विराटनगर । चाडपर्वलाई लक्षित गरी मोरङको पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरसहित मोरङको विभिन्न पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको हो ।
विराटनगरको बसपार्क, रानी, गछिया, उर्लाबारी र रंगेलीमा यात्रु सहायता कक्षको आइतबार प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) अरुणकुमार बिसीले उद्घाटन गर्नु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । पाँच स्थानमा स्थापना गरिएको हेल्पडेस्कमध्ये विराटनगरमा डिआईजी बिसीले उद्घाटन गरेसँगै स्वतः सबै स्थानमा सक्रिय भएको हो ।
दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरिएको हो । दसैं, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावना लगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको ट्राफिक प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।
यात्रु सहायता कक्षमा यातायातका साधन चल्ने समयसम्म दुईजना प्रहरी रहेर यात्रुहरूलाई सेवा दिइने छ । आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समयजस्ता कुरा यात्रुहरूले सहायता कक्षमा सोध्न सक्नेछन् । कोभिड १९ बाट बच्न स्वास्थ्य मापदण्डको पालना गराउँदै सामाजिक दुरी कायम पनि गरिनेछ । सहायता कक्षहरुमा यात्रा दूरीसहित टिकटको मूल्यको साथै कोरोना नियन्त्रणको विषयमा जानकारी पनि राखिने बताइएको छ ।