लाइन काट्न गएका कर्मचारीलाई हातपात, होटलका सञ्चालकलाई माफी मगाएर छोडियो

लाइन काट्न गएका कर्मचारीलाई हातपात, होटलका सञ्चालकलाई माफी मगाएर छोडियो

विराटनगर । समयमै महसुल भुक्तानी नगरेका ग्राहकको लाइन काट्ने क्रममा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र विराटनगरका कर्मचारीलाई हातपात गरिएको छ । विराटनगर–१२ स्थित होटल इष्टर्न स्टारले महसुल बक्यौता नबुझाएपछि लाइन काट्ने क्रममा प्राधिकरणका इलेक्ट्रिसियन तारानाथ खतिवडालाई हातपात भएको हो ।

घटना लगतै इष्टर्न स्टार होटलका सञ्चालक तुलसी पोखरेलले गुण्डागर्दीशैलीमा कर्मचारीलाई हातपात गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालयमा प्राधिकरणले कारवाहीको माग गर्दै उजुरी गरेको थियो । प्रहरीले पोखरेललाई नियन्त्रणमा लिएपछि भएको दुईतर्फी छलफलमा घटनाको मिलापत्र भएको प्राधिकरणका सूचना अधिकारी भरत केसीले जानकारी दिनुभयो ।

पोखरेलसहित होटलका कर्मचारीले हाम्रा कर्मचारीलाई केहिबेर थुनेर राखेछन्, त्यसपछि हातपात समेत गरेछन्, केसीले भन्नुभयो–प्रहरीले उद्धार गरेपछि हामीले कानुनी कारवाहीको बाटो समाएका थियौं । पोखरेलले घटनामा कमजोरी भएको भन्दै माफी मागेपछि एक पटकलाई छोडिएको केसीले बताउनुभयो । इष्टर्न स्टार होटलले ३ लाख भन्दा बढी बक्यौता बुझाउन बाँकी थियो । बक्यौता बुझाउने ६०दिन म्याद कटाएपछि प्राधिकरणले टोलि खटाएर लाइन काटेको थियो ।

घटनापछि क्रियाशिल ट्रेड यूनियनले निन्दा गरेको छ । नेपाल बिद्युत प्राधिकरण कर्मचारी संघ, विराटनगर इकाई र नेपाल बिद्युत प्राधिकरण कर्मचारी यूनियन विराटनगर इकाईले घटनाको घोर भत्र्सना गरेका थिए ।
संघका अध्यक्ष राजेन्द्र प्रसाद राजबंशी र यूनियनका अध्यक्ष व्यासी शाहीले विज्ञप्ती प्रकाशित गर्दै कर्मचारीमाथी हातपात गर्ने सञ्चालक पोखरेललाई पक्राउ गरेर कानुनी कारवाही हुनुपर्ने माग गरेका थिए । पोखरेललाई कारवाही नहुँदासम्म बिद्युत प्राधिकरणको लाइन जडान नगर्न समेत माग गरिएको थियो ।

इष्टर्न स्टारका सञ्चालक भवेश श्रेष्ठले सामान्य कुरा मात्रै भएको बताउनुभयो । उहाँले कोरोना संक्रमणका कारण समस्यामा रहेका होटलले बक्यौता समयमै भुक्तानी गर्न नसकिएको दावी गर्नुभयो । यस अगाडी होटलका सञ्चालकले लाइन काट्न आउने अवस्था सिर्जना भए तीनदिन अगाडी जानकारी गराईदिन प्राधिकरणलाई आग्रह गरेका थिए । यस अगाडीका कार्यलय प्रमुख हुँदासम्म त्यो सहमति कार्यन्वयन भएपनि नयाँ हाकिम आएपछि काम देखाउन खोजेको दावी गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्