यस्तो छ प्रदेश नं. १ को नयाँ संसद भवन, असोज २० गते उद्घाटनको तयारी

यस्तो छ प्रदेश नं. १ को नयाँ संसद भवन, असोज २० गते उद्घाटनको तयारी

विराटनगर । प्रदेश नं. १ प्रदेशसभा सचिवालयको नवनिर्मित सुविधा सम्पन्न भवनको उद्घाटन आउँदो असोज २० गते हुने भएको छ ।

असोज २२ गतेका लागि बोलाईएको प्रदेशसभाको आठौं तथा हिउँदे अधिवेशनको बैठक नयाँ भवनमा बस्ने गरि बुधबार उद्घाटन हुने भएको हो । प्रदेश नं. १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यबाट नवनिर्मित भवनको उद्घाटनको तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार हालसम्म भवनको भौतिक संरचना, इन्टेरियर डिजाईन, फ्लोर प्यानलिङ र टेबल कुर्सी व्यवस्थापन लगायतका ९६ प्रतिशत कार्यहरु सम्पन्न भईसकेका छन् । क्यामेरा, साउण्ड सिस्टम जडान र वायरिङको काम मात्र बाँकी छ ।

साविकको प्रदेशसभा भवन साँघुरो भएपछि २०७७ असोज १ गते प्रदेश सरकारले अत्याधुनिक प्रदेशसभा भवन निमार्णको शिलान्यास गरेको थियो । २०७७ फाल्गुण मसान्तभित्र निमार्ण सम्पन्न गर्ने गरि स्वामीनारायण निर्माण सेवा प्रा. लि. धरानले २ करोड ५१ लाख ८१ हजार ९ सय ७६ रुपैयाँमा भवन निमार्णको ठेक्का लिएको थियो । प्रदेशसभाको सातौं तथा बजेट अधिवेशन नयाँ भवनमा सञ्चालन गर्ने तयारीका साथ निर्माण कार्य थालिएपनि भवनको नक्सा र स्वरुपमा भएको परिवर्तनका कारण केही ढिलाई भएको थियो । तर, हाल कुल २ करोड ५९ लाख २० हजार ९ सय ५६ रुपैयाँको लागतमा भवनको भौतिक संरचना निर्माण सम्पन्न भईसकेको छ ।

नवर्निमित भवनमा १७ लाख ७६ हजार ९ सय २५ रुपैयाँको वाल प्यानलिङ र १६ लाख ४३ हजार ३ सय ७० रुपैयाँको लागतमा फ्लोर प्यानलिङको कार्य पनि सम्पन्न भईसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार नयाँ भवनमा १६ लाख ७७ हजार १ सय १७ रुपैयाँको लागतमा साउण्ड सिस्टम जडानको कार्य समेत धमाधम भईरहेको छ । कुल ३ करोड १० लाख १८ हजार ३ सय ६८ रुपैयाँको लागतमा निर्माण सम्पन्न भई तयार भएको प्रदेशसभाको भवन लाईट स्ट्रक्चरको रहेको प्रदेशसभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीले बताए ।

कोभिडको जोखिमलाई दृष्टिगत गर्दै प्रदेशसभाको नवनिर्मित भवनमा सभामुख बाहेक ९२ जना सांसदहरु बस्नका लागि छुट्टाछुट्टै टेबल कुर्सीको व्यवस्था गरिएको छ । नयाँ भवनमा सभामुख र रोष्टम भएको क्षेत्रलाई समेत फराकिलो बनाईएको छ । यसका साथै पत्रकार र अन्य मन्त्रालयगत कर्मचारीहरुका लागि पुरै संसद देखिने गरि हलको माथिल्लो भागमा बस्ने व्यवस्था मिलाईएको छ । दर्शकदिर्घामा कुल ४० जना अट्ने क्षमता छ । जसमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुका लागि २० र अन्य मन्त्रालयगत कर्मचारी तथा सम्बन्धित व्यक्तिहरुका लागि २० वटा सिटको व्यवस्थापन मिलाईएको प्रदेशसभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।

चालु आर्थिक बर्षमा भने मिडिया सेन्टरलाई थप व्यवस्थित बनाउने, बगैचा र पार्किङ सुधार गर्ने तथा पुरानो मिडिया सेन्टरको ठाउँमा प्रहरीहरुको लागि ब्यारेक निर्माण गर्ने योजना रहेको सचिवालयले जनाएको छ । प्रदेशसभाको नयाँ भवन भने १ बिगाहा ३ कठ्ठा क्षेत्रफलमा निर्माण भएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्