नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेटमा सरकारको कम लगानी भए पनि सन्तुष्ट गर्ने ठाउँ रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाले युवा परिषद् सदस्यका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा कप्तान मल्लले जे छ त्यसैमा चित्त बुझाउनुपर्नेमा जोड दिनुभयो । “यो भएन त्यो भएन भनेर गुनासो गर्ने होइन, जे छ त्यसैमा चित्त बुझाउँदै अगाडि बढ्नुपर्छ, समग्र खेल क्षेत्रमा लगानी कम छ”, उहाँले भन्नुभयो, “तर सरकारको लगानीप्रति सन्तुष्ट छु ।” खेल क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार निर्माणमा ध्यान दिएको बताउँदै मल्लले क्रिकेट रङ्गशाला बनाउनेभन्दा पनि त्यसको मापदण्डमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
क्रिकेटकै कारण आईतबार आफू यो स्थानमा रहेको बताउँदै मल्लले भन्नुभयो, “मलाई अहिलेसम्म जति पनि उपलब्धि हासिल भयो, सबै क्रिकेटबाटै भयो । धैर्यता, मिहिनेत र लगनशीलता भए सफलता हासिल गर्न सकिन्छ ।” मल्लले हरेक युवाले आआफ्नो रुची अनुसारको काम र पेशा अवलम्बन गर्नुपर्ने बताउँदै क्रिकेट रोजेकामा आफू सन्तुष्ट रहेको बताउनुभयो । सो क्रममा कप्तान मल्लले क्रिकेटका लागि आफूले गरेको सङ्घर्षका बारेमा युवामाझ अनुभव राख्नुभएको थियो ।
व्यास नगरपालिकाअन्तर्गत १८ देखि २८ वर्ष उमेर समूहका युवालाई समेटेर गठन गरिएको परिषद्का सदस्यलाई शनिबार र आइतबार अभिमुखीकरण प्रदान गरिएको हो । नगरप्रमुख वैकुण्ठ न्यौपानेले समाज विकासको अभियानमा युवालाई जोड्न चाहेको बताउनुभयो । युवासँग प्रतिभा रहेकाले युवाको प्रतिभा पहिचान गरी सामाजिकीकरणको अभियानमा नगरपालिका रहेको न्यौपानेले बताउनुभयो ।
नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले युवा परिवर्तनका संवाहक भएकाले युवाले आफ्नो क्षमता पहिचान गर्न सक्नुपर्नेमा जोड दिनुभयो । युवा अभियान्ता अपार पौडेलले युवा सधैँ सकारात्मक हुनुपर्ने बताउँदै रचनात्मक काममा युवाको सहभागिता अपरिहार्य रहेको बताउनुभयो । युवा नेतृ एलिजा ढकालले अबको नेतृत्व गर्ने भनेको युवाले नै भएकाले युवाले चाहे परिवर्तन सम्भव रहेको बताउनुभयो ।
फायल तस्विर