पाठ्यपुस्तक पाइए पनि पढाइ भएन

पाठ्यपुस्तक पाइए पनि पढाइ भएन

कालीकोट

कालीकोटका नौवटै स्थानीय तहका सामुदायिक विद्यालयका सबै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराइसक्दा पनि पढाइ हुन सकेको छैन। जिल्लामा कोभिड–१९ को महामारी कारण विद्यालय बन्द भएपछि बैकल्पिक माध्यमलाई प्रयोगमा ल्याउन नसक्दा करीब ७० हजार विद्यार्थीको पढाइ हुन नसकेको हो ।

वैशाखबाटै विद्यालय नखुलेका कारण विद्यालयले पाठ्यपुस्तक वितरण गरे पनि पढाइ कसरी गर्ने भन्नेमा अन्योल रहेको खाँडाचक्र नगरपालिका–१ पञ्चदेवल माविका सहायक प्रधानाध्यापक चन्द्रप्रसाद कोइरालाले बताउनुभयो । “पढाइ कसरी गर्ने भन्नेबारे अहिले पनि अन्योल छ । कोभिड–१९ को जोखिम अझै छ”, उहाँले भन्नुभयो, “विद्यालय नखुल्दा विद्यार्थीको पढाइमा बाधा पुगेको छ ।”

विद्यार्थीको पढाइका लागि वैकल्पिक माध्यम पनि सहज नभएकाले समस्या भएको नरहरिनाथ गाउँपालिका–९स्थित जनप्रभात माविका प्रधानाध्यापक निर्मलकुमार विष्टले जानकारी दिनुभयो । “विद्यार्थीलाई पढाउनका लागि वैकल्पिक माध्यम बनेको न इन्टरनेट छ भने नत विद्यार्थीलाई भौतिक उपस्थितिमा पढाउने अवस्था छ ।”

विद्यालय नखुले पनि विद्यार्थीहरुलाई घरघरमा नै पुगेर पाठ्यपुस्तक वितरण गरिएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले जानकारी दिनुभयो । “विद्यालय खुल्ने या नखुल्ने अहिले नै भन्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “विद्यार्थीले स्वअध्ययन गरून् भनेर घरघरमा नै पुगेर पाठ्यपुस्तक वितरण गरिएको छ ।”।

गाउँमा इन्टरनेट सुविधा नहुँदा अनलाइन कक्षा सञ्चालन गर्न नसकिएको र कोरोना सङ्क्रमण फैलने जोखिमीका कारण विद्यालय खोल्न समस्या भएको पचालझरना गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले बताउनुभयो । “अनलाइन कक्षा सञ्चालनबारे छलफल भए पनि सबै ठाउँमा इन्टरनेट र टेलिफोन छैन”, उहाँले भन्नुभयो, “यो वर्ष पनि विद्यार्थीको पठनपाठनमा अन्योल कायमै छ ।”

जिल्लाका सामुदायिक विद्यालयका शिक्षकले सबै विद्यार्थी र शिक्षकमा कोरोना खोप नलगाएसम्म पठनपाठन हुन नसक्ने जनाएका छन् । पठनपाठनका लागि शिक्षक र विद्यार्थीहरुलाई कोभिड–१९ को खोप पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जिल्ला शिक्षक महासङ्घका सदस्य पदमबहादुर मल्लले जोड दिनुभयो । “विद्यार्थी र शिक्षकलाई खोप नदिए पढाउन सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “कोरोना खोपको पहिलो प्राथमिकतामा शिक्षक र विद्यार्थीलाई राखिनुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्