समस्या लुकाउँदा कुष्ठरोगी बढेको बढ्यै, मोरङमा मात्रै १३१ जना कुष्ठरोगी

<span class='c1'>समस्या लुकाउँदा कुष्ठरोगी बढेको बढ्यै,</span> <span class='c2'>मोरङमा मात्रै १३१ जना कुष्ठरोगी</span>

विराटनगर । सरकारले ११ वर्ष अघि नै कुष्ठरोग निवारण भएको घोषणा गरिसकेको भएपनि मोरङमा भने कुष्ठरोगीहरुको संख्या बढ्दै गएको छ ।

सरकारले सन् २०१० मै नेपालमा कुष्ठरोग निवारण भईसकेको घोषणा गरेको थियो । तर, स्वस्थ जीवनशैलीको अभाव र कुष्ठरोगीलाई पापको प्रतिफल मिलेको भन्दै समाजले गर्ने घृणाका कारण रोग लुकाउने क्रम बढे्पछि रोगीहरुको संख्या पनि बढ्दै गएको हो । मङ्गलबार स्वास्थ्य कार्यालय मोरङ, द लेप्रोसी मिसन नेपाल र यु.के. एडद्धारा संयुक्त रुपमा आयोजित एक दिने अन्तरक्रिया कार्यक्रममा प्रस्तुत तथ्याङ्कले यस्तो देखाएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा को प्रथम चौमासिकमा मोरङमा कुष्ठरोेगका ११ जना बिरामीहरु थिए । तर, आर्थिक वर्ष २०७८/०७९ को अन्त्यतिर आईपुग्दा बिरामीको संख्या बढेर १३१ पुगेको छ । १५ जना बिरामीहरु निको हुँदा गत आ.ब.मा मात्रै मोरङमा कुष्ठरोगका ११६ जना बिरामीहरु थपिएका छन् ।

जसमा सबैभन्दा बढी मोरङको विराटनगरमा ५१ जना कुष्ठरोगीहरु फेला परेको स्वास्थ्य कार्यालय मोरङद्धारा प्रस्तुत तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार सबैभन्दा कम ग्रामथान र बुढीगंगामा मात्र १/१ जना कुष्ठरोगी भेटिएका छन् । यसबाहेक पथरीको ४, रंगेलीको ८, रतुवामाईको ८, सुनबर्षीको ६, उर्लाबारीको ६, सुन्दरहरैंचाको ७, धनपालथानको ६, जहदाको ४, कानेपोखरीको ५ र कटहरीको ४ जनामा कुष्ठरोगको समस्या देखिएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । संक्रमण भईसकेपछि पनि समयमै उपचार नगराउने र रोग लुकाउने प्रवृत्तिका कारण कुष्ठरोगीको संख्या बढेको कार्यालयका क्षयकुष्ठ अधिकृत मुलुकचन्द राजवंशीले बताए ।

जनस्वास्थ्यकर्मीहरुका अनुसार कुष्ठरोग ‘माइक्रो ब्याक्टेरियम लेप्रे’ नामक सूक्ष्म जीवाणुको संक्रमणबाट लाग्ने रोग हो । यो रोगले मुख्यतः छाला र स्नायुका टुप्पाहरूमा आक्रमण गर्छ । त्यसबाहेक, यसले नाकको भित्री भित्ता तथा माथिल्लो श्वासनलीमा पनि आक्रमण गर्छ । यो रोग लागेपछि छालामा दागहरु देखिने, स्नायु प्रणाली प्रभावित हुने, नसा सुन्निने दुख्ने तथा सुक्ने, पक्षघात हुने र शरीरका विभिन्न भागमा घाउ खटिरा हुने लगायतका लक्षणहरु देखा पर्छन् । कुष्ठरोग लागेपछि छाला रातो हुने, अनुहारको छाला बाक्लो हुने, गिर्खाहरू देखापर्ने र स्नायुमा असर गर्दा हात तथा गोडामा छुँदा थाहा नहुने लगायतका लक्षणहरु समेत देखिन्छन् । यसको न्युनीकरणका लागि रोग लुकाउनुको साटो पत्ता लाग्ने बित्तिकै उपचार गराउने बानीको विकास गर्नुपर्ने स्वास्थ्य कार्यालय मोरङका क्षयकुष्ठ अधिकृत मुलुकचन्द राजवंशीको भनाई छ ।

किन बढ्दैछ कुष्ठरोग ?

नेपाली समाजमा अहिले पनि कुष्ठरोगीलाई पापको प्रतिफल मिलेको भन्दै घृणा गर्ने मानसिकता विद्यमान छ । अझै पनि समाजको घृणाका कारणले कुष्ठरोगी खुलेर उपचारको दायरमा आउन सकेका छैनन् । जसकारण कुष्ठरोगी दिनप्रतिदिन बढिरहेका छन् ।

मुलुक संघीय प्रणालीमा रुपान्तरण भएसँगै कुष्ठरोग नियन्त्रणका लागि आवश्यक जनशक्ति कटौती गर्दा कुष्ठरोग निवारण कार्यक्रम नियन्त्रण बाहिर गएको चिकित्सकहरुको बुझाई छ । नेपाल सरकारले पनि ‘स्क्रिनिङ प्रोग्राम’ मार्फत कुष्ठरोगीहरु पत्ता लगाई यो रोगलाई निर्मुल पार्ने प्रयास गरिरहेको छ । तर, सरकारको यो प्रयास पनि खासै लाभदायक साबित हुन सकेको छैन् ।

यसको रोकथामका लागि सरकारले सन् २०१५ देखि नै आम नागरिकलाई ‘रिफामपिसिन’ नामक निःशुल्क औषधि समेत खुवाउँदै आएको छ । सरकारले २ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई १५०, ६ देखि ९ वर्ष उमेर समूहकालाई ३००, १० देखि १४ वर्ष उमेर समूहका लाई ४५० र १५ वर्षमाथिका उमेर समुहलाई ६०० एम.जी.को एक डोज औषधी खुवाउँदै आएको स्वास्थ्य कार्यालय मोरङले जानकारी दिएको छ ।

यस्तै २ वर्ष मुनिका बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा, क्षयरोगी र दीर्घरोगीहरुको हकमा भने सम्बन्धित स्वास्थ्य कार्यालयले लिस्ट तयार पारेर उनीको निगरानी समेत गर्दै आएको जनाएको छ ।

यस्तो छ कुष्ठरोगको उपचार पद्दति

कुष्ठरोग सरुवा रोग भएपनि अन्य रोगभन्दा कम खतरनाक मानिन्छ । यो रोग अन्य सरुवा रोगजस्तो तुरुन्तै सर्दैन । यसको उपचार पनि तुलनात्मक रुपमा सजिलो हुन्छ ।

कुनै परिवारका सदस्यमा कुष्ठरोग भेटिएको छ भने दोस्रो व्यक्तिलाई रोग सर्न नदिनका लागि ‘लेप्रोसी पोस्ट एक्सपोजर प्रोफाईलेक्सिस’ कार्यक्रम अन्तर्गत एक मात्रा औषधि खुवाईन्छ । यो औषधि खुवाएपछि रोग सर्ने सम्भावना ६० प्रतिशतसम्म न्युनीकरण भएर जान्छ । विगतमा उक्त कार्यक्रममा मार्फत औषधि खुवाईदै आईएको भएपनि २०७५ सालदेखि सरकारले स्वयंम मापदण्ड अनुसार सो औषधि वितरण गर्दै आएको छ ।

कुष्ठरोग भने कम किटाणु भएको ‘प्यासी ब्यास्लरी’ (पि.बी) र बढी किटाणु भएको ‘मल्टी ब्यास्लरी’ (एम.बी) गरी दुई प्रकारको हुन्छ । मोरङको हकमा भने पि.बी.को तुलनामा एम.बी.का कुष्ठरोगीहरू बढी रहेको स्वास्थ्य कार्यालय मोरङको तथ्याङ्क सञ्जय सिंहले बताए । रोग अनुसार उपचार पनि दुई किसिमकै हुने भएकाले पि.बी. कुष्ठरोगको उपचार ६ महिना र एम.बी.को उपचार १२ महिनासम्म गर्नुपर्ने उनले जानकारी दिए । उपचारपछि कुष्ठरोग पूर्ण रूपमा निको पार्न सकिने चिकित्सकहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्