निजी विद्यालयमा पठनपाठन, सरकारी विद्यालयमा काँग्रेसको निर्वाचन

निजी विद्यालयमा पठनपाठन, सरकारी विद्यालयमा काँग्रेसको निर्वाचन

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका नाममा बुधबार नियम विपरित विराटनगरका सामुदायिक विद्यालय बन्द गरिँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित बनेको छ ।

नीजि विद्यालयका विद्यार्थीको पठनपाठन भईरहँदा सरकारी विद्यालयमा भने नेपाली काँग्रेसको निर्वाचन भएको हो । कांग्रेसको गाउँ तथा नगर वडा अधिवेशनको निर्वाचनका लागि सामुदायिक विद्यालयलाई मतदान केन्द्र बनाईदा विद्यार्थीहरुको पठनपाठन प्रभावित बनेको हो । कोभिड महामारीका कारण लामो समय विद्यालय जान नपाएका विद्यार्थीहरु कांग्रेसको आन्तरिक चुनावका कारण थप समस्यामा परेका हुन् ।

गत भदौ २६ गते विराटनगर महानगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै असोज पहिलो साताबाट विद्यालय सञ्चालन गर्न सक्नेगरि आन्तरिक सर्कुलर जारी गरेको थियो । महानगरको शैक्षिक प्रशासन महाशाखाको उक्त सर्कुलर बमोजिम असोज ४ गतेदेखि नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयहरु सञ्चालनमा आएका थिए । तर, सञ्चालनमा आएको २ नबित्दै कांग्रेसको चुनावका कारण बुधबार महानगर क्षेत्रभित्रका ८ वटा सामुदायिक विद्यालयहरु पुनः बन्द गरिएका छन् । क्षेत्रीय प्रतिनिधि, बुथ सभापति र वडाको नेतृत्व चयनका निम्त्ति बुधबार महानगरका सामुदायिक विद्यालयहरुलाई मतदान केन्द्र बनाईएको हो । जसकारण बुधबार वडा नं. २ को जनता मा.वि, वडा नं. ४ को आधारभुत निम्न मा.वि, वडा नं. ६ को शिक्षा सदन मा.वि, वडा नं. ७ को बालिका मा.वि, वडा नं. ८ को महेन्द्र मा.वि, वडा नं. ९ को सरस्वती मा.वि, वडा नं. १३ को बाल निम्न मा.वि र वडा नं. १८ को जनक आधारभुत विद्यालय सुचना निकालेरै बन्द गरिएका हुन् ।

२०६८ जेठ ११ गते बसेको नेपाल सरकार मन्त्रिपरिषदको बैठकले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको थियो । सोही घोषणाको कार्यान्वयनका निमित्त ‘विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८’ समेत तयार पारिएको थियो । सरकारले तयार पारेको उक्त निर्देशिकामा शैक्षिक गतिविधिलाई असर पर्ने गरि विद्यालयमा कुुनैपनि किसिमको राजनितिक गतिविधि गर्न नपाईने भनी उल्लेख गरिएको छ । निर्देशिकामा विद्यालय परिसरमा कुनैपनि राजनितिक दलको नारा वा प्रचार सामाग्री लेख्न तथा टाँस्न समेत प्रतिबन्ध लगाईएको छ ।

तर, विराटनगरका निजी विद्यालयहरुमा पठनपाठन भईरहँदा सरकारी विद्यालयमा भने निर्वाचनको कार्यक्रम राखिएको छ । यसले विद्यार्थीहरुको पठनपाठनमा असर पुग्नुका साथै गलत नजिर स्थापित भएको वडा नं. ७ का स्थानीय श्याम थापाले बताए । उनले विद्यार्थीहरुको नियमित अध्ययनमा अवरोध पुग्ने यस किसिमका गतिविधिमा रोक लगाउनुपर्ने माग गरे । ‘यसअघि पनि स्थानीय जनप्रतिनिधिकै उपस्थितिमा यस किसिमका राजनितिक कार्यक्रमहरु हुँदै आएका छन् । तर, विद्यार्थीको पढाई बिग्रन्छ भने कसैले सोच्दैनन् ।’

विराटनगर–२ स्थित जनता माध्यमिक विद्यालयलाई महानगर बहुप्राविधिक शिक्षालयको रुपमा रुपान्तरण गरिएको छ । महानगरका मेयर भीम पराजुलीकै पहलमा बहुप्राविधिक शिक्षालयको स्थापना गरिएको हो । यद्यपि सोही विद्यालयमा समेत विद्यार्थीको नियमित पठनपाठनलाई अवरोध गर्ने गरि पार्टीको निर्वाचन कार्यक्रम राखिएको छ । महानगरपालिकाकी उप–मेयर इन्दिरा कार्की पनि सोही वडाबाट क्षेत्रीय प्रतिनिधि पदकी उम्मेदवार छिन् ।

बुधबार बन्द गरिएका यी ८ विद्यालयहरुमा मात्रै झण्डै १० हजार बढी विद्यार्थीहरु अध्ययनरत छन् । तर, उनीहरुको भबिष्यको खयाल नगरी मतदानकै लागि विद्यालय बन्द गरिनु सरासर गलत भएको विराटनगर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख दुर्गाप्रसाद खतिवडाले बताए । उनले यस बिषयमा पार्टी स्वयंम संवेदनशील हुनुपर्ने धारणा व्यक्त गरे । ‘पार्टीले ध्यान दिनुपर्ने कुरा हो । विद्यालय शान्तिक्षेत्र निर्देशिकामा उहाँहरुले पनि हस्ताक्षर गर्नुभएको छ,’ उनले भने, ‘अब यस बिषयमा महानगरले पार्टीलाई कारबाही गर्न मिल्दैन् । पार्टीलाई सोध्नुस, पार्टीले नै स्पष्टिकरण दिन्छ ।’

चार दिनअघि विराटनगर ११ स्थित जनपथ मा.वि.मा समेत काँग्रेसको भेला आयोजना गरिएको थियो । तर, त्यहाँका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोईरालाले विद्यालयमा राजनितिक कार्यक्रम गर्न नदिने भनेपनि सो भेला सारिएको थियो । हाल वडा नं. ११ को मतदान भने संगम पार्टी प्यालेसमा राखिएको छ । तर, विराटनगर सहित मोरङका अधिकांश स्थानीय तहका सामुदायिक विद्यालयहरु बुधबार मतदान केन्द्र बनेका छन् । शिक्षा विकास तथा समन्वय इकाईको अनुमति बेगरै विद्यालयहरुमा निर्वाचनको कार्यक्रम राखिएको कार्यालय प्रमुख टंक गौतम बताउँछन् । नियमले नमिल्ने भएपनि विद्यालय व्यवस्थापन समितिको सहमतिमा कार्यक्रम राखिएको हुनसक्ने उनको भनाई छ ।

सम्बन्धित बिषयमा बोल्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भने विद्यालयमा निर्वाचन गराउन महानगरले अनुमति नदिएको बताए । उनले कोभिडको जोखिमले गर्दा नियमित पठनपाठन नभईरहेको विद्यालयहरुमा मात्रै वडाध्यक्षहरुसँगको सहमतिमा मतदान केन्द्र तोकिएको जानकारी दिए ।

बुधबारको मतदानबाट पार्टीका क्रियाशीलहरुले भने वडाको नेतृत्व, बुथ सभापति र क्षेत्रीय प्रतिनिधिलाई निर्वाचित गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्