विराटनगरमा ६० करोड लागतमा बन्दै नयाँ सामूहिक आवास, २२ कठ्ठामा २७ भिल्ला बन्ने

विराटनगरमा ६० करोड लागतमा बन्दै नयाँ सामूहिक आवास, २२ कठ्ठामा २७ भिल्ला बन्ने

विराटनगर। विराटनगरमा ६० करोड लगानीमा नयाँ सामूहिक आवास निर्माण गरिने भएको छ । विराटनगर महानगरपालिका ७ स्थित सरस्वती टोलमा २२ कट्ठा जमिनमा सामूहिक आवासको निर्माण सुरु गरिएको हो । इष्टर्न सिटी अपार्टमेन्टपछि नयाँ सामूहिक आवास निर्माण हुने भएको छ ।

सीई ग्रुपले विराटनगरका युवा उद्योगी सुरेश राठीलाई सुरुमा स्थानीय विषयका कुरा मिलाउन साझेदार बनाएको थियो । तर, अहिले राठीको त्यसमा कुनै साझेदारी वा संलग्नता नरहेको उनले बताए । सुरुसुरुमा लोकल ईस्यू मिलाउन मलाई नि सहयोग मागेको हो, अहिले निर्माणको काम थालिएपनि म छैन, राठीले भन्नुभयो–विराटनगरमा एउटा नयाँ प्रोजेक्ट भित्रिएका छ । सीईले सामूहिक आवास निर्माण गर्न लागेको जग्गा राठीले नै बिक्री गरेका हुन् ।

३० महिना भित्रमा २७ वटा एकल आवासीय भिल्ला बनाईसक्ने लक्ष्य राखिएको छ । योजना प्रमुख एवं इन्जिनियर विमल भट्टराईका अनुसार आवासीय भिल्ला निर्माणसँगै ग्राहकलाई हस्तान्तरण गरिने छ । सामूहिक आवासमा ए, बी र सी गरी ३ प्रकारका घर हुनेछन् ।

प्रत्येक घरको बिल्ट अप एरिया २ हजार १ सय वर्गफिट हुनेछ। सबै घर साढे दुई तले हुनेछन्। यस्ता घरहरूले ९ धुर जमिन ओगट्नेछन् । यस प्रकारका घरको मूल्य २ करोड २० लाखबाट सुरु हुनेछ। त्यस्तै टाइप बी अन्तर्गत ५ वटा घरको निर्माण गरिनेछ। प्रत्येक घरको बिल्टअप एरिया २ हजार ३ सय वर्गफिट हुनेछ । यी घर पनि साढे दुई तले नै हुनेछन्। टाइप बी अन्तर्गतका घरले ९ देखि १३ धुर जमिन ओगट्नेछन्।

टाइप ए र बी अन्तर्गतका घरमा ४ वटा बेडरुम हुनेछन्। एक बेडरुम मात्र अट्याच बाथरुमयुक्त हुनेछ। बाँकी ३ बेडरुमका लागि २ वटा कमन बाथरुमको निर्माण गरिनेछ। दुबै प्रकारका घरमा छुट्टै पूजा कोठा र लिभिङ कम डाइनिङ रुमको व्यवस्था हुने दावी गरिएको छ । सबैभन्दा माथिल्लो तलाको कोठा विविध उद्देश्यका लागि प्रयोग गर्न सकिनेछ। सबै घरमा वास्तु मिलाउन हरसम्भव प्रयास गरिएको छ । इन्जिनियर समेत रहेका भट्टराईका अनुसार घरभित्रको टाइल्स, मार्बल्स र ग्रेनाइडको कामदेखि रङ रोगनसम्म सबै कम्पनीले नै गरिदिनेछ।
टाइप सीका घरलाई सीडी नामकरण गरिएको छ। यसअन्तर्गतका घरहरू सीई ग्रुपले ग्राहकको डिजाइनअनुसार बनाइदिने भएकाले कस्टमर्स डिजाइन (सीडी) भनिएको हो।

यस्ता घर २ वटा हुनेछन्। यसअन्तर्गत कति जमिनमा कस्तो प्रकारको घर भन्ने निर्णय ग्राहककै हुनेछ। घर खरिद गर्ने सबै ग्राहकले मालपोत कार्यालयबाट जारी गरिने जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) पनि पाउनेछन्।
इन्जिनियर भट्टराईले टाइप ए र बी अन्तर्गतका घर खरिद गर्नेले पहिला ३० लाख रुपैयाँ एडभान्स दिएर प्रत्येक ३ महिनामा ९ किस्ता गरेर रकम तिर्नसक्नेछन् । यसबाहेक सामूहिक आवासमा निर्माण गर्न लागिएको सामुदायिक भवन र यसको कोषका लागि १ लाख रुपैयाँ छुट्टै बुझाउनु पर्नेछ। यस सामूहिक आवासभित्र एक सामुदायिक भवनसहित, गणेशको एक मन्दिर र एक खुला पार्कसमेतको निर्माण गरिनेछ।
आवासभित्र महानगरबाट स्वीकृत ६ मिटर चौडा भएको पिचसडकसहित आधुनिक ढल निकास र खानेपानीको पाइपलाइनको व्यवस्थासमेत गरिनेछ। योजना प्रमुख भट्टराईले आगामी ३० महिनासम्म दैनिक १ सय कामदारले निर्माण कार्य गर्ने उल्लेख गर्दै हाल ३० जनाले काम गरिरहेको जानकारी दिए ।

भट्टराईले ग्राहकले घर खरिद गरिसकेपछि आफ्नो इच्छाअनुसार थप्न, फोर्न, भत्काउन नपाइने नियम रहेको सुनाए। उनले अनुभवी जनशक्तिले मापदण्डअनुसारका गिटी, बालुवा, सिमेन्ट, डन्डी र अन्य केमिकलको प्रयोग गरेर घर बनाउने जिकिर गरे। आवासका लागि विराटनगर महानगरपालिकाबाट नक्सा पास लगायतका सबै प्रक्रियाहरूको काम भईरहेको छ । महानगरपालिकाले आगामी हप्ता भित्रमा इजाजत दिएपछि कंक्रिटीङको काम सुरु गर्नेछौं, भट्टराईले भन्नुभयो–यस योजनामा सीई ग्रुपले सबै कामहरु एउटै हाउसबाट गर्नेछ । नेपाल सरकारको शहरी विकास मन्त्रालयअन्तर्गतको बबर महलस्थित भवन विभागले जारी गरेको राष्ट्रिय भवनसंहिताका प्रावधानभित्र रहेर सामूहिक आवासका घर बनाइनेछ ।

यस्ता घरहरू भूकम्प प्रतिरोधी हुने दाबी छ। यस्ता घरलाई ख वर्गका घर भन्ने गरिन्छ। सीई ग्रुपले उपत्यकाबाहिर १६ वर्षअघि २०६२ सालमा धरानको गणेशमान चौकमा १४ कठ्टा जमिनमा १५ वटा घरको सामूहिक आवास निर्माण गरेर विक्री गरेको थियो । सीईले उपत्यकाबाहिर धरानपछि विराटनगरमा दोस्रो पटक कारबार गर्न लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्