अदालत अगाडि व्यवसायीलाई खुकुरी हान्न लगाउने साझेदार पक्राउ

अदालत अगाडि व्यवसायीलाई खुकुरी हान्न लगाउने साझेदार पक्राउ

विराटनगर । उच्च अदालत विराटनगर अगाडि दिनदहाडै व्यवसायी कमानसिंह लामामाथि खुकुरी प्रहार गर्न लगाउने अर्का साझेदार पनि पक्राउ परेका छन् ।

पक्राउ पर्ने मोरङको धनपालथान गाउँपालिका १ का ५३ बर्षीय मोहम्मद साजिद मियाँ रहेका छन् । पक्राउ परेका मियाँ लामाका व्यवसायिक साझेदार हुन् । आईतबार दिउँसो लामालाई विराटनगर ६ घर भई जनपथटोलमा बस्दै आएका २७ बर्षीय बिमल कार्कीले खुकुरी प्रहार गरि घाइते बनाएका थिए । लामालाई खुकुरी प्रहार गर्न कार्कीलाई प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । लामामाथि भएको खुकुरी प्रहार व्यवसायिक स्वामित्वसँग जोडिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ३२ बर्षीय लामाका साझेदार रहेका मोहम्मद साजिद मियाँले उजुरी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले उनको उद्योगको कारोबार रोकिदिएको थियो । प्रशासनको निर्णयविरुद्ध लामा जिल्ला अदालत जाने तयारीमा थिए । आईतबार बिहान काठमाडौंबाट आएका उनी जिल्ला प्रशासन कार्यालय हुँदै मुद्दा दर्ताको विषयमा सल्लाह गर्न वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको ल फर्म पुगेका थिए । त्यहाँबाट निस्किएर आफ्नो गाडीतर्फ जाँदै गर्दा दुई जनाको हतियारधारी समूहले उनीमाथि खुकुरी प्रहार गरेको थियो ।

खुकुरी प्रहार गर्ने कार्की सोही दिन पक्राउ परिसकेका थिए भने अर्का एकजना फरार थिए । फरार मियाँलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको हो । पक्राउ परेका दुवैमाथि कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्