल प्रदर्शन गर्दै गोल गर्दै नेपाललाई २–२ को स्थितिमा ल्याइन्। । दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेनन्। । नेपाल र म्यानमार दुवैले यसअघि नै फाइनलमा स्थान सुरक्षित गरिसकेकाले यो खेल फाइनल अघिको रणनीतिक तयारीको रुपमा रहेको थियो । अब नेपाल र म्यानमारबीच फागुन १४ गते फाईनल प्रतिस्पर्धा हुनेछ ।