नेपाल एक चीन नीतिको पक्षमा सँधै प्रतिबद्ध : राष्ट्रपति

नेपाल एक चीन नीतिको पक्षमा सँधै प्रतिबद्ध : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा मित्रराष्ट्र चीनले शासकीय प्रबन्ध र अर्थतन्त्रमा हासिल गरेको अभूतपूर्व सफलता आजको विश्वमा आम चासो, चिन्तन र जिज्ञासाको विषय बन्न पुगेको बताउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा विहिबार आयोजित ‘सी चिनफिङ : चीनको शासन व्यवस्था, खण्ड २’ नेपाली संस्करण पुस्तकको लोकार्पण एवं खण्ड ३ को परिचयात्मक समारोहलाई सम्बोधन गर्दै उहाँले विज्ञान तथा प्रविधिको अनुसन्धान, विकास र आविस्कारका क्षेत्रमा चीनले अभूतपूर्व उपलब्धि हासिल गरेको बताउनुभयो ।

गत सेप्टेम्बर १७ मा चिनियाँ अन्तरिक्ष वैज्ञानिक सम्मिलित सेन्झाउ–१२ अन्तरिक्ष यानले सफलतापूर्वक आफ्नो लक्ष्य पूरा गरेको प्रसङ्ग स्मरण गर्दै यसका लागि चिनियाँ जनता र आफ्ना चिनियाँ समकक्षीलाई राष्ट्रपतिले बधाई दिनुभयो ।

सी चिनफिङले आधुनिक चीनमा क्रान्ति, निर्माण र सुधारका साथै चिनियाँ राष्ट्रको पुनर्जागरणका लागि महत्वपूर्ण योगदान गर्नुहुने माओ जेदोङ तङ स्याओफिङ, जियाङ जेमिनलगायतका अग्रणी नेतृत्वको योगदानलाई निरन्तरता दिँदै ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’ निर्माणको अभियानलाई कुशलतापूर्वक नेतृत्व गरिरहनुभएको राष्ट्रपतिले उल्लेख गर्नुभयो ।

चिनियाँ राष्ट्रपतिले अवलम्बन गर्नुभएको वातावरणमैत्री दिगो विकासका माध्यमबाट जलवायु परिवर्तनले उत्पन्न गरेका चुनौती सामना गर्न चीन सक्षम हुनेछ भन्ने आफूले विश्वास लिएको राष्ट्रपति भण्डारीको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “चीनले अङ्गीकार गरेको मानवकेन्द्रित हरित विकास नीतिका माध्यमबाट मानव अधिकारका मूलभूत मान्यताको संरक्षणमा समेत टेवा पुगेको मैले महसुस गरेको छु । यस परिप्रेक्ष्यमा ‘मानवजातिका लागि साझा भविष्यसहितको विश्वसमुदाय निर्माण’ गर्ने महामहिम सीको परिकल्पना सराहनीय छ ।”

अतिकम विकसित र विकासोन्मुख मुलुकलाई भौतिक पूर्वाधार निर्माणमा सहयोग गरी विकासका अवसर प्रदान गर्ने राष्ट्रपति सी को परिकल्पनाको समेत उहाँले प्रशंसा गर्नुभयो । आफ्ना चिनियाँ समकक्षीको नेतृत्वमा करोडौँ चिनियाँ जनतालाई गरिबीको रेखाबाट माथि उठाउँदै सन् २०२० भित्र चीनबाट गरिबी निवारण गर्ने अभियानमा ऐतिहासिक सफलता मिलेको र यसबाट सन् २०३० सम्म विश्वमा सबै प्रकारको गरिबी निवारण गर्ने दिगो विकासको लक्ष्य हासिल गर्नसमेत चीनले महत्वपूर्ण योगदान पु¥याएको छ भन्ने आफूलाई लागेको उहाँले बताउनुभयो ।

सन् २०२५ सम्ममा विश्वको प्रमुख नवप्रवर्तन तथा प्रविधि राष्ट्र बनाउने चीनको लक्ष्यमा सफलता मिलोस् भनी उहाँले शुभकामना दिनुभयो । राष्ट्रपतिले भन्नुभयो, “नेपाल र चीनबीच परापूर्वकालदेखि नै मैत्रीपूर्ण घनिष्ठ सम्बन्ध रहिआएको छ । भूगोल र प्रकृतिले हामीलाई एक अर्कासँग निकट बनाएका छन् । हाम्रा दुई देशलाई महान् बौद्ध सभ्यताको साझा विरासतले आपसमा जोडेको छ । हाम्रा दुवै देशले पारस्परिक मित्रता एवं विकासमा साझेदारीलाई ठूलो महत्व दिएका छन् ।”

राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिका पक्षमा सदैव दृढतापूर्वक उभिएको तथा जायज चासो र सरोकारप्रति नेपाल सधैँ संवेदनशील रहेको स्पष्ट पार्नुभयो । नेपालको बहुआयामिक विकासका लागि मित्रराष्ट्र चीनबाट नेपालले सहयोग प्राप्त गर्दै आएको, पछिल्ला वर्षमा चीन सरकारद्वारा प्रवद्र्धन गरिएको ‘बेल्ट एण्ड रोड’ पहलको नेपाल सदस्य बनेकोसमेत राष्ट्रपतिले उल्लेख गर्नुभयो ।

हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाललाई नेपालले अवसरका रूपमा ग्रहण गरेको भन्दै उहाँले नेपाललाई भू–परिवेष्ठित राष्ट्रबाट भू–जडित राष्ट्रका रूपमा विकास गर्नका लागि चिनियाँ भूमि हुँदै समुद्रसम्म पहुँच प्राप्त गर्न हाम्रा दुवै देशबीच सम्झौता भएको स्मरण गर्नुभयो ।

पूर्वाधारको पनि पूर्वाधारका रूपमा रहेको शिक्षा क्षेत्रको विकासमा चीन सरकारले प्रदान गर्दै आएको सहयोगका लागि आभार प्रकट गर्दै राष्ट्रपति भण्डारीले यस क्षेत्रमा हाम्रो साझेदारीलाई थप सघन तुल्याउनुपर्दछ भन्ने आफूलाई लागेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो सहकार्यबाट उत्पादित शैक्षिक जनशक्तिको सदुपयोग गरी समृद्धिको यात्रालाई सफल बनाउनुपर्ने खाँचो रहेको मैले महसुस गरेको छु ।” नेपाल–चीन मित्रतालाई प्रगाढ बनाउन विभिन्न समयमा उच्चस्तरीय भ्रमण तथा विचार आदानप्रदान हुँदै आएको तथ्य पेश गर्दै राष्ट्रपति भण्डारीले सन् २०१९ अक्टोबरमा चिनियाँ राष्ट्रपति सीले गर्नुभएको नेपालको ऐतिहासिक राजकीय भ्रमण एवं सोही वर्षको अप्रिल–मे मा भएको आफ्नो चीन भ्रमण तथा विभिन्न समयमा भएका सौहार्दपूर्ण वार्ताको स्मरण गर्र्नुभयो ।

विश्वव्यापी महामारीका रूपमा देखिएको कोभिड–१९ विरुद्धको खोपलाई विश्वसमुदायको सार्वजनिक सेवामा उपलब्ध गराउने र आर्थिकरूपमा सर्वसुलभ बनाई सबैको पहुँच सुनिश्चित गर्ने चिनियाँ राष्ट्रपति सीको मानवतावादी प्रतिबद्धताबाट नेपाललगायत विश्वका धेरै देश लाभान्वित भएको उहाँले बताउनुभयो ।

नेपालका लागि कोभिड–१९ विरूद्धको अभियानमा मित्रराष्ट्र चीनद्वारा उपलब्ध गराइएका खोप, स्वास्थ्य सामग्री र मानवीय सहयोगका लागि नेपाली जनता र नेपाल सरकारकोतर्फबाट मित्र राष्ट्र चीनका जनता र राष्ट्रपतिप्रति उहाँले कृतज्ञता ज्ञापन गर्नुभयो ।

विहिबार लोकार्पण गरिएको पुस्तक ‘सी चिन फिङ चीनको शासन व्यवस्था’ को दोस्रो भागको अध्ययनबाट चीनले पछिल्ला दशकमा हासिल गरेका चामत्कारिक सफलतामा राष्ट्रपति सी चिनफिङका वैचारिक–राजनीतिक दृष्टिकोण, नीति, कार्यक्रम र तिनको सफल कार्यान्वनका लागि विकास गरिएका शासकीय प्रबन्धका’ बारेमा पाठकले जानकारी प्राप्त गर्नसक्ने आफूले विश्वास लिएको उहाँको भनाइ छ ।

चिनियाँ राष्ट्रपति सीद्वारा लिखित ‘सी चिनफिङ चीनको शासन व्यवस्था, खण्ड २’ लाई अनुवाद गरी नेपाली पाठकसमक्ष ल्याउने चीन अध्ययन केन्द्र र अनुवादमा संलग्नलाई समेत राष्ट्रपति भण्डारीले धन्यवाद दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्