विराटनगर एअरपोर्ट रोडमा २ करोड लगानीमा रेष्टु–राँ खुल्दै, दिल्लीको अनुभव नेपालमा पस्कने योजनामा अमन

विराटनगर एअरपोर्ट रोडमा २ करोड लगानीमा रेष्टु–राँ खुल्दै, दिल्लीको अनुभव नेपालमा पस्कने योजनामा अमन

विराटनगर । दिल्लीमा एमबिए सकिएपछि विराटनगर फर्किएका अमन शाहलाई आफ्नै जन्मथलोमा केहि गर्ने हुटहुटी जाग्यो । दिल्लीको अनुभवलाई मूर्त रूप दिन विराटनगरमा रेस्टुरेन्टको हब बनेको एअरपोर्ट रोडमा उनी २ करोड लगानीमा अत्याधुनिक रेस्टुरेन्ट खोल्दैछन् । दशैँअगाडि यसलाई सञ्चालनमा ल्याइसक्ने लक्ष्य छ ।

दिल्लीबाट फर्किएपछि अमनले विराटनगरको व्यवसायमा अनुभवी र सहयोगी को छन् भन्ने खोजी गरे । खोज्दै जाँदा नेउवा महासङ्घ प्रदेश नम्बर १ का कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)सँग साझेदार बने । अमनले रेस्टुरेन्टको साझेदार बनिदिन आग्रह गरेपछि लगानीका जोरजम गरिएको हो । साझेदारमा छोरी सफलतालाई संलग्न गराइको छ । सफलता भण्डारी हाल बिजनेस म्यानेजमेन्टको स्नातक तहमा अध्ययनरत छिन् । मुख्य साझेदार विजय अग्रवाल रहेको उक्त रेस्टुरेन्टमा अमन र सफलतालाई साझेदार बनाइए ।

यसरी एअरपोर्ट मोडमा सञ्चालनमा आउन लागेको रेस्टुरेन्टमा तीन जना साझेदार भएका छन् । रेस्टुरेन्टको नाम ‘तृष्णा द क्रेभिङ टेल्स’ राखिएको छ । विराटनगरबाट एम्बिए पढ्न २०१७ मा दिल्ली गएका अमन शाहले अध्ययनलाई त अघि बढाए–बढाए, सँगसँगै त्यहीँ व्यवसाय पनि सुरु गरेर अनुभव लिईसकेका छन् । अमन दिनभरि कलेज पढ्थे । साँझ परेपछि उनको रेस्टुरेन्ट खुल्थ्यो । उनले रेस्टुरेन्ट सञ्चालनमा होम डेलिभरी सर्भिसलाई बढी फोकस गरे । त्यसमा पनि नाइट सप्लाई उनको प्राथमिकतामा रह्यो । उनले विशेषतः नर्थ इन्डियन कन्टिनेन्टल परिकारको कारोबार गरे ।

तृष्णा प्रदेश नम्बर १ कै ठूलो लगानीको रेस्टुरेन्ट हुने दावी गरिएको छ । होम सप्लाईलाई फोकस गरेर यसलाई सञ्चालन गरिने अमनको भनाई छ । विराटनगरका क्विकर फुड लगायतका सप्लायरबाट सप्लाई दिने योजना बनाइएको छ । शाहका अनुसार तृष्णाको मुख्य ध्यान फाइन डाइनिङ र नाइट क्लबिङलाई हुनेछ ।
साकाहारी र मांसाहारी गरी दुई छुट्टाछुट्टै किचन निर्माणाधीन छन् । नर्थ इन्डियन फ्युजन फुड्स यसका मुख्य विशेषता हुनेछन् । जस्तै चिकन सते, चिकन ब्ल्याक पेपर, विभिन्न स्वादका १० प्रकारका मोमो र शाकाहारीमा सोया चप नौला रेसिपी र परिकारका रूपमा सर्भ गरिनेछन् । विराटनगरमा तृष्णाले नै पहिलो पटक सोया चप पस्कनेछ । रेस्टुरेन्टले २ सयभन्दा बढी प्रकारका खानेकुरा उपलब्ध गराउनेछ । मध्याह्न ११ बजे खोलिने रेस्टुरेन्ट लेट नाइटसम्म सञ्चालन गर्ने योजना छ ।

 

उनले रेस्टुरेन्टमा २ सय ५० ग्राहक सजिलै बसेर इन्जोय गर्ने गरी सिटिङ एरेजमेन्ट गरिएको बताए । त्यस्तै ५० जनासम्मको पार्टी वा बैठक गर्ने छुट्टै कक्ष पनि निर्माणाधीन छ । रेस्टुरेन्टमा लाइभ म्युजिकको व्यवस्था हप्तामा ३ दिन गरिनेछ । अमनले तृष्णाका लागि दिल्लीको मेरियट होटलबाट सेफ मगाएका छन् । अन्य कुक र जनशक्ति विराटनगरमै होटल म्यानेजमेन्ट कलेजबाट ब्याचलर सकेका युवायुवती हुनेछन् । उनले होटलमा तत्काल ५० जनाले प्रत्यक्ष रोजगारी पाउने जानकारी दिए ।

विराटनगरमा प्रोजेक्ट सफल भएमा प्रदेश १ का धरान, इटहरी, बिर्तामोड, दमक र इलाममा क्रमशः आउटलेट खोल्ने योजना राखिएको छ । पाँच वर्षभित्र राजधानीसहित देशका विभिन्न भागमा गरी कम्तीमा २० वटा आउटलेट बनाउने योजनाका रहेको दावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्