विराटनगर । देश हल्लाउने ३३ केजी सुन प्रकरणको समयमा मोरङमा प्रहरी उपरीक्षककोे जिम्मेवारी सम्हाल्नु भएका डिआईजी अरुणकुमार बिसीले नेपाल प्रहरी अन्तर्गत प्रदेश १ को कमाण्ड सम्हाल्ने जिम्मेवारीमा पाउनु भएको छ । बुधबार प्रदेश प्रहरी कार्यालय विराटनगरमा आईपुग्ने र बिहीबारदेखि प्रदेश कमाण्ड सम्हाल्ने तरखर र जोरजाममा डिआईजी बिसी हुनुहुन्छ ।
मोरङ प्रहरी प्रमुख भएर २०७४ साउनमा विराटनगर विमानस्थलबाट ‘पेन्ट सुर्कदैं’ कार्यलय पुग्नु भएका बिसी त्यसै दिनदेखि विराटनगर महानगरपालिकासहित जिल्लाभरको डुबानग्रस्त क्षेत्रमा उद्धार तथा व्यवस्थापनमा खटिनु परेको थियो । संयोगले यसवर्ष समेत वर्षात्कै समयमा प्रदेश प्रहरी कमाण्डको जिम्मेवारी सम्हाल्ने अवसर जुरेको हो ।
बिहीबारदेखि कार्यालयमा हाँजिर हुने कार्यक्रम छ, डिआईजी बिसीले भन्नुभयो–आउने जोरजाम गरिरहेको छु ।
२०७४ सालभर मोरङमा अनुसन्धानका लागि निक्कै चुनौतीपूर्ण घटनाहरु भएका थिए । २०७४ साउनदेखि २०७५ जेठसम्म मोरङ बस्दा निक्कै सनसनीपूर्ण घटनाहरुमाथिको अनुसन्धान, मोरङ केन्द्रित भएका थिए । अपराधसँग पेशा, धर्म र राजनीति समेत एकै पटक जोडिएका कारण कतिपय मामिलामा प्रहरीलाई निक्कै ठूलो चुनौती देखिएको थियो ।
सुन प्रकरणमा उर्लाबारीका सनम शाक्यको हत्या मोरङमै भएको थियो । प्रहरीका अधिकारीसहितको संलग्नतामा तस्करी भएको विषय बाहिर आएपछि जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा आरोपित व्यवस्थापन गर्नै हम्बेहम्बे परेको थियो । अनुसन्धानका लागि गृह मन्त्रालयले विशेष टोलि बनाएपनि त्यसको व्यवस्थापन गर्ने र मुद्दा चल्ने जिल्ला मोरङका प्रहरी प्रमुख सबैको केन्द्र भागमा देखिएका थिए । धर्मका नाममा आन्दोलन चर्काउन विराटनगरमै आचार्य श्रीनिवास भनाउँदा व्यक्तिको स्वेच्छिक गोली प्रकरणको अनुसन्धान समेत सहज विषय थिएन । त्यस बाहेक भारतका कुख्यात अपराधि बिनोद यादव (राठौर)ले विराटनगरका एकजना मेडिकल कलेजका सञ्चालकलाई ज्यान मार्नेसम्मको धम्की दिदैं आएका थिए । उनलाई समेत बिसीकै पालामा हतियारसहित पक्राउ गरिएको थियो । त्यसैबेला विराटनगर महानगरपालिका भित्रै बम विस्फोटको घटना समेत गराइएको थियो ।
प्रहरी संगठन भित्र शालिन र नम्र स्वभावका बिसी मोरङलाई बुझ्ने व्यक्तिमा समेत पर्नुहुन्छ । भद्र र शालिन भएकै कारण प्रहरी प्रधान कार्यालयको समेत माया बिसीले अरुको भन्दा धेरै पाउने गरेको सुरक्षा संयन्त्र भित्रका सदस्यहरुको भनाई छ । डिआईजी भएर १४ जिल्लाको सुरक्षा संयन्त्र परिचालन गर्न आउँदा यस पटक भने सीमा जोडिएका तीन जिल्लाका तस्करीका नाका सबैभन्दा चुनौती मानिएका छन् ।
सरकारले सीमा बन्द गर्ने निर्णयको बाबजुद पनि अवैध रुपमा स्याउ तस्करी गरेर भारत पु¥याइएको घटनाको प्रतिवेदन बिसीले सबैभन्दा पहिले बिहीबार खोल्नुपर्नेछ । त्यसमा संलग्न देखिएका दोषीलाई कारवाहीबाट डिआईजी बिसीको प्रदेश १ प्रहरी कार्यालयको कमाण्ड यात्रा सुरु हुनेछ । सरुवा भईसकेका डिआईजी इश्वरबाबु कार्कीले स्याउ प्रकरणको अनुसन्धानका लागि छानविन समिति बनाउनु भएको थियो ।
संघीय प्रहरी इकाई धरानका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र चौधरीको नेतृत्वले गत आइतबार प्रतिवेदन बुझाईसकेको छ । प्रतिवेदन आईसकेको छ तर नयाँ डिआईजी साब् नआई खोल्न नमिल्ने अवस्थामा छ, प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले भन्नुभयो–प्रतिवेदनका आधारमा प्रक्रियाहरु बढ्ने छन्, शिलबन्दी प्रतिवेदन उहाँले नै खोल्नुहुनेछ ।
स्याउ तस्करीको मामलालाई डिआईजी बिसीले कसरी बुझ्ने ? हुन् भन्ने विषय अहिले निक्कै चर्चामा रहेको छ । पछिल्लो एकवर्ष यता भारतसँग सीमा जोडिएका झापा, सुनसरी र मोरङमा प्रहरीसँगकै सेटिङमा तस्करीको सञ्जाल विस्तार भएको आरोप लाग्दै आएको छ । पछिल्लो स्याउ प्रकरणमा प्रदेश प्रहरी कार्यालयबाट खटाइएका सादा पोशाकका एकजना प्रहरी समेत संलग्न रहेको चर्चा आएसँगै आरोपको केहि हदसम्म पुष्टि हुने आधार देखिएको छ । प्रहरीलाई मिलाई दिने भन्दै सुनसरीका देवानन्द यादवले सात लाख रुपैँया लिएको विषय समेत अलिहे बाहिर आईसकेको छ । सीमा वारपार गराउने तस्करका कन्ट्याक्टरले प्रहरीको नाममा रकम बुझ्ने गर्दै आएका छन् ।
प्रदेश राजधानी समेत रहेको विराटनगर र मोरङका विभिन्न नाकाबाट प्रहरीकै योजनामा खुल्ला सीमानाका क्षेत्रमा मनपरी तस्करीका गौंडा खोलिएको दावी गरिन्छ । सादा पोशाकमा खटिने प्रहरीले तस्करसँग सेटिङ मिलाउने र संकलन भएको रकम प्रहरीका उच्च अधिकारी सम्मलाई बुझाउने विषय संस्थागत रुपमै छताछुल्ल हुँदै आएको छ ।
जिल्ला सुरक्षा समितिको एउटा बैठकमा मोरङमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङमा तस्करी हुने गरेको प्रश्न समेत उठेको स्रोतको दावी छ । गतल काम स्थापित हुने गरि भएको सेटिङले सीमा क्षेत्रमा खोलिएका गौंडाबाट तारनतार अवैध चोरी पैठारी र निकासी हुने गर्दै आएको छ ।
यस्तो बेला नयाँ डिआईजी र मोरङमा नयाँ आउन लाग्नु भएका एसपीका लागि सीमाभर खोलिएका तस्करीका गौंडा बन्द र तस्करी नियन्त्रण गर्नु मुख्य चुनौती मानिएको छ । तस्करहरुले नाका नै भागबन्डा गरेर लाइन चलाउने गरेका कारण जहदाको तारेगामा नाका नजिकै गडेरिया पछिल्लो समय तस्करीको नयाँ नाकाको रुपमा खुलेको छ । तारेगामा, गडेरिया, भुटाहा, मटेर्वा, दरैया, इस्लामपुर, भेडियारी, डुमरिया, चोप्राहाबाट तस्करीका सामान सहजै वारपार हुँदै आएका छन् ।