मधेसको कथामा चलचित्र ‘राजागञ्ज’

<span class='c1'>मधेसको कथामा</span> <span class='c2'>चलचित्र ‘राजागञ्ज’</span>

काठमाडौँ । नेपाली चलचित्र निर्देशन गरेर अन्तरराष्ट्रिय रूपमा परिचित निर्देशक दीपक रौनियार निर्देशित ‘राजागञ्ज’ मधेसको कथामा तयार गरिएको छ । हालै आयोजना गरिएको पत्रकार भेटघाटमा निर्देशक रौनियारले आफूले झन्डै आठ वर्षअगाडि सोचेको कथालाई चलचित्रमा ल्याएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो मेरो भोगाइ पनि हो तर यसलाई प्रहरीको कथामा रहेर पटकथा तयार गरेको छु । मधेसको संस्कृति, विविधता, विभेदलगायत घटनाक्रमलाई यसमा देखाइएको छ । यो एउटा महिला प्रहरी अधिकृतको कथा हो ।”

निर्देशक रौनियारले चलचित्रको विषय सोचेपछि धेरै महिला प्रहरीलाई भेटेर गरिएको कुराकानीका आधारमा ‘पूजा’ नामक पात्रको निर्माण गरिएको बताउनुभयो । उहाँले नेपालबाहिर यस चलचित्रलाई ‘पूजा सर’ कै नाममा प्रदर्शन गर्दै हुनुहुन्छ । यस चलचित्रमा सात महिला पात्र केन्द्रीय भूमिकामा रहेकी छन् । “मधेसमा महिला कार्यकरी हुँदाको परिस्थिति र उसले भोग्नुपर्ने समस्यालाई यसमा देखाउने कोसिस गरेका छौँ । विश्वका ठूलाठूला महोत्सवमा छानिएको चलचित्र बल्ल हामीले नेपाल ल्याएका छौँ । यो हाम्रो समाजकै एउटा कथा वा घटना हो”, उहाँले भन्नुभयो ।

चलचित्रको केन्द्रीय भूमिकामा रहेका कलाकारमध्ये एक अभिनेता दयाहाङ राई हुनुहुन्छ । उहाँले व्यावसायिक सफल चलचित्र ‘कबड्डी’ र ‘जारी’ सँगै अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा छानिएका चलचित्र ‘हाइवे’, ‘सेतो सूर्य’, ‘गाउँ आएको बाटो’ लगायतमा पनि काम गरिसक्नुभएको छ ।

कलात्मक र व्यावसायिक दुवै किसिमका चलचित्रमा अभिनय गर्न आफूले सोहीअनुसार तयारी गरेको अभिनेता राईले बताउनुभयो । “एकै किसिमको चलचित्रमा प्रस्तुत भएमा त्यसले विविधता दिन सक्दैन । हामीले केही समययता अब्बल चलचित्र बनाइरहेका छौँ, जसले अन्तरराष्ट्रिय महोत्सवमा वाहवाही पाइसकेको छ । त्यस्ता चलचित्रमा मलाई सुहाउँदो पात्र लिएर आउने निर्माता र निर्देशकलाई म नकार्न सक्दिन किनकि देशबाहिर चलचित्र होस् या खेलकुद देशलाई प्रतिनिधित्व गरेर गइरहेका हुन्छौँ”, उहाँले भन्नुभयो ।

अभिनेत्री ऋचा शर्माले चलचित्रमा आउनैपर्ने मधेसको एउटा कथा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो विषयमा चलचित्र बन्नु आवश्यक थियो । मधेसको कथामा केन्द्रित यस चलचित्रको कन्द्रीय भूमिकामा भने महिला छन्, सात महिलाले कथा भनेका छौँ । यसले मधेसको विविधतालाई चलचित्रमार्फत धेरै दर्शकसम्म पु¥याउँछ ।”

चलचित्रमा अभिनेता राईसँगै आशा मगराती, विजय बराल, गौमाया गुरुङ, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, नीरज श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ । नेपलमा सार्वजनिक प्रदर्शन अगावै भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा ‘राजागञ्ज’ छनोट भएर प्रदर्शन भइसकेको छ ।

नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथा पनि यसमा समेटिएको निर्मातामध्येका एक रामबाबु गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तराईको सौन्दर्य, संस्कृतिसँगै त्यहाँ भएको एउटा घटनाक्रमलाई हामीले चलचित्रको विषय बनाएका छौँ । यसलाई घटेका घटनाहरूबाट प्रेरित भएर तयार गरेका हौँ । विश्वभर महोत्सवमा सहभागी भएर रुचाइएको चलचित्र नेपाली दर्शकको प्राथमिकतामा पर्नेमा विश्वस्त छौँ ।” यो चलचित्र निर्माणमा भारतीय निर्देशक अनुराग कश्यप, निर्देशक रामबाबु गुरुङ, अभिनेता दयाहाङ राईले सहकार्य गर्नुभएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्