सेवाग्राहीले तालाबन्दी गरेको समाचार प्रकाशन गरेपछि क्लासिक टेकद्वारा आवर विराटनगर ‘ब्लक’

सेवाग्राहीले तालाबन्दी गरेको समाचार प्रकाशन गरेपछि क्लासिक टेकद्वारा आवर विराटनगर ‘ब्लक’

विराटनगर । इन्टरनेट प्रदायक निजी कम्पनि क्लासिक टेकको विराटनगर ट्राफिक चौकस्थित सेवा केन्द्रमा सेवाग्राहीले तालाबन्दी गरेकोको समाचार प्रकाशन गरेको भन्दै ओबी मिडिया प्रा.लि.को अनलाइन प्रकाशन आवर विराटनगरलाई ‘ब्लक’ गरिएको छ । गुणस्तरीय सेवा प्रवाह नगरेको भन्दै सेवाग्राहीले शुक्रबार कार्यालयमा तालाबन्दी गरिदिएका थिए ।

त्यस विषयमा आवर विराटनगरले समाचार सामाग्री प्रकाशन गरेको भन्दै इन्टरनेट प्रदायक निजी कम्पनिले सञ्चारमाध्यमलाई नै प्रतिबन्ध लगाएको हो । आवर विराटनगरको पेज ब्लक गरेपछि क्लासिक टेक प्रयोगकर्ताले त्यो पेजमा गएर समाचार सामाग्री हेर्न नमिल्ने बनाइएको छ ।
सेवाग्राही अमित गुप्ताले चारदिन अगाडीदेखि सेवा अवरुद्ध भएको भन्दै गुनासो गरेपनि सुधार नगरेपछि शुक्रबार साँझ तालाबन्दी गर्नु भएको थियो । त्यस विषयलाई सञ्चारमाध्यमको सामाग्री बनाएकै आधारमा क्यासिक टेकले आवर विराटनगरलाई ‘ब्लक’ गरेको हो ।

सेवाग्राहीले आफ्नो गुनासो राख्दा कम्पनिका प्रतिनिधिले नयाँ–नयाँ सामान जडान गर्नुपर्ने भन्दै खरिदका लागि दवाव दिदैं आएको गुनासो राखेका थिए । शुक्रबार साँझ तालाबन्दी गरेपछि गुप्ताको घरमा भने राती नै राउटर जडान गरिएको थियो । राउटर राती नै जडान गरिएको छ, गुप्ताले भन्नुभयो–समाचार प्रकाशन भएपछि समस्या समाधान गर्न तत्काललै आएका थिए ।
क्लासिक टेकको नेशनल मेनेजर भुपाल सिंह कार्कीले सेवाग्राहीको निक्कै ठुलो समस्या नरहेको दावी गरेपनि आवर विराटनगरमा समाचार आएकोप्रति सेवाग्राहीलाई धम्की दिइएको छ । समाचार सामाग्रीमा चित्त नबुझे कानुनी उपचार खोज्न पाउने अधिकार भएपनि सञ्चारमाध्यमलाई नै ‘ब्लक’ गर्ने कुराको आलोचना चौतर्फी भएको छ ।

शुक्रबार राती नै समाचार प्रकाशन गर्ने सञ्चारमाध्यमलाई ब्लक गरेपछि ओबी मिडिया प्रा.लि.ले त्यस विषयमा मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला, नेपाल पत्रकार महासंघ प्रदेश लगायतलाई जानकारी गराईसकेको छ ।
मेनेजर भुपाल सिंह कार्कीले सञ्चारमाध्यमको पेज ब्लक नगरिएको बताएपनि विराटनगरका पाठकले अझैसम्म ओबीमा प्रकाशित समाचार सामाग्री हेर्न पाएका छैनन् । नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरेले प्रकाशित समाचारप्रति चित्त नबुझे कानुनी बाटो अपनाउन सक्ने भएपनि सञ्चारमाध्यमलाई नै ब्लक गर्नु कानुन सम्मत नहुने बताउनुभयो ।

ओबी मिडिया प्रा.लि.का सञ्चालक सरोज कार्कीले क्लासिक टेकले संविधानको मर्म र कानुन विपरित काम गरेको भन्दै त्यस विरुद्ध कानुनी कारवाहीमा जाने बताउनु भएको छ । दुर सञ्चार प्राधिकरण र सूचना विभागमा यस विषयमा जानकारी गराउने छौं, ओबीका सञ्चालक कार्कीले भन्नुभयो–नागरिकलाई सूचित हुनबाट गरिएको बन्देजको निन्दा गर्दछौं ।
तर, मेनेजर कार्कीले ओबीलाई ब्लक नगरिएको दावी गर्दै शनिबार साँझ नत्र आईतबारसम्ममा समस्या समाधान हुने दावी गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्