प्रतिनिधिसभा सांसदद्वारा अफगानिस्तानमा रहेका नेपाली तत्काल फर्काउनुपर्नेमा जोड

प्रतिनिधिसभा सांसदद्वारा अफगानिस्तानमा रहेका नेपाली तत्काल  फर्काउनुपर्नेमा जोड

काठमाडौँ

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गरेर फर्काउनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभा बैठकको शून्य समयमा उहाँहरुले कूटनीतिक पहलमार्फत चाँडोभन्दा चाँडो नागरिक फर्काउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद भैरवबहादुर सिंहले अफगानिस्तानमा नेपाली कुन अवस्थामा छन् भन्ने जानकारी सरकारले संसद्समक्ष दिनुपर्ने र उनीहरुलाई चाँडै नेपाल फर्काउनुपर्नेमा जोड दिनुभयो । उहाँले दार्चुलामा जयसिंह धामी घटनाको छानबिन गर्न सरकारले बनाएको समितिले लामो समयसम्म पनि प्रतिवेदन नदिएकामा आक्रोश व्यक्त गर्नुभयो ।

सांसद मनकुमारी जिसीले आफगानिस्तानमा रहेका नेपाली समस्यामा हुँदा पनि सरकार चुप लागेको र दार्चुला घटनामा उच्चस्तरीय समिति अझैसम्म बन्न नसकेको औँल्याउनुभयो । सांसद रेखाकुमारीले अफगानिस्तानमा तालिवानले कब्जा गरेपछि धेरैले आआफ्ना नागरिक फिर्ता बोलाए पनि सरकारलाई अझै आफ्ना नागरिकको अवस्था के छ भन्नेसमेत जानकारी नभएको बताउनुभयो ।

सांसद विमला नेपालीले सर्बाेच्च अदालतले आर्थिक अवस्थाका आधारमा र एकपटक मात्रैका लागि आरक्षण दिने निर्णय संविधान र ऐनमा बाझिएको तथा यसले दलित, मधेशी, महिलालगायतको अपमान गरेको बताउनुभयो ।

सांसद विमला विकले दार्चुला घटना भएको १८ दिन हुँदा पनि नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग आँखामा आँखा जुधाएर कुरा गर्न नसकेको बताउनुभयो । सांसद भरकुमार शाहले कूटनीतिक पहल गरेर अफगानिस्तानबाट नेपाली फर्काउनुपर्नेमा जोड दिनुभयो ।

सांसद भवानीप्रसाद खापुङले बेलायती र गोर्खा सैनिकबीच समान व्यवहारको माग राख्दै पटकपटक आन्दोलन भएर विगतमा विभिन्न समझदारी भए पनि त्यसको कार्यान्वयन नभएकाले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भीमसेनदास प्रधानले भूमाफियाले बालुवा खानी र प्लटिङ गर्दा वातावरण क्षय भएकाले काठमाडौँ उपत्यकामा हरियाली मासिएको बताउनुभयो । सांसद महेन्द्रकुमारी लिम्बूले अँध्यारोलाई उज्यालो बनाउन कुलमान घिसिङ नियुक्त गरिएको र सरकारले खोप ल्याउन पहल गरिरहेको बताउनुभयो ।

सांसद महेश बस्नेतले सरकारले अझैसम्म अफगानिस्तानबाट नेपाली फर्काउन ढिलाइ गरिरहेकाले यसअघिको सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई उद्धार गरेको कुराबाट सिक्नुपर्ने बताउनुभयो ।

सांसद महेश्वरजंग गहतरातले सडक बनिसकेका स्थानमा पुल चाँडो निर्माण सम्पन्न गरेर हुलाकी राजमार्ग चालू हुनुपर्नेमा जोड दिनुभयो । सांसद मिनबहादुर विश्वकर्माले कोशी राजमार्गमा पहिलेपहिले १५÷१५ मिटर चौडाइ भनिए पनि अहिले ६२ मिटर चौडाइ कायम भएको तर धेरै नागरिकले मुआब्जा नपाएको औँल्याउनुभयो ।

सांसद मिना सुब्बाले समान हकको माग गर्दै अनशनमा रहेका गोर्खा नेपालीको स्वास्थ्य अवस्था नाजुक भएकाले त्यसमा सरकारले विगतमा भएका समझदारी कार्यान्वयन गर्न कूटनीतिक पहल थाल्नुपर्नेमा जोड दिनुभयो ।

सांसद मिना पाण्डेले सरकारले अफगानिस्तानमा भएका नेपालीका चाँडो उद्धार गर्नुपर्ने र देशभित्रै बाढी, पहिराको आक्रन्त बनाएका नागरिकको व्यवस्थापनमा सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । सांसद मैनाकुमारी भण्डारीले गम्भीर समस्या भएका दुर्गम जिल्लाका नागरिकलाई हेलिकप्टरबाट अस्पताल पु¥याएर उपचार गर्नुपर्ने औँल्याउनुभयो ।

सांसद मोहन बानियाँले सरकारसँग अफगानिस्तानमा कति नेपाली छन् भन्नेसमेत तथ्याङ्क नभएकाले म्यानपावरको तथ्याङ्कमा भर परेको बताउनुभयो । सांसद यज्ञराज बोगटीले कोभिड सङ्क्रमण बढिरहेको जिल्ला र पालिका अस्पतालमा डाक्टरको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद यज्ञराज सुनुवारले कुनै पनि देशमा सरकार त्यहाँका नागरिकले सहयोग नगरे सत्तामा नटिक्ने र देश नै छाड्नुपर्ने हुनसक्ने अफगानिस्तानबाट देखिएको बताउनुभयो । सांसद राजबहादुर बुढाक्षेत्रीले विकास बजेट कटौती गरेर पनि विद्यार्थीलाई खोप दिएर कक्षा सञ्चालन गर्नुपर्ने औँल्याउनुभयो । सांसद रेनुका गुरुङले गोर्खा सैनिकको समान हकका लागि सरकारले वार्ता गनुपर्ने आवश्यक बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्