विराटनगरका उद्योगी–व्यवसायीलाई चुनाव लाग्यो, अध्यक्षमा रिजाललाई नेतृत्व हस्तान्तरण गर्दै मुन्दडा

विराटनगरका उद्योगी–व्यवसायीलाई चुनाव लाग्यो, अध्यक्षमा रिजाललाई नेतृत्व हस्तान्तरण गर्दै मुन्दडा

विराटनगर । मोरङ व्यापार संघको ६५ औं साधारणसभा आगामी साउन १७ गते गर्ने निर्णयसँगै नयाँ नेतृत्वका लागि चर्चा सुरु भएको छ । उद्योगी–व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य संघ अर्थात् मोरङ व्यापार संघ स्थापनाको ७० वर्ष पुगेको छ ।
नेपालमा ऐतिहासिक र पहिलो उद्योग वाणिज्य संघको रुपमा परिचित व्यापार संघले ३३ औं कार्यकारिणी समितिको निर्वाचनका लागि साधारणसभाबाट निर्वाचन समिति गठन गर्नेछ । ६५ औं साधारणसभाले निर्वाचन समिति बनाएपछि संघको कार्यकारिणी सदस्यको निर्वाचनको मिति तय हुनेछ । त्यो निर्वाचनबाट निर्वाचित सदस्यमध्येबाट अध्यक्षसहितका पदाधिकारी चयन हुनेछन् ।

साधारणसभाको मिति तय भएसँगै व्यापार संघमा नेतृत्वको चर्चा सुरु भएको छ । ३२ औं कार्यसमितिको रुपमा निर्वाचित अध्यक्ष प्रकाश मुन्दडाको कार्यकालपछि वरिष्ठ उपाध्यक्ष नविन रिजाललाई जिम्मेवारीमा ल्याउने कसरत सुरु भएको हो । २०६३ सालदेखि अनौपचारिक र २०६५ सालदेखि औपचारिक रुपमा मोरङ व्यापार संघ प्रवेश गरेका रिजाल १४ वर्षपछि अध्यक्षको दाबेदारको रुपमा अगाडी सारिएका हुन् ।
उनी २८ र २९ औं कार्यसमितिमा सदस्य, ३० औं कार्यसमितिमा प्रवक्ता, ३१ औं कार्यसमितिमा महासचिव र ३२ औं कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष भईसकेका छन् । मैले बिदाई लिदैं गर्दा वरिष्ठ उपाध्यक्ष रिजालजीलाई अध्यक्षको जिम्मेवारी छोड्न चाहेको छु, संघका अध्यक्ष प्रकाश मुन्दडाले भन्नुभयो–व्यापारीको संस्था निर्वाचनमा जानु हुन्न भन्ने मान्यता यस पटक स्थापित गर्नेछौं ।

संघको नेतृत्वमा हुँदा रिजालको अगुवाईमा निक्कै महत्वपूर्ण कार्यक्रमहरु आयोजना भएका थिए । विगतलाई सम्झदाँ रिजाल भिजन भएका व्यक्तिमा चिनिनुहुन्छ । विराटव्यापार महोत्सवको संयोजक र विराट गोल्डकप आयोजक समितिको संयोजकको जिम्मेवारीमा हुँदा प्रशंसा गर्न लायक काम भएको थियो । शहीद रंगशालामा फ्लडलाइट अवधारणा रिजालकै थियो । बाँस ठड्याएर भएपनि फ्लडलाइटमा फुटबल प्रतियोगिता गराउन सफल भएपछि अहिले स्थायी संरचना पाउन सफल भएको हो ।

अध्यक्षको रुपमा दावी प्रस्तुत गर्दै रिजालले भन्नुभयो–आगामी कार्यकाल जिम्मेवारी पाएछु भने केहि नयाँ गरेर देखाउने छु । अहिलेसम्म सदस्यहरुको माया पाउँदै आएकोले आगामी कार्यकालका लागि अध्यक्षमा समेत माया पाउने विश्वासमा छु ।

मुन्दडाको नेतृत्वमा रहेको ३२ औं कार्यसमितिले बैंकको ब्याजदर विरुद्धको आवाजलाई निक्कै बुलन्द पारेको थियो । त्यस बाहेक भारतको मिरगञ्ज पुल निर्माणमा नेपाल सरकारसँग आग्रह गर्ने र भारतीय पक्षसँग लबिङमा सक्रियता देखाएको थियो । यसैगरी सुनसरीको अमडुवामा स्थापना गर्ने भनिएको क्रस बोर्डर औद्योगिक क्षेत्र निर्माण, कटहरीमा बिद्युत स्टेशन निर्माण, कोरोना संक्रमितको उपचारका लागि कोशी कोभिड उपचार केन्द्र निर्माणका लागि संस्थागत पहल गरेको थियो । मुन्दडाले उद्योग संगठन मोरङसँग २० वर्षदेखिको टसललाई न्यून गर्दै सहकार्यलाई जोड दिएका थिए । एउटै उद्देश्य भएका उस्तै संस्थाबीचको असमझदारी हटाउँदा नै निर्धारित लक्ष्यमा पुग्न सकिन्थ्यो, अध्यक्ष मुन्दडाले भन्नुभयो–आगामी कार्यकाल समेत यस्तै गरि अगाडी बढ्नेछ ।

यद्यपी मुन्दडा अध्यक्ष हुँदाहुँदै नेपाल उद्योग परिसंघ (सिआईएन) मा आवद्ध भएसँगै मोरङ व्यापार संघलाई उपेक्षा गरेको आरोप समेत लाग्ने गरेको छ । जिल्लाबाट प्रदेशस्तरका व्यवसायीको हितका लागि आफूले सिआईएन रोजेको मुन्दडाले दावी गरे ।
आफ्नो कार्यकाललाई पूर्ण बनाउन आगामी कार्यसमितिलाई सर्वसम्मत बनाउने उद्देश्य राखेको बताउँदै अध्यक्ष मुन्दडाले सिआईएनमा गएपनि मोरङ व्यापार संघलाई नछोड्ने दावी गर्नुभयो । मुन्दडा अध्यक्ष हुँदा गर्नुपर्ने ६५ औं वार्षिक साधारणसभा हुनसकेन । दुईवर्षमा साधारणसभा हुन लागेका कारण ६६ औं हुनुपर्ने भएपनि यसलाई ६५ औं नै मानिएको हो । कोरोना संक्रमणका कारण साधारणसभा गर्न नसकिएको बताउँदै अध्यक्ष मुन्दडाले कोरोनाको अर्को वेब आउनसक्ने भएकोले हतारमै कार्यक्रम निर्धारण गरिएको बताउनुभयो । अहिलेको साधारणसभाका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिईसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्