द्वन्दबिच अफगानिस्तानमा रहेका १३४ नेपाली सरकारको सम्पर्कमा

<span class='c1'>द्वन्दबिच अफगानिस्तानमा रहेका १३४</span> <span class='c2'>नेपाली सरकारको सम्पर्कमा</span>

–रमेश लम्साल,
अफगानिस्तानको पछिल्लो घटनापछि त्यहाँ रहेका १३४ नेपालीले आफूहरूलाई उद्धार गरिदिन आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार साँझसम्म ती नेपाली सम्पर्कमा आई उद्धारका लागि आग्रह गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अफगानिस्तानमा रहेका नेपाली र यहाँ रहेका उनका परिवारले उद्धारका लागि सम्पर्क गरेका हुन् । सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउनका लागि आइतबार एक कार्यदल गठन गरेको थियो ।

परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका सदस्य रहेका छन् ।

अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे जानकारी आउने क्रम बढेको र उचित परिस्थिति बनेपछि उनीहरूका उद्धारका हुने प्रवक्ता लम्सालले जानकारी दिनुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घ, अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपेली सङ्घ, जापानलगायत देशलाई आफ्नो नागरिक उद्धार गर्दा नेपालीको पनि उद्धार गरिदिन पत्राचार गरिएको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घलाई फोन र पत्रमार्फत पनि नेपालीको उद्धारका लागि अनुरोध गरिएको प्रवक्ता लम्सालले उल्लेख गर्नुभयो । रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत अवस्था यकिन गरी आवश्यक समन्वय तथा उद्धारका लागि मुख्यसचिव शङ्करदास बैरागीको कार्यकक्षमा आइतबार अन्तर मन्त्रालयको बैठकले कार्यदल गठन गरेको थियो ।

उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण सङ्कलनका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था गरिएको छ । अनलाइनमा आफ्नो नामसहितको विवरण उल्लेख गरी दर्ता गर्न सम्बन्धित व्यक्ति वा परिवारलाई आग्रह गरिएको छ ।

यस्तै उद्धारका लागि भाइबर, ह्वाट्सएपसहितको मोबाइल नम्बर ९७४९३२६४५८ र ९७४९३२६४५९ को व्यवस्था गरिएको छ । आफ्नो अवस्थाका बारेमा जानकारी गराउन वा मन्त्रालयमा सम्पर्क गर्न भनिएको छ । यस्तै सरकारले काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपालीको तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन विशेष पहल गरिरहेको छ ।

अफगानिस्तनमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाबारे नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एड्भाइजरी जारी गरिएको छ । आवश्यक सहयोगका लागि दूतावासको विभिन्न फोन तथा अन्य सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको छ ।

त्यस्तै अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीले त्यहाँ कार्यरत नेपालीको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवम् तथ्याङ्क उपलब्ध गराउनसमेत आग्रह गरिसकिएको छ ।

यस्तै, कार्यदलको शुक्रबार बैठकले तोकिएका फोन नम्बरमा आफ्नो विवरण टिपाउन सम्बन्धित व्यक्ति तथा परिवारलाई अनुरोध गरेको छ । अफगानिस्तानमा कार्यरत नेपालीले सामाजिक सञ्जालको प्रयोग गरेर आपसमा सुरक्षास्थिति तथा उद्धारसम्बन्धी सूचना आदानप्रदान गर्ने र सार्वजनिक भएका नम्बरमार्फत जानकारी उपलब्ध गराउन अनुरोध गरेको छ ।

उद्धारको प्रक्रिया सुरु भई स्वदेश आउने क्रममा रहेका नेपालीको नेपाल आगमनपश्चात् गर्ने कोभिड–१९ को परीक्षण तथा क्वारेन्टिनलगायत कार्यको सहजताका लागि आवश्यक समन्वय गरी व्यवस्था मिलाउने निर्णय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले शुक्रबारनै सरकारका विभिन्न निकायको पदाधिकारी सम्मिलित बैठकमा अफगानिस्तानमा रहेका नेपालीको उद्धार सम्बन्धमा आवश्यक निर्देशन दिनुभएको थियो । काबुलबाट आइतबारदेखि नै त्यहाँ रहेको नेपालीको सुरक्षित घर फिर्ती प्रक्रिया क्रमशः सुरु भइसकेको उल्लेख गर्दै परराष्ट्रले त्यसका लागि कूटनीतिक पहलसमेत भइरहेको स्पष्ट पारेको छ ।

अफगानिस्तानमा रहेका नेपालीको क्रमिक रुपमा स्वदेश आवागमन एक÷दुई दिनभित्रै सुरु हुनेछ स्पष्ट पारेको छ । त्यहाँ रहेका नेपाली र उनीहरूको रोजगारदातासँग सार्वजनिक गरिएका टेलिफोन नम्बर, इमेलमार्फत मन्त्रालय, कन्सुलर सेवा विभाग र नयाँदिल्लीस्थित नेपाली दूतावास नियमित सम्पर्कमा रहेको बताएको छ ।

विवरणहरूमा जनाइएअनुसार केही नेपालीलाई रोजगारदाताले नै उद्धार गरेर दोहा पु¥याएका छन् । वैदेशिक रोजगार विभागले अफगानिस्तानमा नेपाली पठाएका म्यानपावर व्यवसायीमार्फत पनि उद्धारको पहल गरिरहेको छ । व्यवसायीले ३३० नेपाली दोहा पुगेको जानकारी दिएको विभागले जनाएको छ । केही नेपाली भने काबुलस्थित विमानस्थलमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्