अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामाग्री बिक्री गर्न विराटनगरमा खुल्यो कोशेली घर

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामाग्री बिक्री गर्न विराटनगरमा खुल्यो कोशेली घर

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेका सामाग्रीको व्यवस्थित बजारीकरण गर्नका लागि विराटनगरमा बिक्री केन्द्रको रुपमा कोशेली घरको शुभारम्भ गरिएको छ । विराटनगर–११ जनपथ टोलमा राष्ट्रिय अपाङ महासंघ प्रदेश समितिले कोशेली घर सञ्चालनमा ल्याएको हो ।

आयआर्जनको क्षेत्रमा जोडिएका अपाङ्गता भएका व्यक्तिहरुले घरमै बसेर उत्पादन गरेका सामानलाई कोशेली घरमा केन्द्रीत गरेर बिक्री गरिने भएको छ । राष्ट्रिय अपाङ महासंघ प्रदेश १ अध्यक्ष पार्वता श्रेष्ठका अनुसार तालिम पाईसकेका अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेको सामान बिक्रीका लागि समस्या रहेकोले त्यसको बजारीकरण गर्ने लक्ष्यसहित बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ ।
पहिलो पटक कोशेली घर स्थापनाका लागि प्रदेश १ सामाजिक विकास मन्त्रालयले दशलाख रुपिँया बजेट उपलब्ध गराएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । सोमबार कोशेली घरको सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले उद्घाटन गर्नु भएको थियो ।

कोशेली घरमा अगरबत्ती, हार्पिक, फिनेल, मुडा, गुडिया, कुचो, कुसन, क्रिष्टलका पोते र कस्मेटिक सामाग्री पाइने छ । अपाङ्गता भएका व्यक्तिहरुले आय–आर्जनका लागि बनाएका यी सामाग्री बिक्री केन्द्रमार्फत खुद्रा बिक्री गरिने छ । त्यसका लागि दुईजना कर्मचारी राखिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यस्ता सामाग्री उत्पादन लागतका आधारमा व्यक्तिसँग खरिद गरेर बिक्री केन्द्रमा राखिने छ ।

मुनाफासहित बिक्री गरेर कर्मचारी व्यवस्थापन, कोठा भाडा बुझाएपछि बाँकी रहेको रकम संरक्षण कोषमा राखिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।


जिल्लामा सहजै पाइने कच्चा पदार्थमा आधारित वस्तु उत्पादन गर्नका लागि अपाङ्गता भएका व्यक्तिहरुलाई तालिम समेत दिइएको छ । अध्यक्ष श्रेष्ठका अनुसार प्रदेशभरमा ३५ जना भन्दा धेरैले आयआर्जनका लागि व्यवसायीक वस्तु उत्पादनको काम गर्दै आएका छन् । तर, उनीहरुले उत्पादन गरेको सामाग्री बजारसम्म ल्याउन असहज हुने भएका कारण बिक्री केन्द्र स्थापना गर्नुपर्ने अवस्था आएको अध्यक्ष श्रेष्ठको दावी छ ।
प्रदेश १ मा मात्रै विभिन्न प्रकारका गरेर ९५ हजारको हाराहारीमा अपाङ्गता भएका व्यक्तिहरुको संख्या रहेको बताइन्छ । उनीहरुमध्ये परिवारसँग आश्रित भईनरहनु पर्ने व्यक्तिहरुलाई विभिन्न सीपसँज जोडेर आयआर्जनको बाटो लगाउने काम भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्