निषेधाज्ञाकै अवधीमा सात हजार योगदानकर्ता सामाजिक सुरक्षा कोषमा जोडिए

निषेधाज्ञाकै अवधीमा सात हजार योगदानकर्ता सामाजिक सुरक्षा कोषमा जोडिए

विराटनगर । योगदानकर्ताले निवृत्तिभरण (पेन्सन) र अवकाशको सुविधा रोज्न पाउने सुविधाका कारण प्रदेश १ मा कोरोना संक्रमण र निषेधाज्ञाको अवधीमा पनि सामाजिक सुरक्षा कोषमा जोडिनेको संख्या उत्साहजनक भएको छ । कोषमा योगदान गर्ने श्रमिकले पेन्सन वा अवकाश दुवै सुविधा लिन पाउने प्रावधान सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि–२०७५ मा समेटिएपछि योगदानकर्तामा उत्साहित भएका हुन् ।

प्रदेश १ मा गत बैशाख १४ गते कोषको इकाई कार्यालय विराटनगरमा स्थापना गरिएको थियो । लगतै निषेधाज्ञा सुरु भएपनि यसबीचको अवधीमा मात्रै सात हजार १२७ योगदानकर्ता सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका छन् । यस अगाडी योगदानकर्ताले पेन्सन वा अवकाशमध्ये एउटा मात्रै रोज्न पाउने बाध्यकारी नियमलाई सामाजिक सुरक्षा योजना सञ्चालक कार्यविधि–२०७५ को दोस्रो संशोधनबाट सच्याइएको थियो । गत माघ २९ गतेबाट संशोधनसहितको कार्यविधि कार्यन्वयनमा आएको थियो ।

कोषको प्रदेश १ स्थित इकाई कार्यालय विराटनगरका संयोजक महेश प्रधानका अनुसार प्रदेश १ मा एक हजार ८६० रोजगारदाताले २६ हजार ८९२ योगदानकर्तालाई सूचिकृत गरेका छन् । इकाई कार्यालय विराटनगरमा स्थापना भएपछि रोजगारदाता र योगदानकर्ता सूचिकृत हुनेको संख्या बढ्दै गएको हो ।
सरकारले समेत असार मसान्तसम्म योगदानकर्ता सूचिकृत हुँदा कोषमा जम्मा गर्नुपर्ने ३१ प्रतिशत रकम भुक्तानी गर्ने योजना अगाडी सारेको थियो । त्यसले समेत उत्साह थपिएको ट्रेड यूनियनका प्रतिनिधिहरुको बुझाई छ । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)का अध्यक्ष किशोर धमलाले सामाजिक सुरक्षा कोषमा रोजगारदाता तथा योगदानकर्ता आवद्ध गराउन ढिलाई भईरहेको भएपनि पछिल्लो समय केहि उत्साह देखिएको बताउनुभयो । उहाँले कोषको सञ्चालन मजदुरमुखी बन्दै जाँदा त्यसले राहत दिनसक्ने बुझाई योगदानकर्तामा बढ्दै गएको बताउनुभयो ।

कार्यविधि संशोधनपछि बृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा हुने योगदानकताएको आधारभूत पारिश्रमिकको २८.३३ प्रतिशत रकमलाई दुई भागमा वर्गीकरण गरेर २० प्रतिशत पेन्सन र ८ प्रतिशत अवकाश सुविधा योजनामा रकम जम्मा हुने प्रावधान कायम गरिएको छ । योगदानकर्ताले चालु असार मसान्त भित्र कोषमा रकम जम्मा गर्दा पेन्सनवापत जम्मा हुने २० प्रतिशत रकमलाई अवकाश सुविधा योजनामा राखिने नयाँ प्रावधानमा उल्लेख छ । कोषमा रोजगारदाताका तर्फबाट २० र योगदानकर्ताको ११ प्रतिशत गरि ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने हुन्छ ।

नयाँ प्रावधानले कोषमा जम्मा भएको रकम जागिर छोड्न चाहेको खण्डमा एकमुष्ट निकाल्न पाउने सुविधा दिएको इकाई संयोजक प्रधानले बताउनुभयो । यस अगाडी ६० वर्ष उमेर नपुग्दासम्म झिक्न नपाउने प्रावधान रहेको थियो ।
देशभरीमा १४ हजार ८६१ रोजगारदाताले २ लाख ६२ हजार २९८ योगदानकर्तालाई कोषमा आवद्ध गराएका छन् । रोजगारदाता र योगदानकर्ताले कोषमा जम्मा गरेको रकम ६ अर्ब ६१ करोड पुगेको छ । हालसम्म ५ हजार ३५२ जनाले भुक्तानी दावी गरिसकेका छन् । कोषले भुक्तानी दावी गर्नेहरुका लागि १३ करोड २५ लाख रपिँया भुक्तानी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्