विराटनगरका एक लाख नागरिकले पाउने भए स्वच्छ खानेपानी, जापानको सहयोगमा बनेको आयोजना हस्तान्तरण

<span class='c1'>विराटनगरका एक लाख नागरिकले पाउने भए स्वच्छ</span> <span class='c2'>खानेपानी, जापानको सहयोगमा बनेको आयोजना हस्तान्तरण</span>

प्रेम देवान,
विराटनगर ।
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ। करिब २ अर्ब २९ करोड जापानी येनको लागतमा निर्माण सम्पन्न भएको आयोजनाबाट विराटनगरका करिब ९३ हजारदेखि एक लाख नागरिक लाभान्वित हुने भएका छन् । विराटनगर महानगरपालिका–५ स्थित दामाबन्दीमा शुक्रबार बिहान आयोजित कार्यक्रममा आयोजनाको उद्घाटन तथा हस्तान्तरण गरिएको हो।


हस्तान्तरण कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले खानेपानी सुधार आयोजना विराटनगरका लागि दीर्घकालीन महत्वको परियोजना भएको बताउनुभयो। उहाँले आयोजनाबाट महानगरका १५ वटा वडाका नागरिकले स्वच्छ तथा सुरक्षित खानेपानीको सुविधा पाउने बताउँदै बाँकी वडालाई समेत समेट्ने गरी दोस्रो चरणको आयोजना सञ्चालन गर्न जापान सरकारसँग आग्रह गर्नुभयो। नेपालका लागि जापानी राजदूत तोरु माइदाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव मनाइरहेको वर्षमा आयोजना सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। जापान लामो समयदेखि नेपालको विकास साझेदार रहँदै आएको उल्लेख गर्दै उहाँले मेलम्ची खानेपानी र पोखरा खानेपानी सुधार आयोजनामा समेत जापानले सहयोग गरेको स्मरण गर्नुभयो।

विराटनगरमा अर्को महत्वपूर्ण खानेपानी आयोजना सम्पन्न गर्न पाउँदा जापान सरकार गौरवान्वित भएको उहाँको भनाइ थियो। नेपाल खानेपानी संस्थानले पाइप जडानको काम पूरा गरेपछि प्रणाली औपचारिक रूपमा सञ्चालनमा आउने र विराटनगरको कुल जनसङ्ख्याको करिब ४० प्रतिशत अर्थात् ९३ हजार नागरिकले स्वच्छ तथा सुरक्षित खानेपानी पाउने उहाँले बताउनुभयो।


जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रतिनिधि इन्डो केइले सुरक्षित र भरपर्दो खानेपानी आपूर्ति जनस्वास्थ्य सुधारका लागि मात्र नभई नागरिकको जीवनस्तर उकास्न, आर्थिक गतिविधि बढाउन र दिगो सहरी विकासका लागि समेत महत्वपूर्ण रहेको बताउनुभयो।

नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारले आयोजनाले विराटनगरको खानेपानी आपूर्ति प्रणालीमा सुधार ल्याउने विश्वास व्यक्त गर्दै बाँकी वडालाई समेत समेटेर दोस्रो चरणको परियोजना सञ्चालन गर्न आग्रह गर्नुभयो।

सन् २०२४ जुन २५ मा निर्माण सुरु भएको आयोजना सन् २०२६ अक्टोबर १४ मा सम्पन्न भएको हो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक सहयोगमा जापानको एमआर शिमिजु कर्पोरेसनले नेपाल खानेपानी संस्थानअन्तर्गत आयोजना निर्माण गरेको हो।

आयोजनाअन्तर्गत विराटनगरमा ५६ दशमलव २६ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ। र्‍यापिड स्यान्ड फिल्टर प्रविधिमा आधारित चारवटा खानेपानी प्रशोधन केन्द्र, चारवटा पानी भण्डारण ट्याङ्की, तिनसँग सम्बन्धित पम्प भवन, एउटा ओभरहेड पानी ट्याङ्की तथा एउटा प्रशासनिक भवन निर्माण गरिएको छ।

त्यसैगरी, परियोजनाअन्तर्गत एक हजार १०८ घरधुरीमा खानेपानीका धारा जडान गरिएको छ। आयोजनाको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी नेपाल खानेपानी संस्थानले पाएको छ।

आयोजनाले विराटनगरको खानेपानी आपूर्ति प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउनुका साथै नागरिकलाई स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्