काठमाडौँ
कोरोना कारण अधिकांश आर्थिक गतिविधि ठप्प रहँदा पनि अर्थतन्त्रका लागि विप्रेषण निकै सहयोगी देखिएको छ । महामारीको अवस्थामा पनि नेपाल भित्रिने कुनै कमी आएको छैन । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७७/७८ को ११ महिनाको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदन अनुसार गत जेठको तुलनामा १२.६ प्रतिशतले बढेर नेपाल भित्रने विपे्रषण आठ खर्ब ७० अर्ब ९४ करोड रुपियाँ पुगेको छ ।
मूल्यवृद्धि चर्को
घिउतेलको मूल्य ३१ प्रतिशतसम्म बढेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको जेठसम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार जेठमा घिउतेलको मूल्य ३०.९८ प्रतिशतले बढेको उल्लेख छ ।
कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाकै अवधिमा खासगरी खानेतेलको मूल्य अत्यधिक बढेको थियो । राष्ट्र बैङ्कले गत आर्थिक वर्ष २०७६/७७ को जेठको तुलनामा चालू आवको जेठसम्म खाद्य तथा पेय पदार्थको मूल्य ६.२२ प्रतिशतले बढेको जनाएको छ । यद्यपि गैरखाद्य तथा सेवा समूहको भने २.६६ प्रतिशतमा मूल्य वृद्धिदर रहेको प्रतिवेदनमा उल्लेख छ ।
घिउ,तेल बाहेक खाद्यतर्फ सुर्तीजन्य पदार्थको ९.८४, गैर मदिराजन्य पेय पदार्थको ९.८१ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । यातायात क्षेत्रको मूल्य वृद्धि भने ९.७० प्रतिशत रहेको छ । समग्रमा जेठमा उपभोक्ता मूल्य वृद्धि ४.१९ प्रतिशत रहेको देखाइएको छ । गत जेठमा यस्तो वृद्धिदर ४.५४ प्रतिशत थियो ।
क्षेत्रगत हिसाबले हिमालमा सबैभन्दा कम मूल्य वृद्धि भएको देखिएको छ । प्रतिवेदन अनुसार हिमालमा १.७२ प्रतिशत मात्र मूल्य वृद्धि हुँदा काठमाडौँ उपत्यकामा ३.८७, पहाडमा ४.३२ र तराईमा ४.४७ प्रतिशत मूल्य वृद्धि
भएको छ ।
घाटामा शोधनान्तर स्थिति
निषेधाज्ञा तथा बन्दाबन्दीका कारण अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा अधिक बचतमा रहेको शोधनान्तर स्थिति चालू आवको जेठसम्म आउँदा घाटामा पुगेको छ । राष्ट्र बैङ्कका अनुसार देशको शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपियाँले घाटामा रहेको छ । जब कि अघिल्लो जेठमा शोधनान्तर स्थिति एक खर्ब ७९ अर्ब ३७ करोडले बचतमा थियो । आयात बढेको तर विदेशबाट हुने आम्दानी सङ्कुचित हुन थालेपछि शोधनान्तर घाटामा पुगेको देखिन्छ ।
जेठसम्म आयात २५.७ प्रतिशतले बढेर १३ खर्ब ८३ अर्ब ३६ करोड रुपियाँ नाघेको तथ्याङ्क छ । समीक्षा अवधिसम्म निर्यात ३७.७ प्रतिशतले बढेर एक खर्ब २१ अर्ब रुपियाँ पुगेको छ । प्रतिवेदन अनुसार चालू खाता घाटा पनि फराकिलो भएको छ । अघिल्लो जेठमा ६२ अर्ब ५९ करोड रुपियाँले मात्र घाटामा रहेको चालू खाता समीक्षा अवधिमा दुई खर्ब ९३ अर्ब ९७ करोड रुपियाँले घाटामा छ । विदेशी विनिमय सञ्चिति पनि केही घटेको छ । २०७७ जेठमा १४ खर्ब एक अर्ब रुपियाँभन्दा बढी विदेशी मुद्रा सञ्चिति रहेकामा २०७८ जेठमा घटेर १३ खर्ब ६५ अर्ब ६५ करोड कायम भएको छ ।
-गोरखापत्र अनलाइन