झापामा पनि अत्यधिक वर्षाले बाढीको जोखिम

<span class='c1'>झापामा पनि अत्यधिक</span> <span class='c2'>वर्षाले बाढीको जोखिम</span>

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले झापाका नदीहरुमा आज बाढी आउने पूर्वानुमान गर्दै नदी आसपासमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले आज बिहान जारी गरेको सतर्कता सूचनामा इलाम र झापाको धेरै स्थानमा निरन्तर भारी वर्षा भइरहेको जनाउँदै नदी आसपासमा आउन सक्ने बाढीबाट सतर्क रहन चेतावनी दिएको हो ।
मेची, कनकाई, बिरिङ, निन्दा र रतुवा नदीमा बाढीको सम्भावना रहेको विभागले जनाएको छ । नदी आसपासमा बाढी आउने र होचा स्थानमा डुबान हुन सक्ने बताइएको छ ।
भद्रपुरको चन्द्रगढी विमानस्थलस्थित वर्षा मापन उपकरणले झापामा २४ घण्टामा ११६ दशमलब ६ मिलिमिटर वर्षा भएको रेकर्ड गरेको छ । यसैगरी सोही अवधिमा इलामको सोक्तिम टी इस्टेटमा ५५ दशमलब ८ मिलिमिटर र माइपोखरीमा ५० दशमलव २ मिलिमिटर र कन्याम टी इस्टेटमा ५० मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । झापामा सबैभन्दा बढी बाढीको जोखिम कन्काई नदी आसपासमा रहेको छ । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार पूर्वानुमानमा आधारित आपतकालीन बाढी पूर्वतयारी अन्तर्गत कन्काई जलाधारका चार पालिका कन्काई, झापा, शिवसताक्षी र गौरीगञ्जमा एक हजार ६६५ घरधुरी बाढीको उच्च जोखिममा छन् ।
बाढीबाट उच्च जोखिममा रहेका घरधुरीको डिजिटल रजिस्ट्रेसन गर्नका लागि शुक्रवार सो जलाधार क्षेत्रमा पर्ने चार वटै पालिकामा रेडक्रस झापाले समन्वय बैठक गरेको थियो । विगत दुई दिनदेखि लगातार वर्षा भइरहेको कारण नदीहरुमा पानीको बहाव बढ्न थालेको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताउनुभयो । उहाँले नगरको वडा नं. ४ को भेलामुनी र वडा नं. ५ को हात्तीसार क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेको जानकारी दिनुभयो । वडा नं. ६ को ढकालपुर, ७ को झारबारी, ९ को वैशाबाडी र १० को कन्काई पुल नजिक बाढीले क्षति पुरयाउन सक्ने आँकलन गरिएको उहाँको भनाइ छ ।
आज बिहानदेखि झापाका सबै क्षेत्रमा अत्यधिक वर्षा भइरहेको छ । ठूला नदी मात्र होइन, साना खोला र खोल्सामा समेत बाढी आउन थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्