विराटनगरका सुपथमूल्य पसल : चहार्दा–चहार्दै रात पर्छ

विराटनगरका सुपथमूल्य पसल : चहार्दा–चहार्दै रात पर्छ

विराटनगर । सरकारले दशैं, तिहार र छठ पर्व लक्षित विराटनगरमा सञ्चालनमा ल्याएका सुपथमूल्यका पसल चाहार्दा–चाहार्दै उपभोक्ताको भने दिन बित्ने भएको छ । विराटनगरका तीन स्थानबाट सरकारी सहुलियत दरमा पाइने भनिएको नुन–चिनी, चामल–दाल, घ्यू–दहिका खरिद गर्ने एकिकृत पसल सञ्चालन नहुँदा उपभोक्ताले सरकारी सुपथमूल्यका पसलबाट लाभ लिन नसक्ने भएका हुन् ।

उपभोक्तालाई चाडपर्वमा सहूलियत दरमा खाद्यन्न तथा खाद्य वस्तु बिक्री गर्नका लागि सरकारले तोकेका तीन निकायले विराटनगरमा आफ्नै कार्यालय परिसरबाट सामाग्री बिक्री गर्नेछन् । तर, बिक्री केन्द्रमा सहुलियत दरका सामाग्री खरिद गर्न भने उपभोक्ताका लागि सहज छैन ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.को प्रादेशिक कार्यालयले कोशी प्रोजेक्टबाट तीन प्रकारको चामल र दाल बिक्री गर्ने गरि केन्द्र स्थापना गरेको छ । कोशी प्रोजेक्टमा चामल खरिद गर्न गएका सेवाग्राहीले साल्टट्रेडिङ कर्पोरेशनको विराटनगर कार्यालय मलाया रोडमा आएर नुन–चिनी खरिद गर्नुपर्नेृ हुन्छ । त्यहिपनि साल्ट ट्रेडिङले चिनी अभाव भएको भन्दै नुन मात्रै बिक्री गर्नेछ ।

चामल–दाल, नुन–चिनी खरिद गरेका उपभोक्ताले घ्यू–दहि खरिदका लागि दुधफारम पुग्नुपर्नेछ । कोशी प्रोजेक्टदेखि साल्टट्रेडिङको दुरी १ किलोमिटरमा पर्दछ भने साल्टट्रेडिङ देखि दुधफारमको दुरी ७ किलोमिटर दुरीमा पर्दछ । आफ्नै सवारी हुँदा उपभोक्तालाई एक पसलदेखि अर्को स्थानमा पुग्न १५ मिनेट लाग्दछ ।

उपभोक्ताले यी सुपथमूल्यका पसलमा पुगेर सरकारी सहूलियतका सामान खरिद गर्न भन्दा बजारमा खरिद गरेर घर लैजान सहज हुने देखिन्छ ।

विराटनगरका सुपथमूल्य पसलमा सरकारी सहूलियतका सबै सामाग्री एउटै छानामुनीबाट खरिद–बिक्री गर्ने प्रवन्ध नहुँदा सरकारी योजना नाम मात्रैको हुने देखिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. प्रादेशिक कार्यालय विराटनगरका प्रमुख महेन्द्र सिटौलाले स्थानीय प्रशासन र स्थानीय तहहरुमा जानकारीका लागि पत्रचार गरिएको भएपनि एकिकृत खरिद–बिक्री केन्द्र स्थापनाका लागि कुनै पहल नभएको बताउनुभयो । उहाँले जनशक्ति अभावका कारण वस्तु उपलब्ध हुने स्थानबाट मात्रै खरिद गर्न सकिने सुविधा रहेको बताउनुभयो ।

प्रदेश १ का विभिन्न जिल्लाका १४ स्थानमा यस्तै किसिमका सुपथमूल्य पसल सञ्चालनमा आएको दावी गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. अन्तर्गत ११ वटा, साल्ट टे«डिङका दुई र दुग्ध विकास संस्थान अन्तर्गत एक स्थानबाट सूपथमूल्यमा खाद्य सामाग्री, नुन–चिनी तथा दुग्ध पदार्थ सम्बन्धि सामाग्री पाइने छ । तर, विराटनगरसहित अन्य जिल्लामा सञ्चालनमा आएका भनिएका सुपथमूल्यका पसल समेत उपभोक्ताको पायक पर्ने भन्दा पनि सरकारी योजनाको प्रचार गर्ने खालको मात्रै छ । यस्तो केन्द्रमा राखिएका सामाग्री खरिद गर्न उपभोक्तालाई सहज छैन ।
विराटनगरको कोशी प्रोजेक्टमा रहेको चामल–दालको सुपथ मूल्य सञ्चालनमा आएको एक हप्ता पुग्न लाग्दा समेत फाट्टफुट्ट बाहेक उपभोक्ता आएका छैनन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.का प्रमुख सिटौलाले ं ‘यसो–त्यसो’ पसल सञ्चालनमा आएको बताउनुभयो ।
यो कार्यालयले विराटनगरमा कोशी प्रोजेक्ट नजिक, मुख्य शाखा कार्यालय बिर्तामोड, शाखा कार्यालयहरु भोजपुर, संखुवासभा र डिपो हटियागोला, शाखा कार्यालय ताप्लेजुङ, ओखलढुंगा, शाखा दिक्तेल, डिपो ऐसेलुखर्क र खोटाङ, शाखा कार्यालय सोलुखुम्बुमा सूपथमूल्य पसल सञ्चालनमा ल्याएको छ ।

सञ्चालनमा आएको भनिएका स्थानबाट स्थानीय बासमती चालम प्रतिकेजी १०५ रुपिँया, स्टिम जिरा मसिनो ६० रुपिँया, सानो मंसुली प्रतिकेजी ४५ रुपिँया, मसुरो दाल प्रतिकेजी १२० रुपिँया, मास दाल प्रतिकेजी १६५ र रहर दाल प्रतिकेजी १७० रुपिँयाले उपलब्ध हुने प्रादेशिक प्रमुख सिटौलाले जानकारी दिनुभयो ।
यसैगरी नुन र चिनी बिक्री गर्ने साल्ट टे«डिङ अन्तर्गत विराटनगर कार्यालय र शाखा कार्यालय बिर्तामोडमा सूपथमूल्यको पसल सञ्चालन हुने प्रादेशिक कार्यालय प्रमुख राधेश्याम चौधरीको भनाई छ । नुन १८ रुपिँया र चिनी ८० रुपिँया प्रतिकेजी उपलब्ध हुनेछ । त्यहि पनि साल्ट ट्रेडिङसँग चिनी अभाव छ ।

दुग्ध विकास संस्थान अन्तर्गतका सामाग्रीको सुपथमूल्य पसले विराटनगरस्थित आयोजनाको कार्यालय दुधफारम परिसरमा मात्रै सञ्चालनमा छ । उत्पादित वस्तुको मूल्य नखुलाएको आयोजनाले अन्य स्थानमा सामाग्री राखेको छैन ।
छठको भोलिपल्ट अर्थात कात्तिक २४ गतेसम्म ५५ दिनसम्म शनिबार बाहेक १०–४ बजेसम्म सुपथ मूल्य पसल सञ्चालनमा आउने छ । चाडपर्वमा बजारमा उपभोक्ता मूल्य नियन्त्रण गर्न सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलमा बजार भन्दा कम्तीमा २ रुपैयाँमा सस्तोमा खाद्य वस्तु उपभोक्ताले खरिद गर्न सक्ने सरकारी दाबी छ ।

सहुलियत पसलमा उपभोक्ताले सबैखाले खाद्य वस्तुमा कम्तीमा दुई रुपैयाँदेखि बढीमा १० रुपैयाँसम्म प्रतिकिलोमा छुट पाउने छन् । खाद्य र साल्टको दुवै पसलहरुमा नुन प्रतिकिलोमा दुई रुपैयाँ, चामल, दाल, चिउरा र आँटामा प्रतिकिलो पाँच रुपैयाँ छुट पाइने छ । यस्तै तोरी र सूर्यमुखीको तेलमा प्रतिलिटर ५ रुपैयाँ र भटमासको तेलमा प्रतिलिटर १० रुपैयाँ छुट पाइने छ । दुग्ध विकास संस्थाको उत्पादन पनि छुटमा बिक्री केन्द्रमा हुने भएपनि कुन वस्तुमा कति छुट भन्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्