राहत पाउँदा सयौं पीडा भुल्छन् विराटनगरलाई सफा राख्ने सफाईकर्मी

राहत पाउँदा सयौं पीडा भुल्छन् विराटनगरलाई सफा राख्ने सफाईकर्मी

विराटनगर । कोरोना कहरमा मनमा डर पालेर पनि बिहान ४ बजे नै विराटनगर महानगरपालिकालाई सफा राख्न उठ्ने श्रुती मरिक आफ्नै दैनिकीका सुखलाई सधैं पन्छाउँदै आउनु भएको छ । बिहान उठ्ने र नगर पुछ्ने दैनिकी श्रुतीका लागि हातमुख जोड्नेसँग गाँसिएको छ ।
विराटनगरका १९ वडामा ४७ हजार ७९८ घरधुरीले उत्पादन गरेको फोहोर हटाएर नगरलाई सफा राख्ने श्रुती जस्तै २७० हाराहारीका सफाईकर्मीको दैनिकी उस्तै छ । समान दैनिकी र समान पेशाले बाँधिएका उनीहरुका लागि सहानुभूति दर्शाउनेको संख्या भने निक्कै कम छ । महानगरका २ लाख १४ हजार ६६३ जना नागरिकको गणनामा गनिएका सफाईकर्मी र उनका परिवारलाई संकट होला की भनेर कमैले मात्रै सोच्ने गरेको उनीहरुको गुनासो छ ।

पछिल्लो दुईवर्ष कोरोना संक्रमणको भयले धेरैलाई घरभित्रै लुक्न बाध्य बनायो । सरकारले पनि नागरिकलाई घरभित्रै बस्न आदेश गर्दै आयो । तर, नगर सफा गर्ने सफाईकर्मीले सरकारको आदेश अनुसार घरभित्रै बस्ने विदा पाएनन् । विराटनगर–११ की कौशल्यावती मरिकका अनुसार जस्तोसुकै संकटमा पनि नगर सफा गर्नुपर्ने उर्दि जारी भईरह्यो । तर, संकटमा पर्लान् की भनेर सोच्ने समय कसैलाई भएन ।
नगर सफा गर्ने सफाईकर्मीका आफ्नो अनेकौ दुःख छन् । कोरोना संक्रमणकैबीच विभिन्न राजनीतिक दल, सामाजिक संस्थादेखि स्थानीय सरकारसम्मले राहतका कार्यक्रम घोषणा गर्दा प्राथमिकतामा सफाईकर्मी परेनन् । कोरोनाको समयमा एक पटक २५ केजी चामल दिइएको थियो, त्यसपछि कहिल्यै कसैले संकटको बारेमा सोधेनन्, कौशल्यावतीले भन्नुभयो–बरु समयमै सफाईकर्मीले तलव पाएनन् ।

कोरोना समयमा समेत भय र त्रास बोकेर नगर सफा गर्ने सफाईकर्मीले चाडपर्वलाई जोहो जुटाउन उतिकै मुस्किल छ । यस्ता मुस्किललाई बारम्बार पार लगाईसक्नु भएका श्रवण मरिक दुःख गर्नेलाई देख्नेहरुको संख्या कम हुने गरेको बताउनुहुन्छ ।
फोहोर बाहक बनेर दैनिक घरानाका घरमा प्रवेश गरेको देखेर पनि सहानुभूति दर्शाउन नसक्ने शहरीया समाजसँग धेरै आसा राख्नु नहुने श्रवणको बुझाई छ । नगरलाई सफा राखेर आफ्नो पेशा दर्शाउने उनीहरुलाई महिना दिनसम्म काम गर्दा पनि समयमै तलव नपाईएला भन्ने उस्तै चिन्ता रहेको छ ।
कोरोना कहरको डरमा पनि नगर सफाईका लागि खट्ने विराटनगरका सफाईकर्मीले सोमबार साँझ विराटनगर–१० रोडशेषस्थित वेष्ट मेनेजमेन्ट ग्रुप नेपालको शाखा कार्यालयमा अचानक भेला हुने कार्यक्रम जुट्यो ।

कार्यक्रमको आयोजना गरेर राहत सामाग्री हस्तान्तरण गर्ने तयारी गरिएको थियो । बिहानभरीका सयौं दुःख भुलेर राहत लिन आएका उनीहरुका लागि आयोजना गरिएको कार्यक्रममा आउने अथिति धेरै थिए । तीमध्येका विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकि अधिकृत उमेश बस्नेत, सरसफाई शाखाका प्रमुख हिरालाल यादव पनि हुन् । तर, विराटनगर–१० का वडा अध्यक्ष माधवराज वाग्ले को अध्यक्षतामा नेपाल विकास समाजले उपलब्ध गराएको राहत सामाग्री बाँड्नु पर्ने कार्यक्रमलाई महानगरका प्रशासकिय अधिकृत बस्नेत र शाखाका प्रमुख यादवले सामान्य सम्झेर उपस्थित नै भएनन् ।
त्यसपछि राहत लिन आएका सफाईकर्मीहरुको गुनासो थियो, आफ्ना कुरा सुनिदिने व्यक्तिले त हाम्रो लागि आयोजना भएको कार्यक्रमलाई सामान्य सम्झन्छन्, कसको भर पर्न सकिन्थ्यो ? वेष्ट मेनेजेमेन्ट ग्रुप नेपालले महानगरको फोहोरमैला व्यवस्थापनको जिम्मेवारी लिएपछि उनीहरु त्यस कम्पनि मातहतका कर्मचारीको रुपमा काम गर्दै आएका छन् ।

महानगरपालिका क्षेत्रको सफाईकर्ममा दैनिक खटिने लेवर र गाडीका चालकको रुपमा खटिने मात्रै २१३ जना सफाईकर्मीलाई राहतस्वरुप चामल वितरण गरिएको वेष्ट मेनेजमेन्ट ग्रुप नेपाल कार्यन्वयन शाखा प्रमुख निलमणी पराजुलीले जानकारी दिनुभयो । दैनिक महानगरको सफाईमा खटिने उनीहरुलाई राहत प्रदान गरिने कार्यक्रम राखिएपछि चाडपर्व भित्रिएको महसुश गरेका थिए ।
एक बोरा चामल र एक केजी खशीको मासु साथमा दिए हाम्रो लागि चाडपर्व भित्रिन्छ, राहत लिन आएका अर्का एकजना सफाईकर्मीले भने–कर्म गरे वापत कसैले राहत दिने भन्दा सुन्दा अर्कै आनन्द लाग्छ ।

उनीहरुलाई राततको जोहो नेपाल विकास समाजले गरेको थियो । त्यसलाई वितरण गर्न विराटनगर महानगरपालिकालाई साक्षी राखिएको थियो । महानगरका नागरिकलाई राहत वितरण गर्ने कार्यक्रममा वडा अध्यक्ष वाग्लेले सफाईकर्मीको आदर सधैं हुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । नगरलाई सफाई गर्ने सफाईकर्मी नै महानगरका सच्चा नागरिक हुन्,वाग्लेले भन्नुभयो–यत्रो कोरोना कहरमा पनि कहिल्यै राहत पाउने सूचिमा राख्न सकिएनछ ।
सफाईकर्मीले आफ्नो दैनिक पेशामा संलग्न हुँदा पनि स्वास्थ्य सुरक्षा प्रदान गर्ने सामाग्री कम प्रयोग गर्न पाउने गरेका छन् । एक पटक दिएको सामाग्री बिग्रिए वा च्यातिए हतपत् पुनः दिने गरिएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्