अग्रज पत्रकार बाँस्तोलाको कोरोनाका कारण निधन

अग्रज पत्रकार बाँस्तोलाको कोरोनाका कारण निधन

नेपाल पत्रकार महासङ्घ कास्की शाखा सदस्य एवं अग्रज पत्रकार यज्ञप्रसाद बाँस्तोलाको कोरोना सङ्क्रमणका कारण ७० वर्षको उमेरमा निधन भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि रिजनल अस्पताल पोखरामा उपचार गराइरहनुभएका उहाँलाई थप उपचारका लागि चरक अस्पताल भर्ना गरिएकामा आज बिहान ३:१० बजे उपचारका क्रममा निधन भएको हो । कास्कीको पुरञ्चौरमा जन्मिनु भई हाल पोखरा महानगरपालिका–५ मा स्थायी बासिन्दा रहनुभएका स्व बाँस्तोलाका दुई श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।

पोखरामा झण्डै चार दशक पत्रकारिता गर्नुभएका स्व बाँस्तोलाले पोखराको माछापुच्छ्रे एफएम, माइक्रो न्यूज, आदर्श समाज र स्वतन्त्र सन्देशमा कार्यक्रम प्रस्तोतादेखि सहसम्पादक र सम्पादकको भूमिका निर्वाह गर्नुभएको थियो ।

यसैबीच बाँस्तोलाको निधनप्रति नेपाल पत्रकार महासङ्घ कास्कीले चरक अस्पताल परिसरमा श्रद्धाञ्जलिसभा गरेको छ । श्रद्धाञ्जलिसभामा महासङ्घका अध्यक्ष विमला भण्डारी र केन्द्रीय सदस्य त्रिभुवन पौडेलले पत्रकारिताका क्षेत्रमा उहाँले गर्नुभएको योगदानको चर्चा गर्नुभएको थियो । असामयिक निधनप्रति नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिलगायतका पत्रकार सम्बद्ध सङ्घसंस्थाले शोक वक्तव्य प्रकाशित गर्दै दुःख व्यक्त गरेका छन् ।

बाँस्तोलाको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील, इमान्दार र यस क्षेत्रको एक अभिभावक गुमाएको उल्लेख गर्दै विज्ञप्तिमा स्व पत्रकार बाँस्तोलाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । यसअघि कास्कीका युवा पत्रकार जगन्नाथ पौडेल (गणेश)को पनि कोरोना सङ्क्रमण भई निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्