दिनदहाडै मोरङमा लुटपाट गर्ने ४ जना थुनामा र ३ जनालाई छाड्न अदालतको आदेश

<span class='c1'>दिनदहाडै मोरङमा लुटपाट गर्ने ४ जना थुनामा</span> <span class='c2'>र ३ जनालाई छाड्न अदालतको आदेश</span>

विराटनगर । मोरङको सुन्दरहरैँचामा स्वचालित हतियारको आडमा दिनदहाडै लुटपाटको प्रयास गर्ने हतियारधारी गिरोहका सम्बन्धमा जिल्ला अदालत मोरङले आइतबार आदेश जारी गरेको छ ।

न्यायाधीश सुदर्शन लामिछानको इजलासले चार जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अरु तीन जनालाई भने धरौटी र साधारण तारेखमा छाड्ने आदेश अदालतबाट भएको छ । पछि ठहरे बमोजिम हुने गरी तत्काल प्राप्त प्रमाणका आधारमा चार जनालाई थुनामा राख्न र तीन जनालाई धरौटी रकम लिएर तथा साधारण तारेखमा छाड्न आदेश भएको अदालतको सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए ।
उनका अनुसार अदालतको आदेशअनुसार संखुवासभा घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा बस्दै आएका ३९ वर्षीय चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका–१ का ४५ वर्षीय डाइमण्ड भनिने प्रमोद चौधरी, ३३ वर्षीय आशिष भनिने सविनकुमार चौधरी र भोजपुर घर भइ तरहरामा बस्दै आएका ३० वर्षीय नगेन्द्र राई कारागार चलान भएका छन् ।
अदालतले मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का २२ वर्षीय मिसन राईलाई १ लाख ५० हजार र सुन्दरहरैँचा–७ का ३१ वर्षीय सन्तोष राईलाई १ लाख २५ हजार रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको धमलाले बताए । उनका अनुसार मिसन र सन्तोष धरौटीवापतको रकम जम्मा गरेर छुटेका छन् । संखुवासभा घर भइ तरहरामा बस्दै आएका चिरञ्जीवी राई भने अदालतको आदेशपछि साधारण तारेखका छुटेका छन् ।
धमलाले वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीको थुनछेक बहस सकिएपछि अदालतबाट आदेश आएको बताए । मोरङ प्रहरीले मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पारेर संगठित गिरोहका ७ जनाविरुद्ध जिल्ला अदालत मोरङमा हातहतियार खरखजना, डाँका उद्योग, ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा दर्ता गरेको थियो ।
प्रहरीले उनीहरुलाई गत साउन दोस्रो साता मोरङ र सुनसरीका विभिन्न स्थानबाट पक्राउ गरेको हो । गिरोहबाट प्रहरीले एउटा एसएमजी, त्यसको म्याग्जीन, ६२ राउण्ड गोली, कटुवा र अटोमेटिक गरेर दुईवटा पेस्तोल, पेस्तोलको एउटा म्याग्जीन, पेस्तोलको २ र थ्री नट थ्री राइफलको ४ राउण्ड गोली, दुईवटा सञ्चार सेट र १६ हजार १ सय रूपैयाँ बरामद गरेको थियो । त्यस्तै यो गिरोहले प्रयोग गर्दै आएको एउटा अटो टेम्पो, ४ वटा मोटरसाइकल र ८ वटा मोबाइल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्