आयकर र भ्याटको साथले राजश्व कार्यालय विराटनगरको लक्ष्य भन्दा बढी असुली

आयकर र भ्याटको साथले राजश्व कार्यालय विराटनगरको लक्ष्य भन्दा बढी असुली

विराटनगर । संकटको समयमा समेत मोरङका करदाताले कर बुझाउन उत्साहजनक सहभागीता देखाएका छन् । आन्तरिक राजश्व कार्यालय विराटनगरले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७÷२०७८ मा २८ प्रतिशतले कर असुली बृद्धि गरेको छ । गत आवका लागि ८ अर्ब ८४ करोड ४६ लाख २२ हजार लक्ष्य तोकिएकोमा ८ अर्ब ९३ करोड ३७ लाख ७६ हजार अर्थात समग्रमा १०१ प्रतिशत असुली भएको हो ।

कोरोना संक्रमणको सन्त्रासका कारण गत वर्षपनि अघिल्लो वर्ष झैं अन्तः शुल्क भने प्रभावित देखिएको छ । अन्तःशुल्कतर्फ ६४ प्रतिशत अर्थात ४ अर्ब ५१ करोड ३७ लाख ४ हजारको लक्ष्यमा २ अर्ब ८७ करोड २८ लाख ५० हजार रुपिँया मात्रै संकलन भएको छ । कार्यालयका प्रमुख कर अधिकृत बिमल सापकोटाले अन्तः शुल्कतर्फ न्यून असुली भएपनि आयकरतर्फ २ अर्ब ७१ करोड १२ लाख ३० हजारको लक्ष्यमा ३ अर्ब ५२ करोढ १९ लाख १४ हजार र मूल्य अभिबृद्धितर्फ १ अर्ब ६१ करोड ९६ लाख ८८ हजारको लक्ष्यमा २ अर्ब ५३ करोड ९० लाख १२ हजार रुपिँया असुली भएको जानकारी दिनुभयो । आयकरतर्फ १३० प्रतिशत र भ्याटतर्फ १५७ प्रतिशत असुली भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७६÷२०७७ मा लक्ष्यको ६९ प्रतिशत मात्रै असुली भएको थियो । अघिल्लो आर्थिक वर्षका लागि १० अर्ब १२ करोड ५९ लाख २ हजार लक्ष्य निर्धारण गरिएकोमा ६ अर्ब ९५ करोड ७९ लाख ७४ हजार मात्रै असुली भएको थियो ।

प्रमुख कर अधिकृत सापकोटाले मोरङका करदातामा कर सचेतना रहेको बताउनुभयो । सचेत करदाता भएका कारण संकटमा समेत राज्यलाई सहयोग भएको उहाँको बुझाई छ । निषेधाज्ञाको अवधीमा समेत करदाताको उत्साहका कारण असार महिनामा १६१ प्रतिशत कर संकलन भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्