सनम रोका
कानेपोखरी । गाउँका किसानका लागि वर्षभरी हातमुख जोर्ने जोहोको तम्तयारीका लागि रोपाँई सुरु भएका छन् । जीविकोपार्जनसँग जोडिएको रोपाँई समाज आधुनिकतातर्फ अघि बढेसँगै खेति घट्ने तर किसानीमा सहभागी भएको देखाउनेको संख्या दैनिक बढ्दै गएपनि गाउँमा भने असली किसानलाई भ्याईनभ्याई हुने गरेको हो ।
खेतीयोग्य जमिनहरू प्लटिङमा परिणत हुँदै किसानी पेसाबाट हात झिक्नेहरूको संख्या बढ्दै गएको छ । बर्षभरी मेहेनत गर्यो, तर बालिनाली बेचेर आम्दानी लिने बेला बजार र मूल्यको समस्या झेल्ने किसानका लागि उत्सवमय असार मंसिरसम्म खुशी बेच्ने सपनाको रुपमा मानिन्छ । असारको सपना मंसिरसम्म जोगाउन किसानले खेप्नुपर्ने समस्याको विषयमा भने कमैमात्रै चासो राखिने गरिएको छ ।
यूवा जनशक्ति पलायन, सिमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत, आकासे खेतीमा निर्भर, सिँचाइको सुविधाको अभाव, उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा पनि गाउँका असली किसानका लागि असारे उत्सव चानचुनको लाग्दैन । हप्ता अगाडी देखि बाँझो मार्ने, गरा सम्ठ्याउने, आली लगाउने गरेर ठिक्क पारेको गराको हिलोमा ठूलो सपना देख्ने किसानहरुमा असारदेखिको उत्साह मंसिरसम्म उतिकै रहने गरेको छ ।
हिजो असार १५ गते कृषिलाई पेसा बनाउनेहरुको पर्वका दिन कानेपोखरीका किसानहरुले दिनभर धान रोपेर खुशी साटेका छन् । मानो रोपेर मुरि उब्जाउनेु महिनाको मध्य समयमा कानेपोखरी गाउँपालिकाले ३ माथिल्लो हरकपुर चौधरी टोलमा सामूहिक रोपाँई आयोजना गरिएको हो ।
हरकपुरमा किसानहरुले बिहानैदेखि रोपाँईमा सहभागी भएर सामूहिक धान रोपेका हुन् । धान रोपाँईमा ५० जना भन्दा धेरैको सहभागिता रहेको थियो । पालिका अध्यक्ष ताराबहादुर काफ्लेले साँच्चै किसानी परिवारको परिश्रम देखाउनका लागि मात्रै नहुने बताउनुभयो । उहाँले वार्षिक २ करोड रुपिँया बराबरको बजेट कृषि क्षेत्रमा बिनियोजन गरिएपनि अहिलेसम्म त्यसको उचित प्रतिफल आईनसकेको गुनासो गर्नुभयो । उहाँले निर्वाहमुखी खेति प्रणालीलाई व्यवसायीक बनाउनेतर्फ आवश्यक ध्यान दिनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि गाउँपालिकाले आवश्यक योजना र सहयोग गर्ने उहाँको भनाई थियो ।
कानेपोखरीका किसानले अहिले उत्सवको रुपमा धान खेति गरिरहेको कृषि विकास शाखाका प्रमुख सागर पौडेलले जानकारी दिनुभयो । उहाँले गाउँपालिका भित्र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत धान पकेट क्षेत्रसहित सहकारीको सामूहिक धान रोपाँई, समूहगत धान रोपाँई र व्यक्तिगत धान रोपाँईको काम धमाधम भईरहेको बताउनुभयो ।