विराटनगर भन्सारबाट १५ अर्बको प्रशोधित भटमास तेल निर्यात

विराटनगर भन्सारबाट १५ अर्बको प्रशोधित भटमास तेल निर्यात

विराटनगर । नेपालबाट भारत निकासी हुँदै आएको प्रशोधित पामोलिन तेलमा रोक लागेपछि नेपालका उद्योगीले भटमासको तेल निर्यातलाई प्राथमिकतामा राखेका छन् । भटमासको तेल निर्यातलाई प्राथमिकतामा राखिएसँगै भन्सार कार्यालय विराटनगरबाट गत आर्थिक वर्ष २०७७÷२०७८ मा सबैभन्दा बढी निर्यात हुनेमा प्रशोधित भटमासको तेल पहिलो सूचिमा देखिएको हो ।

मोरङ र सुनसरीमा सञ्चालित स्वस्तिक आयल, क्वालिटी आयल, पशुपति खाद्यतेल उद्योग, बाबा आयल, वाग्मती आयल, श्रीराम रिफाइनरी र एभरेस्ट सोल्भेन्टले साढे १५ अर्बभन्दा बढीको भटमासको तेल निर्यात गरेको पाइएको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार गत आवमा १५ अर्ब ६७ करोड ३१ लाख बराबरको ९० हजार ३१० मेट्रिक टन भटमासको तेल निर्यात गरिएको छ ।

निर्यात मात्रै नभई आयाततर्फ मूल्यका आधारमा सबैभन्दा बढी पैठारी हुनेमा पनि भटमासको कच्चा तेल भएको छ । उक्त आवमा १४ अर्ब ९० करोड ५६ लाख मूल्यको १ लाख २० हजार टन भटमासको कच्चा तेलको पैठारी गरिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
विराटनगर भन्सार हुँदै निकासी हुने दोस्रो वस्तुमा सिन्थेटिक यार्न छ । करिडोरको एक मात्र उद्योग रिलाइन्स स्पिनिङले सिन्थेटिक यार्न निकासी गर्दै आएको छ । रिलाइन्सले ५ अर्ब ४९ करोड ८ लाख मूूल्यको २१ हजार १५६ टन धागो निकासी गरेको छ ।

यसैगरी जुुट गार्मेन्ट तेस्रो नम्बरमा निकासी हुने वस्तुको सूचिमा रहेको छ । गत आव ४ अर्ब २९ करोड २ लाखको ९ करोड ४५ लाख ५७ हजार वर्गमिटर जुट गार्मेन्ट निकासी भएको हो । त्यस्तै जुटका झोला र बोराको निकासी २ अर्ब ४१ करोड ४८ लाख बराबरको १६ हजार ५ सय ९३ टन गरिएको छ ।
विराटनगर नाका हुँदै नाइलन, पोलिमाइड र पोलिस्टर कपडाको निर्यात बढेको छ । यस्तो कपडा २ अर्ब १९ करोड ८४ लाख मूल्यको १५ करोड ७५ लाख १३ हजार वर्गमिटर कपडा निकासी भएको छ । त्यस्तै १ अर्ब १६ करोड २८ लाख मूल्यको ८ हजार १ सय ३२ टन चाउचाउ, पास्ता र नुडल्स, ८८ करोड ८१ लाख मूल्यको २५ हजार ९ सय ६५ टन पिना र ४६ करोड २७ लाख मूल्यको ३ हजार ६ सय ८६ टन सनपाटको धागो पनि निकासीका मुख्य १० वस्तुमा परेका छन् । भटमास बाहेक सूर्यमुखी तेल ४४ करोड ९३ लाख मूल्यको २ हजार ६ सय २० टन निर्यात भएको छ । यसैगरी ४४ करोड २० लाख मूल्यको तामाको सिट निकासी गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी मूल्यका आधारमा दोस्रो नम्बरमा पैठारी गरिनेमा फलामे डन्डीको कच्चा पदार्थ एमएस बिलेट भएको छ । गत आवमा १० अर्ब ११ करोड ६२ लाख मूल्यको १ लाख ७० हजार १ सय ४२ टन एमएस बिलेटको पैठारी गरिएको छ ।
प्लास्टिकका भाँडाकुँडा, फर्निचर, ओभन स्याक्स र झोलाको कच्चा पदार्थ पोलिथिन दानाको पैठारी पनि उत्साहजनक पाइएको छ । उक्त आवमा ९ अर्ब १२ करोड ७७ लाख मूल्यको ६२ हजार ९ सय २ टन पोलिथिन दानाको पैठारी भएको देखिन्छ । फलामे तार र अन्य फलामे सामग्रीको कच्चा पदार्थ स्टिल वायर रड इन क्वाइल ६ अर्ब ६८ करोड ७० लाखको १० हजार १ सय ३७ टन, ६ अर्ब ४३ करोड ५४ लाखको ६ करोड ४५ लाख ९० हजार थान तयारी कपडा र ५ अर्ब ७८ करोड ५० लाखको ४२ हजार १ मेट्रिक टन सूर्यमुखीको कच्चा तेलको पनि आयात भएको भन्सार कार्यालयको तथ्यांक छ ।

विराटनगर नाका हुँदै गत आवमा ५ अर्ब ३४ करोड १८ लाखको २ लाख ३ हजार ५ सय ७९ टन मकै, ५ अर्ब ६ करोड ७ लाख मूल्यको ६० हजार ३ सय ८८ टन कर्कट पाताको कच्चा पदार्थ सीआर सिट र ४ अर्ब ९४ करोड ३४ लाख मूल्यको ६५ हजार ७ सय ८८ टन एलपी ग्यास पैठारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्