दाङमा ज्यूँदो खसीबोकाको खरिद मूल्य निर्धारण

दाङमा ज्यूँदो  खसीबोकाको खरिद मूल्य निर्धारण

देउखुरी।

दाङमा ज्यूँदो खसीबोकाको खरिद मूल्य निर्धारण गरिएको छ । यो वर्ष गत वर्षभन्दा ज्यूँदो खसीको खरिद मूल्यमा प्रतिकेजी रु १५ र बोकाको खरिद मूल्यमा रु ४५ ले वृद्धि गरिएको छ ।

बिहीबार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङको अध्यक्षतामा बसेको मूल्य निर्धारण समितिको बैठकले किसानको मागलाई सम्बोधन गर्दै मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । बैठकले २५ किलोभन्दा माथिको ज्यूँदो खसीको मूल्य रु ५ सय ६५ र २० केजीदेखि २४ केजीसम्मको खसीको मूल्य प्रतिकेजी ५ सय ५० निर्धारण गरेको छ । त्यस्तै १८ केजीभन्दा माथिको ज्यूँदो बोकाको खरिद मूल्य प्रतिकेजी रु ५ सय ४५ निर्धारण गरिएको खसीबोका खरिद समिति जनाएको छ ।

गत वर्ष किसानबाट ज्यूँदो खसी २० देखि २५ केजीसम्मको रु ५ सय ५० र त्यो भन्दा माथिकोलाई प्रतिकेजी रु ५ सय ३५ का दरले खरिद मूल्य निर्धारण गरिएको थियो । त्यसै गरी अघिल्लो वर्ष बोका १८ केजीभन्दा माथिको प्रतिकेजी रु ५ सय ५० का दरले कम्पनीले खरिद गरेको थियो । कम्पनीले गत वर्ष दशैँमा ८ सय १ वटा खसीबोका काठमाडौँ पठाएको थियो । यो वर्षको दशैँ तिहारका लागि एक हजार र ६ सय वटा खसीबोका पठाउन लिखित रुपमा पत्राचार भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालयका प्रमुख नहकुल चौधरीले जानकारी दिनुभयो ।

दशैँ तिहारका लागि यहाँबाट एक हजार खसी बोका खरिद गरी काठमाडौँ पठाइने छ । पहिलो चरणमा ६ सय दोस्रो चरणमा बाँकी खसीबोका खरिद गरेर पठाउने तयारी रहेको उहाँको भनाइ थियो । खसीबोका यही असोज २२ गते काठमाडौँ पुग्ने गरी पठाउने तयारी भएको छ ।

लिमिटेडले दशैँ, तिहार र छठ पर्वका अवसरमा खसीबोका खरिद गरेर सहुलियत दरमा बिक्री वितरण गर्दै आएको छ । योबाहेक खसीबोकाको व्यापार गर्दै आएका व्यक्ति विशेषले पनि व्यक्तिगत सम्पर्कका आधारमा मागबमोजिम काठमाडौँका व्यवसायीका लागि खसीबोका पठाउँदै आएका छन् ।
-रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्