विराटनगर भन्सारबाट पुनः चोरीतस्करीका सामान भित्रियो, भिसिटिएसमा विवरण नभेटिएपछि राजश्वले अनुसन्धान गर्दै

विराटनगर भन्सारबाट पुनः चोरीतस्करीका सामान भित्रियो, भिसिटिएसमा विवरण नभेटिएपछि राजश्वले अनुसन्धान गर्दै

विराटनगर । विराटनगर भन्सार कार्यालयबाट पुनः चोरीतस्करीका सामान भित्रन थालेको छ । भन्सार जाँचपासमै सेटिङ गरेर छोडिएको ३४ लाख मूल्य बराबरको कपडा बोकेको एउटा ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि यस्तो खुलेको हो ।
यस अगाडी समेत यस्तै प्रकृतिका मालवस्तु बोकेका गाडी सशस्त्रले नियन्त्रणमा लिएको थियो । पछिल्लो समय बुधबार सशस्त्रले जाँचपास गरेर भन्सारबाट निस्किएको अर्को गाडी नियन्त्रणमा लिएको छ ।

भिसिटिएस (भेहिकल्स कन्साइन्मेनट एण्ड ट्र्याकिङ सिस्टम) मा मालवस्तु र गाडीको विवरण उल्लेख नगराईकन जाँचपास गरिएको ट्याक्टर सशस्त्रले पक्राउ गरेको छ । ३४ लाखको कपडा बोकेको ट्याक्टर र सामान सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) विराटनगरले विराटनगर महानगरपालिका–१६ पारिजात चोकबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको ट्याक्टर र सामान अनुसन्धानको लागि इटहरी स्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए । भीसीटीएस नम्बर उल्लेख नभएपछि प्रहरीले चालक भारत जोगवनीका ३२ वर्षीय पंकज यादवलाई पनि नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीले बीआर ३८ डी ३४४७ नम्बरको ट्याक्टरमा लोड गरिएको ३४ लाखको लत्ताकपडा र ट्याक्टर चालकसहित नियन्त्रणमा लिएर हिंजो साँझ आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ । राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दीपक खड्काले सशस्त्रले बुझाएको ट्याक्टरको नम्बर भीसीटीएस प्रणालीमा उल्लेख नभएको बताए ।

यसअघि पनि विराटनगर भन्सार कार्यालयका कर्मचारी, ऐजन्टर र एजेन्ट प्रतिनिधीको मिलोमतामा १८ लाख रुपैयाँ राजस्व छली गरेको पुष्टि भएको थियो । राजस्व अनुसन्धान कार्यालय इटहरीले कपडा र विभिन्न सामान बोकेको दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान पुरा गरेपछि १८ लाख मुल्य बरावरको राजस्व छलि गरेको पुष्टि भएको थियो । राजस्व छली गरेको आशंकामा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दिपक खड्काको नेतृत्वमा आएको टोलीले विराटनगरदेखि विभिन्न समाग्री बोकेको को २ त ६८११ र बीआर ५० जी ५०५३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको थियो ।
पछिल्लो सामान भने गुलाब साहले भित्र्याएको बुझिएको छ । जया इम्पेक्सले आयात गरेको सामान एजेन्टका प्रतिनिधि मन्टु साहले जाँचपास गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्