दुग्ध वितरण आयोजना विराटनगरको उत्पादन डेरी ह्वाईटनर बजारमा, डब्लुएमपी पनि चाँडै आउँदै

दुग्ध वितरण आयोजना विराटनगरको उत्पादन डेरी ह्वाईटनर बजारमा, डब्लुएमपी पनि चाँडै आउँदै

विराटनगर । विराटनगर दुग्ध वितरण आयोजनाले डेरी ह्वाइटनरको व्यावसायिक उत्पादन सुरु गरेर बजारमा पठाएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आयोजनाले स्ट्याण्ड ब्राण्डमा एक हजार कार्टुन डेरी ह्वाईटनर बजार पठाएको हो ।
आयोजनाको विराटनगर कार्यालयका प्रमुख गणेशकुमार यादवका अनुसार १५ दिनको अवधीमा ४०० ग्राम र ८०० ग्राम वजन भएका २० हजार प्याकेट डेरी ह्वाइटनर बजारमा पठाईसकिएको हो । गुणस्तरीय ह्वाइटनरमा २१ प्रतिशत घ्यू र १८ प्रतिशत चिनीको मात्रा रहेका कारण उत्पादनको सुरुमै सकारात्मक छाप छोड्न सकेको आयोजना प्रमुख यादवको दावी छ ।

चिया र कफीको धुलो दूध एक केजी ह्वाइटनगर उत्पादनका लागि ९ लिटर दूध प्रशोधन गर्नुपर्ने हुन्छ । एक केजी ह्वाइटनगरबाट ८ लिटरसम्म चिया र कफी बन्दछ । एकवर्ष उपभोग्य मिति रहेको डेरी ह्वाइटनरको ४०० ग्रामलाई ३९५ रुपिँया र ८०० ग्रामलाई ७९० रुपिँया बिक्री खुद्रा मूल्य तोकेर बजारमा पठाइएको आयोजना प्रमुख यादवले जानकारी दिनुभयो । सामान्य तापक्रममा भण्डारण गर्न सकिने भएका कारण यसको प्रयोग सहज हुनेछ ।

डेरी ह्वाइटनरको प्रति दिनको पूर्ण उत्पादन क्षमता ८ टन रहेको छ । अहिले दैनिक २ टनमात्र उत्पादन भईरहेको छ । माग अनुसार उत्पादन बृद्धि गर्न सकिने आयोजना प्रमुख यादवले जानकारी दिनुभयो । भाटभटेनीका सबै स्टोरबाट डेरी ह्वाइटनर बिक्री भईरहेको छ ।
आयोजनाले क्षमता विस्तार गरेको ३ वर्षपछि उत्पादनलाई प्याकेजिङ गरेर बजारमा पठाउन सफल भएको हो । साउनको पहिलो हप्तादेखि डेरी ह्वाइटनरको व्यावसायिक उत्पादन सुरु गरेसँगैे अन्तिम हप्तासम्ममा डब्लुएमपी (होल मिल्क पाउडर) को समेत व्यावसायिक उत्पादन सुरु गर्ने तयारी भईरहेको प्रमुख यादवले जानकारी दिनुभयो । डब्लुएमपी पानीमा घोलेपछि दूध नै हुन्छ । यसमा २६ प्रतिशत चिल्लो पदार्थ र बाँकी ठोस पदार्थ अर्थात् एसएनएफ (सोलिड नट फ्याट) को मात्रा हुन्छ । डब्लुएमपी पानीमा घोलेर दूध बनाएपछि रसबरी, पेडा लगायतका मिठाई बनाउन सकिन्छ । दैनिक एक टन डब्लुएमपीको उत्पादन गर्न सकिने क्षमतामा विस्तार भईरहेकोले अभावको बेला यसको प्रयोग बढाउन सकिने संभावना हुन्छ ।

२०७२\२०७३ देखि नै विराटनगरस्थित आयोजनाको पाउडर प्लान्टबाट डेरी ह्वाइटनर र डब्लुएमपी उत्पादन गर्ने प्रक्रिया सुरु गरिएको थियो । त्यहि योजना अनुरुप तीनवर्ष अगाडी मेसिन जडान गरिएको थियो । तर, जडान गरिसकिएको मेसिनमा समस्या देखिएपछि आयोजनाले गतवर्ष मात्रै थप पार्टस् झिकाएर मर्मत गरेको थियो ।
मेसिन मर्मत भएपछि प्रतिमिनेट ३० प्याकेट डब्लुएमपी र डेरी ह्वाइटनर उत्पादन गर्ने क्षमता विकास भएको छ । एक घण्टामा १ हजार ८०० पाकेट प्याकिङ गर्ने क्षमता रहेको छ । नयाँ ब्राण्ड उत्पादन सुरु गरेपनि आयोजनाको गोदाममा ७ करोड ४२ लाख ५० हजार मूल्यको १ सय ३५ टन एसएमपी मौज्दात रहेको प्रमुख यादवले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्