बजारको पहुँचमा जोडिए रंगेली र सुनवर्षीका माछापालक किसान

बजारको पहुँचमा जोडिए रंगेली र सुनवर्षीका माछापालक किसान

नवराज कट्टेल
विराटनगर । न्यून आयआर्जन भएका नागरिकलाई समूहमा आवद्ध गरेर ‘क्लष्टर’ निर्माण गरिएसँगै मोरङको दक्षिणवर्ती स्थानीय तह रंगेली र सुनवर्षी नगरपालिकामा माछा उत्पादक कृषकले बजारको सहज पहुँच पाउन थालेका छन् । कृषि तथा गैरकृषि क्षेत्रमा उद्यम प्रवद्र्धनका लागि उत्पादन क्लष्टरहरूको सबलीकरण हुँदा ग्रामीण गरिब घरपरिवार एकाएक व्यवसायीक कृषकमा रुपान्तरण हुन थालेका हुन् ।
मोरङको रंगेली नगरपालिका–६ गोरीटोलका ४३ घरपरिवार एउटै समूहमा संगठित छन् । माछापालक पुर्खौली व्यवसाय भएका उनीहरुले बहदार मत्स्य कृषक समूह गठन गरेका हुन् । आफ्नो स्वामित्व र लिजमा समेत लिएर ४३ घरपरिवारले १६८ बिघा क्षेत्रफलमा माछा उत्पादन गर्दै आएका छन् । उत्पादनलाई बजारसम्मको सहज पहुँचमा जोड्न उनीहरु समूहको अवधारणमा संगठित भएको बताउँछन् ।

बहदार माछा कृषक समूह जस्तै रंगेलीमा ३४ जना संलग्न रहेको गोरी माछा कृषक समूह समेत छ । यस्ता कृषक समूहमा आवद्धहरुलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)ले समूह र क्लष्टरमा संगठित र संलग्न गराउँदै आएको हो । बहदार माछा कृषक समूह अध्यक्ष शिलादेवी बहदारका अनुसार पहिले उत्पादन भएको माछा बोकेर जिल्लाभरका हटिया धाउँनुपर्ने बाध्यता थियो । अहिलेपनि आफ्नो उत्पादन आफैं बिक्री गर्न बजारसम्म जाने गरिएपनि पोखरीमै माछा किन्न आउने व्यापारीको संख्या बढ्दै जाँदा त्यो बाध्यता हट्दै गएको छ । उत्पादनले सहजै बजार पाउन थालेपछि लगानी जोखिम कम भएको समूहका सचिव कृष्ण बहदारको भनाई छ ।

थोरै क्षेत्रफलमा माछापालन गर्नेदेखि धेरै क्षेत्रफलमा माछा पालन गर्ने किसानको एउटै समूह भएका कारण कसैका उत्पादनले बजार नपाउला की भन्ने समस्या टरेको अर्का कृषक प्रकाश बहदार बताउनुहुन्छ । समृद्धि कार्यन्वयनमा आएको रंगेलीका माछा पालक किसानलाई बजारीकरणका लागि साइकल र माछा झिक्नका लागि जाली र वजन नाप्न तराजु अनुदान सहयोग उपलब्ध गराइएको मोरङका फिल्ड सुपरभाईजर भोला ठाकुरले जानकारी दिनुभयो ।

रंगेलीका यी दुई समूह मात्रै नभई दक्षिणवर्ती क्षेत्रको छिमेकी स्थानीय तह सुनवर्षी नगरपालिकाका माछापालक कृषक समेत आपूर्ति श्रृङ्खलाको विकासद्धारा बजारसम्मको सहज पहँुचमा जोडिएका छन् । ‘माछा क्लष्टर विकास प्रतिवेदन–२०७७’ तयार गरेर कार्यविधि बनाएको सुनवर्षी नगरपालिकाले उत्पादनका लागि कृषकलाई प्रोत्साहनका कार्यक्रम समेत ल्याएको छ ।
सुनवर्षीमा २६९ जना किसान प्रत्यक्ष माछा पालनसँग जोडिएका छन् । सुनवर्षी नगरपालिकाका प्रशासकिय अधिकृत पुरुषोत्तम घिमिरेका अनुसार पालिकामा ६८ हेक्टर क्षेत्रफलमा ३७५ पोखरीमा माछा पालिएको छ । प्रतिहेक्टर क्षेत्रमा ५.७ टन माछा उत्पादन हुने गरेकोले एउटै नगरपालिकाले ३८५ टन माछा उत्पादन गरेर ५९ प्रतिशत पालिका बाहिर पठाउँदै आएको अधिकृत घिमिरेको दावी छ । उत्पादन भएको माछामध्ये ३४ प्रतिशत स्थानीय बजारमा र ७ प्रतिशत उपभोग गर्ने गरेको उहाँको भनाई छ । किसानले सरदर २५० प्रतिरुपिँया केजीका दरले माछा बिक्री गरेर आम्दानी लिने गरेका छन् भने माछा पालनबाट मात्रै २७० जनाले रोजगारी पाएको र उनहिरुले वार्षीक ढेड लाख रुपिँया आर्जन गर्ने गरेको अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

समृद्धिका व्यवसाय विकास विशेषज्ञ राकेश झाका अनुसार सुनवर्षी नगरपालिकाले माछा क्लष्टर विकास सञ्चालन कार्यविधि जारी गरेको छ । यो कार्यविधि अनुसार स्थानीय तहमै कोष सञ्चालन गर्न सकिन्छ । मोरङको सुनवर्षी नगरपालिकामा माछा क्लष्टर विकास सञ्चालक कार्यविधि अनुसार माछा क्लष्टर विकास समिति, माछा क्लष्टर विकास कोष खडा गरिने छ । दिगो विकासका लागि कोषमा माछा बिक्री गर्ने किसानले प्रतिकिलो २ रुपिँया, खरिद गर्ने व्यापारीले १.५ रुपिँया र नगरपालिकाले दुवैले जम्मा गरे जति रकम जम्मा गर्ने प्रावधान राखिएको छ ।
अहिले समृद्धि कार्यन्वयनमा आएका प्रदेश १ का ८ जिल्ला, प्रदेश २ का ७ जिल्ला र बागमती प्रदेशको सिन्धुलीका कतिपय स्थानीय तहमा क्लष्टर सञ्चालन कार्यविधि बनाउने काम भईरहेको छ ।

आयोजनाको व्यवस्थापन कार्यालय प्रदेश–१ को इटहरीका प्रमुख शालिकराम दाहालका अनुसार प्रदेश–१ अन्तर्गतका ८ जिल्लाहरू (मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, खोटाङ्, उदयपुरका लागि कोशी–सगरमाथा करिडोर, र प्रदेश–२ अन्तर्गतका ७ जिल्लाहरू (सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा तथा बागमति प्रदेशको सिन्धुली सहित ८ जिल्लाका लागि जनकपुर करिडोर कार्यालयबाट काम भईरहेको छ । आयोजनाले १६ जिल्लाका २०८ पालिकामा आयोजना कार्यन्वयन गरिरहेको छ । कृषि उद्यमतर्फ हरियो तरकारी, माछा, दूध, सुगन्धित तेल र बाख्रा पालनका क्लष्टर बनाइएका छन् । आयोजना व्यवस्थापक प्रमुख दाहालका अनुसार १० हजार घरधुरीलाई जोड्ने लक्ष्य राखिएकोमा अहिले ८ हजार ७०० घरधुरीलाई सवलीकरणको काम सकिएको उहाँको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्